बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
प्रेरक भनाइ

‘बाबुआमा मरेपछि क्रियाकर्ममा अनावश्यक खर्च गर्नुभन्दा जिवित छँदै सेवा गर्नु उत्तम’

मङ्गलबार, ०१ असार २०७८, १० : १२
मङ्गलबार, ०१ असार २०७८

स्वामी दयानन्द सरस्वतीको नाम भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । खासगरी उनी समाजसुधारको क्षेत्रमा बढी परिचित छन् । १२ फरवरी १८२४ मा जन्मेका यी भारतीय सन्यासी मूर्तिपूजाको कट्टर बिरोधी मानिन्छन् । उनी वेदका प्रकाण्ड विद्वान् थिए । उनका वेद भाष्यलाई विशेष र बढी प्रमाणिक मान्ने गरिएको पाइन्छ । उनले धर्मसुधार आन्दोलनको क्रममा एउटा प्रगतिशील समाज स्थापना गरेका थिए, जसलाई आर्य समाज भनिन्छ ।

जातीपाती छुवाछुतका बिरोधी रहेका यी सन्यासीले वालविवाहको बिरोध गरेका मात्र छैनन् विधवा विवाहको समर्थन गर्ने कामसमेत गरेका छन् । भगवान् छन् भने कुनै मन्दिरमा नभई सजीव प्राणीको सेवामा भेटिन्छन् भन्ने उनको मान्यता थियो । प्रस्तुत उनै सुधारवादी सन्यासीका केही भनाइ ।

१, शरीर अस्थीर छ । कर्कलाको पानी जस्तो कति बेला पोखिन्छ पत्तै हुँदैन । तथापि यसै शरीरबाट स्थिर हुने काम गरेर लोकोत्तर कीर्ति कायम राख्न सकिन्छ ।

२, वेदको उद्देश्य जीवनको मूल्य र मान्यता बोध गराउनु हो । त्यसैले वेद पढ्नु र पढाउनु भनेको वेदको मन्त्र कण्ठस्थ पार्नु मात्र होइन । मानिसलाई त्यसभित्रको रहश्य बोध गराई समुन्नत समाज निर्माण गर्नु हो ।

३, अहङ्कार जीवनको ठूलो शत्रु हो । यसले मानिसको विवेक गुमाउने काम मात्र गर्दैन अत्मबल गिराएर निर्वल र निरीह बनाउने कामसमेत गर्छ ।

४, ईष्र्या भनेको त्यस्तो भुतभुते हो, जसले भित्रभित्रै जलाएर पथभ्रष्ट बनाउँछ । त्यसैले बुद्धिमान मानिसले सदैव त्यसबाट टाडा रहने प्रयास गर्नुपर्छ ।

५, जसको मन शान्त, चित्त प्रशन्न र हृदय प्रफुल्ल छ उसैले जीवनमा प्रगति गर्न सक्छ ।

६, बाबुआमा मरेपछि क्रियाकर्ममा अनावश्यक खर्च गर्नुभन्दा जिवित छँदै सेवा गर्नु उत्तम हो । केही पाउँछन् भने जिवित छँदै पाउँछन् । मरेपछि पाइन्छ भन्ने कसले देखेको छ तर विवित छदै पाएको सबैले देखेका हुन्छन् । सबैभन्दा बढी उसैले देखेको हुन्छ, जसलाई दिइएको छ ।

७, मूर्तिमा रहेका ईश्वरले रक्षा गर्छन् भन्नु जस्तो मूर्खता अरु केही होइन । जब उनैलाई अर्थात् मूर्तिमै चडाएको चीजको सुरक्षा गर्न सक्दैनन् भने त्यस्ता ईश्वरले दुनियाँको रक्षा कसरी गर्न सक्लान् र ?

८, स्नान गर्नुको अर्थ शरीरको मयल पखाल्नु नभई मनको मयल पखाल्नु हो । गङ्गामा डुुबुल्की लगाउँदैमा धर्म हुने भए माछा र भ्यागुता जति धर्मात्मा कोही हुने थिएनन् ।

९, ईश्वर सर्व व्यापक भएकाले उनलाई खोज्न कतै जानुपर्दैन । आफ्नै मनमन्दिरलाई नियाल्ने बानी बसाउनुपर्छ ।

१०, ईश्वरको खोज गर्ने भए कुनै मठ, मन्दिर, मस्जिदमा नभई दीन, दुखी र असहायलाई हेर्नुपर्छ । यदि सच्चा ईश्वर भेटिन्छन् भने उनीहरूकै सेवाबाट भेटिन्छन् । बाँकी सबै आडम्बर हुन् ।

११, आफ्नो पेट त स्याल, कुकुर र बिरालाले पनि भरेका हुन्छन्, जसले अरुको पेट भर्नेतर्फ ध्यान दिने गरेका छन् उनीहरूकै जीवन सार्थक हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप