शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युरोकप फुटबल : आज जर्मनी र फ्रान्स समूह चरणको खेलमा आमने–सामने हुँदै

मङ्गलबार, ०१ असार २०७८, १२ : ०५
मङ्गलबार, ०१ असार २०७८

जर्मनी र फ्रान्स आज युरोकप फुटबलको समूह चरणको खेलमा आमने–सामने हुँदैछन् । यो खेल नेपाली समयअनुसार १२:४५ मा जर्मनीको म्युनिखमा हुनेछ । ग्रुप अफ डेथ मानिएको समूह एफमा यी दुई टोलीसँगै साबिक विजेता पोर्चुगल र हंगेरी पनि छन् । 

वर्तमान विश्व विजेता फ्रान्सले दुईपटक विश्वकप र दुईपटक युरोकप उपाधि जितेको छ । यता, जर्मनीले चार पटक विश्वकप जितेको इतिहास छ । युरोकपमा सर्वाधिक धेरै उपाधि जित्ने कीर्तिमान जर्मनी र स्पेनको नाममा संयुक्त छ, दुबैले तीन–तीनपटक उपाधि जितेका छन् ।

अब इतिहास छाडेर अहिलेको चर्चा गरौं । पछिल्लो समय खेलेका ६ खेलमा फ्रान्स अपराजित छ, उसले ५ खेल जितेको छ भने एक खेल बराबरी खेलेको छ । जर्मनी तुलनात्मक रुपमा कमजोर देखिएको छ । उसले ६ मध्ये तीन खेल जितेको छ भने एक बराबरी खेलेको छ दुईपटक हारेको छ । 

दुबै टिममा स्टारको कमी छैन । फ्रान्सको टोलीमा राफाल भराने, पाउल पोग्बा, एन्गोलो कान्टे,एन्टोनियो ग्रिजम्यान, करिम बेन्जामा, कालियन एमबाप्पेजस्ता स्टार छन् । यता, म्यानुअल निउर,म्यान हमेल्स, इल्के गुन्डागान, थोमस मुलरलगायत अनुभवी खेलाडीले भरिएको जर्मनीमा कई ह्याभर्च, सर्ज ग्नाब्ररी, रोबिन गोसेन्सलगायत युरोपका ठूला लिगमा जमेका खेलाडी पनि छन् । 

बेन्जामा र ग्रिजम्यान हल्का घाइते भएपनि फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्पसले आज उनीहरुलाई मैदानमा उतार्न सक्छन् । एमबाप्पे, ग्रिजम्यान र बेन्जामाले एकसाथ खेल्दा फ्रान्सले जर्मनीलाई ठूलो दबाब दिनसक्छ । 

यता, जर्मनीले पछिल्ला दुई मैत्रिपूर्ण खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो स्तर देखाएको छ । टिमो वेर्नर आजको खेलमा पहिलो रोजाइमा नपर्न सक्छन्, तर चेल्सीकी कोई ह्याभर्च र अनुभवी खेलाडी थोमस मुलरबाट टोलीले ठूलो आशा लिएको छ ।

के भन्छन् प्रशिक्षक ? 
डिडियर डेसच्याम्पस्, फ्रान्स : यो निकै कठिन खेल हो । यो हाम्रा लागि र जर्मनीका लागि पनि ठूलो खेल हो, किनकी हामी दुबै युरोपका उत्कृष्ट फुटबल टोलीमध्ये पर्छौँ । हाम्रो लक्ष्य डिफेन्स र अग्रपंक्ती दुबैमा प्रभावकारी रहने भन्ने हो, किनकी नतिजा यहीबाट निर्धारण हुन्छ । 

जोआचिम लो, जर्मनी : मैले यहाँ आएपछि शान्त र आराम महसुस गरेको छु । पछिल्ला १४ दिनमा हामीले जे गर्नुपर्ने थियो, त्यो गरेका छौं । पछिल्ला साता हाम्रो टोलीले जस्तो खेलिरहेको थियो, त्यही खेल फ्रान्सजस्तो शीर्ष टोली विरुद्ध खेलेको हेर्नु महत्वपूर्ण छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप