बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अबिरल वर्षापछि राजमार्ग तथा विद्युत् आयोजना अवरुद्ध

मङ्गलबार, ०१ असार २०७८, १६ : ०८
मङ्गलबार, ०१ असार २०७८

-प्रेम रौले 
अबिरल वर्षाका कारण जिल्ला सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ । राजमार्गका विभिन्न ठाउँहरुमा पहिरो आएपछि यातायात अवरुद्ध बनेको हो ।  राजमार्गको बार्जुगाडदेखि मार्तडीका विभिन्न ठाउँमा पहिरो आएपछि अवरुद्ध बनेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए । उनका अनुसार बार्जुगाडको खोलादेखि मार्तडीसम्म पहिरो आउने क्रम नरोकिएकाले राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको अम्कोटमा बढी पहिरो बग्न थालेपछि अन्य क्षेत्रभन्दा जोखिम रहेको छ । 

उनले दिएको जानकारी अनुसार सडक विभागलाई राजमार्गमा आएको पहिरो स्काइभेटर लगाएर पन्छ्याउन लगाएपनि वर्षा नरोकिएकाले बाटो खुलाउन सकिएको छैन ।  बार्जुगाड, बल्दे, अम्कोट, पानीनाउलालगायतका पाँच ठाउँमा पहिरो बग्न नरोकिएकाले राजमार्ग खोल्न तत्काल सम्भव देखिएको छैन । माथिबाट पहिरो खस्ने क्रम जारी रहेकाले तत्काल राजमार्ग खुलाउन कठिनाइ भएको प्रजिअ अधिकारीको भनाइ रहेको छ । 
जिल्लाका लागि धनगढीबाट खाद्यान्न लिएर आएका ट्रक र ट्याक्टरहरु बेतालमाडौंँमा रोकिएका छन् । राजमार्ग अवरुद्ध भएपछि बिरामीलाई जिल्ला बाहिर लैजान थप समस्या हुने भएको छ  भने जिल्लामा खाद्यान्न समेत अभाव हुने देखिन्छ । 

यसैगरी जिल्लाको पूर्वी उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक पनि अवरुद्ध भएको छ । लगातारको वर्षासँगै बाउली खोला र अनै खोलामा पानीको बहाब बढेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मार्तडी–कोल्टी सडकका विभिन्न ठाउँहरुमा पनि स–साना पहिरो खस्ने गरेकाले उक्त क्षेत्रको सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए । 

मार्तडी घटमुना जोड्ने सडक पनि अबिरल वर्षाका कारण अवरुद्ध बनेको छ । बाउली खोलामा पानीको बहाब बढेको र उक्त सडकको विभिन्न ठाउँमा स—साना पहिरो खस्ने गरेकाले सडक अवरुद्ध बनेको हो । गौमुल गाउँपालिकाको केन्द्र घटमुनासम्म जोडिएको उक्त सडकसँगै जिल्लाका अन्य ग्रामीण सडक समेत अवरुद्ध बनेका छन् । 

नहरमा बालुवा भरिँदा विद्युत् सेवा अनियमित 

जिल्ला सदरमुकाम मार्तडीमा रहेको त्रिवेणी साना जल विद्युत केन्द्रबाट हुने विद्युत् उत्पादन अनियमित हुन थालेको छ । विद्युत्को नहरमा बालुवा थुप्रिदै गएपछि विद्युत् सेवा अनियमित हुनुको साथै अवरुद्ध हुने गरेको साना जलविद्युत् केन्द्रका व्यवस्थापक दयाराम पण्डितले बताए ।

उनका अनुसार विद्युत् सञ्चालनका लागि ल्याएको बाउली खोलामा पानीको बहाब बढ्दै गएकोले  नहरमा बालुवा  भरिने गरेकाले विद्युत् अवरुद्ध हुने गरेको छ । खोलामा बाँध नबाँधिएकाले अहिले पानीको बहाब बढ्न थालेपछि नहरमा गएर पानी फर्काउने अवस्था नहुँदा विद्युत् अवरुद्ध बनेको व्यवस्थापक पण्डितको भनाइ छ । 

जिल्लामा रहेको एक मात्र साना जलविद्युत् केन्द्र अवरुद्ध हुँदा सेवाग्राही मर्कामा पर्ने गरेका छन् । बालुवा हटाउनका लागि दैनिक रुपमा नहरमा कर्मचारी खटाइए पनि बाढी बढी आउने गरेकाले सम्भव नभएको पण्डित बताउँछन् ।

तत्काल नहरको बाँध बनाउन सक्ने अवस्था नभएकाले असार र साउन महिनासम्म विद्युत् सेवा अनियमित हुने बताइएको छ । नियमित रुपमा विद्युत् आपूर्ति नहुँदा सर्वसाधारणलाई समस्या हुनुको साथै यहाँका रेडियो, अनलाइन र दैनिक कार्यालयको कामकाज समेत प्रभावित बन्न पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप