केन्द्रीय संस्करण
निषेधाज्ञा डायरी

कोरोना महामारीले भन्दा पनि राजनीतिक महामारीले अत्यायो : सीईओ रत्नराज बज्राचार्य

‘सधैँ रमाएर काम गर्छु, बाँचुञ्जेल व्यस्त भइरहन पाइयोस्’

person explore access_timeअसार २, २०७८ chat_bubble_outline0

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रत्नराज बज्राचार्य कुशल व्यवस्थापकको रुपमा स्थापित छन् । उनी परिवारका सदस्यजसरी नै कर्मचारीप्रति चिन्ता जाहेर गर्छन् । त्यसैले कोरोना महामारीले मुलुकलाई आक्रान्त बनाइरहेको अहिलेको अवस्थामा कर्मचारीको स्वास्थ्यप्रति उनी निकै चनाखो देखिन्छन् ।

कोभिड–१९ को दोस्रो लहर आएसँगै महामारी नियन्त्रण तथा रोकथामका लागि मुलुकमा निषेधाज्ञा लागु भएको पनि डेढ महिना नाघिसकेको छ । बैंक तथा वित्तीय संस्था अत्यावश्यक सेवा क्षेत्रमा पर्ने भए पनि राष्ट्र बैंकले यसको सेवा सीमित गरिदियो । अहिलेको निषेधाज्ञामा कर्मचारीहरुले सीमित समय काम गरेर बाँकी समय आराम पाए पनि बज्राचार्यले भने आरामको महसुस गर्न पाएनन् । पदीय दायित्व तथा घरपरिवारसँगै परिवारका सदस्य सरहका ३ हजार बढी कर्मचारीको स्वास्थ्यसम्बन्धी चिन्ताले उनलाई निषेधाज्ञा र फुर्सद के हो भन्ने पत्तो नै भएन ।

चार्टर्ड एकाउन्टेन्ट समेत रहेका बज्राचार्य नेपाल राष्ट्र बैंकमा २० बर्ष बिताएर कमर्सियल बैंकको नेतृत्वमा आएका हुन् । अनुभवी साथै कुशल बैंकरका रुपमा चिनिने बज्राचार्य कर्मचारी व्यवस्थापनको मामलामा पनि उत्तिकै सफल मानिन्छन् । बज्राचार्यले कोरोना भाइरसको दोस्रो लहरको महामारीमा बैंकिङ्ग सेवा सँगसँगै कर्मचारीको स्वास्थ्यमा देखिएको चुनौतीलाई कुशलतापूर्वक सम्हालिरहेका छन् । बज्राचार्यले रातोपाटीसँग निषेधाज्ञा अनुभव यसरी साटेका छन् :

हामीले दिने सेवामा कमी नहोस्

कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि राष्ट्र बैंकले उपत्यकामा ६ वटामात्र शाखा खोल्न र २० प्रतिशतभन्दा बढी कर्मचारी नराख्न दिएको निर्देशन अनुसार बैंकिङ्ग सेवा सञ्चालन ग¥यौं । हप्तामा ३ दिन कार्यालयबाट र ३ दिन घरबाटै आलोपालो गरेरै हामीले सेवा दिइरहेका छौं । अहिले बैंकले ‘वर्क फ्रम होम’का लागि भनेर आफ्नै सफ्टवेयर विकास गरेकाले घरबाट पनि काम गर्न सहज भएको छ ।

सबै कर्मचारीलाई सुरक्षित राख्नु हाम्रो कर्तव्य पनि हो । त्यसैले थोरै कर्मचारीबाटै काम गरिरहेका छौं । बैठक तथा छलफल भर्चुअल माध्यमबाट गरिरहेका छौं । भर्चुअल माध्यमबाटै कर्मचारीलाई तालिमहरु प्रदान गरिरहेका छौं ।

अहिले राष्ट्र बैंकले फेरि आवश्यकताअनुसार शाखा खोलेर सेवा दिन सक्ने भनेको छ । यसले हामीलाई मात्रै होइन, हाम्रा ग्राहकलाई पनि सहज हुने भएको छ । स्वास्थ्य मापदण्ड र सुरक्षा सतर्कतालाई हामीले कडाइका साथ पालना गर्दै आवश्यकताअनुसार शाखा खोलेर सेवा प्रवाह गर्नेछौं ।

कोही पनि बैंकिङ्ग सेवाबाट बञ्चित हुन नपरोस् भनेर नजिकको शाखाका कर्मचारीको फोन नम्बर उपलब्ध गराएर सेवा लिन ग्राहकलाई आग्रह गरेका छौं । हाम्रो कारण हाम्रा ग्राहकलाई कुनै पनि समस्या नहोस् भनेर हामी सजग छौं । केन्द्रीय कार्यालयको हकमा एक तिहाइ र शाखा कार्यालयमा न्यूनतम कर्मचारी राख्न राष्ट्र बैंकले भनेको छ । सेवाग्राहीलाई पनि सकभर विद्युतीय माध्यमबाट कारोबार गर्न प्रोत्साहित गरेका छौं ।

३ हजार बढी कर्मचारीको अविभावक हुँदा...

पहिलो लहरको महामारीको समयमा ६ सयभन्दा धेरै कर्मचारी संक्रमित भएका थिए । दोस्रो लहरको महामारीमा २८० जना कर्मचारी संक्रमित भए । जसमा १६० भन्दा धेरै निको भएर काममा फर्किसकेका छन् । संक्रमण भएका कर्मचारी प्रायः होम आइसोलेशनमै बसेका छन् । गम्भीर प्रकृतिको समस्या देखिएका प्रदेश ५ का एकजना कर्मचारीलाई भने हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । अर्का एक कर्मचारी, जसलाई गर्भवती अवस्थामै संक्रमण भयो, नर्भिक अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ । त्यो बाहेक अरु सिकिस्त भएको खवर अहिलेसम्म आएको छैन । कर्मचारीको विश्वास तोड्नु भनेको परिवारको विश्वास तोड्नु जस्तै हो, त्यसैले कसैलाई पनि अप्ठ्यारो नहोस् भनेर हामी निरन्तर आफ्ना कर्मचारीबारे अपडेट भइरहन्छौ ।

संस्थामा आवद्ध सम्पूर्ण कर्मचारी भनेका यस बैंकका परिवार हुन् । उनीहरुको हेरविचार गर्नु हाम्रो कर्तव्य हो । हामी सबै मिलेर एक अर्कालाई सहयोग र साथ दिइरहेका छौं । बैंकले अनामनगरमा स्वास्थ्य उपकरणसहित १० बेडको आइसोलेशन सेन्टर बनाएको छ, जहाँ चिकित्सक, नर्ससहितको टोलीबाट उपचार तथा परामर्शको व्यवस्था उपलब्ध गराइएको छ । कोही संक्रमित कर्मचारीको घरमा बस्न समस्या छ वा हेरविचार गरिदिने कोही छैन भने उसलाई बैंकले स्थापना गरेको आइसोलेशन सेन्टरमा राख्ने गरिएको छ । सामान्य अवस्थामा हुनेले आइसोलेशनमै बसेर पनि काम गरिरहेका छन् ।

८० प्रतिशतभन्दा बढी कर्मचारीलाई खोप दिन सफल भएका छौं । त्यसैले हाम्रा कर्मचारीमा संक्रमण भए पनि छिट्टै निको हुन सघाएको जस्तो लाग्छ । तै पनि कार्यालयमै उपस्थित हुनैपर्ने अवस्थामा भने विशेष सावधानी अपनाएका छौं । अहिलेको मुख्य चिन्ता भनेको कर्मचारीका परिवारको हो । उनीहरुकै कारण घरपरिवारमा केही समस्या नहोस् भनेर सजग गराएका त छौं तर पनि डर यथावत छ । फ्रन्टलाइनमा रहेर काम गर्नेको अनि अत्यावश्यक सेवा क्षेत्रमा कार्यरतका परिवारलाई पनि छिटो खोपको व्यवस्था भए ढुक्कले सेवा प्रवाह गर्न सकिने थियो ।  

निषेधाज्ञा भए पनि फुर्सद छैन

निषेधाज्ञा लागु भएपछि हामी राष्ट्र बैंकको निर्देशन अनुसार नै अगाडि बढ्यौं । आलोपालो प्रणालीमा गएपछि कहिले ‘वर्क फ्रम होम’ त कहिले कार्यालयबाट सेवा प्रवाह ग¥यौं । ग्राहकलाई डिजिटल कारोबारमा जोड दिए पनि कतिपयका लागि भने कार्यालय नपुगी नहुने भएकाले सेवामा कमी आउन नदिन हामी निरन्तर खटिएका छौं ।

अन्य समयमा भन्दा अहिले कामको चाप अलि कम हुने भएकाले यो समयको सदुपयोग गर्दै कर्मचारीहरुलाई तालिममा फोकस गराएका छौं । हामीले भर्चुअल माध्यमबाटै तालिम दिइरहेका छौं । त्यसका लागि कर्मचारीलाई ल्यापटप उपलब्ध गराएका छौं ।

व्यावसायिक जीवनमै धेरै रमाउने भएर होला व्यावसायिक क्षेत्रको उत्थान कसरी गर्नेबारे चिन्तनमा मेरो धेरै समय बित्ने गरेको छ । फुर्सद भयो भन्ने दिन नै आएन । हामी व्यवस्थापन नेतृत्वमा भएकाहरुमा त झनै फुर्सद कम हुन्छ । हुन त कुन अवस्थालाई कसरी लिने भन्ने पनि हुन्छ । अवस्था यस्तो आयो भनेर हामी चुप लागेर बस्ने भन्ने हुँदैन । समय र परिस्थिति अनुसार योजना बनाउने र त्यसलाई कार्यान्वयनमा लैजानु पर्छ । परिस्थिति अनुसार आफू र संस्थालाई चलाउनुपर्ने हुन्छ । यतिकै समय खेर फाल्न राम्रो लाग्दैन । बाँचुञ्जेल व्यस्त भइरहन पाए हुन्थ्यो भन्ने नै हुन्छ ।

मुलुकमा निषेधाज्ञा छ भनेर चुप लागेर बस्नु भन्दा पनि म एउटा सीईओ, ३ हजार बढी कर्मचारीको अभिभावक र लाखौं ग्राहकका लागि एक विश्वास पात्र । यही सेरोफेरोमा म रमाउने गर्छु । बैंकको नेतृत्वमा रहुञ्जेल बैंकको उन्नति, प्रगतिका साथै कर्मचारीको भविष्य मसँग जोडिएको हुन्छ । यसलाई मैले निकै गम्भीरताका साथ लिने गरेको छु ।

व्यावसायिक जीवनमा रहुन्जेल व्यक्तिगत जीवनलाई भन्दा व्यावसायिक जीवनलाईं बढी महत्व दिन्छु । तर व्यक्तिगत जीवन र परिवारलाई विल्कुलै महत्व दिन्न भन्नेचाहिँ होइन ।

चिया पिउन भान्सामै पुग्छु

निषेधाज्ञाको समयमा दैनिकीमा खासै परिवर्तन भएको छैन । मलाई लाग्छ, दिनमा १ घण्टा भए पनि आफ्नो स्वास्थ्यलाई समय दिनुपर्छ । त्यसैले निषेधाज्ञा भए पनि मर्निङ वाक चाहिँ दैनिक गर्छु । १ घण्टा लगभग मर्निङ वाक नगरी मेरो दैनिकी सुरु हुँदैन । अहिले चाहिँ हप्तामा ३ दिन मर्निङ वाक गर्छु बाँकी दिन घरमै शारीरिक व्यायाम गर्छु । त्यसपछि म चिया पिउन भान्सामै जान्छु । बुढाबुढी सँगै बसेर चिया पिउँछौँ । श्रीमतीले ८ बजेसम्म खाना तयार पारिसक्छिन् । फ्रेस भएर पौने ९ बजेतिर फेरि भान्सामै गएर खाना खाएर अफिसको लागि तयार हुन्छु । मलाई सादा खाना (दाल, भात, तरकारी) नै मन पर्छ । बिहान राम्रोसँग खाना खाएर निस्केपछि मलाई दिउँसो के खाने ? कहाँ खाने ? भन्ने समस्या हुँदैन । दिउँसो सामान्य खाजाको भरमा दिनभरी काम गर्न सक्छु । पहिलेदेखि नै बानी लागेकाले होला दिउँसो खाजाको त्यति खोजी हुँदैन । दिनभरी जसो व्यस्त नै हुन्छु ।

टेबलमा आएको काम नसकेसम्म म घर जान्न । कहिले ५ बजे सकिन्छ, कहिले ७÷८ पनि बज्छ । अहिले निषेधाज्ञाका कारण पहिलाको जस्तो कामको चाप छैन तर पनि बैंक नेतृत्व तहमा बसिसकेपछि समग्र पक्षमा ध्यान दिन जरुरी छ । दिनभरी बैठक, छलफल, योजना बनाउने लगायतका काममै ब्यस्त हुने भएकाले प्रायः टेबलमा आएका फाइल हेर्ने काम ४ बजेपछि मात्रै सुरु हुन्छ । अहिले त पेपर वर्कलाई कम गरिएकाले प्रायः कम्प्युटरबाटै काम हुन्छ । कर्मचारीहरुलाई अल्झाउनु भनेको ग्राहकलाई नै अल्झाउनु जस्तो लाग्छ, त्यसैले आएको सबै काम सकेर मात्रै घर फर्कन्छु । कर्मचारीले ममाथि जुन विश्वास राखेका छन्, त्यसलाई मैले पूरा गर्नुपर्छ भन्ने लाग्छ । कहिलेकाहीँ घर गएपछि पनि बाँकी काम गर्छु ।

दिनदिनै गर्ने कामबाट फुर्सद निकालेर नयाँ काम गर्दा अर्कै माहोल बन्छ । तनाव मुक्त हुन पनि फरक काम गर्न जरुरी ठानेर म बेलाबेला भान्सामा छिर्छु । परिवारमा सौहार्द्रता कायम गर्न पनि भान्सामा चलिरहन मन लाग्छ । यसले परिवारलाई पनि भावनात्मक रुपमा नजिक बनाउँछ ।

राजनीतिमा चासो राख्छु

एक जागरुक नागरिकको हैसियतले मुलुकको अवस्था र राजनीतिप्रति चासो राख्नु सामान्य नै हो । राजनीति कतातिर गइरहेको छ भनेर चासो राख्छु । अरु केही काम गरिरहँदा पनि मोबाइलमा अन्तर्वार्ता वा कार्यक्रमहरु सुनिरहन मन लाग्छ । टिभी हेरेर बसिरहने फुर्सद हुँदैन, त्यसैले प्रायः मोबाइलमै समाचार वा अन्तर्वार्ताहरू सुनिरहेको हुन्छु । मुलुकको अवस्थाप्रति चिन्ता व्यक्त गर्ने भएर होला राजनीतिक घटनाक्रम कतातिर गइरहेको छ, जानकारी राख्न मन लाग्छ ।

नेपालमा अहिले नकरात्मकता धेरै फैलिएको छ । नकारात्मक समाचारमा धेरैको चासो देखिन्छ । तर मलाई सकारात्मक खबर सुन्न पाए हुन्थ्यो भन्ने हुन्छ । मुलुकको अवस्था देख्दा दुःख लाग्छ । बल्ल सबै कुरा ठीकठाकसँग चल्न थालेको थियो । त्यही बेला कोरोना महामारी आयो र महामारीकै बीच आयो राजनीतिक महामारी । यसले सबै क्षेत्रलाई अस्तव्यस्त बनायो । कोरोना महामारीभन्दा पनि राजनीतिक महामारीले हामीजस्ता जनतालाई अत्याएको छ । हामी मुलुक सही दिशामा अघि बढेको हेर्न चाहनेका लागि अलि खल्लो भइरहेको छ । मुलुकप्रति हाम्रो पनि योगदान छ र यसलाई निरन्तरता दिनका लागि हामीलाई स्वच्छ वातावरण दिइयोस् ।

 

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.