शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश २ : बाढीबाट हुने धनजनको क्षति रोक्न यस्तो छ पूर्वतयारी

बिहीबार, ०३ असार २०७८, ०९ : १४
बिहीबार, ०३ असार २०७८

जनकपुर । प्रत्येक वर्ष तराई मधेसमा बाढीले धनजनको ठुलो क्षति हुँदै आएको छ । बाढी तथा डुबानबाट बर्सेनि हुने क्षतिलाई मध्यनजर गर्दै प्रदेश २ सरकारले पूर्वतयारी गरेको छ ।

प्रदेश २ का ८ वटै जिल्ला बाढी तथा डुबानको जोखिममा पर्दछन् । प्रदेश नम्बर २ मा विगत दुई आर्थिक वर्षमा बाढी तथा डुबानमा परेर ९२ जनाले ज्यान गुमाएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयको तथ्यांकका अनुसार समीक्षा अवधिमा बाढी तथा डुबानमा परी रौतहटमा ४३, धनुषामा १५, सिरहामा १२, सर्लाहीमा ९, सप्तरीमा ५, पर्सामा ६ र बारामा २ जनाको मृत्यु भएको छ ।

गत वर्ष वर्षासँगै आएको बाढी तथा डुबानका कारण प्रदेश नम्बर २ मा कृषिमा मात्रै अढाई अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको थियो ।

प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार प्रदेशका ८ वटै जिल्लामा गत वर्ष कृषि क्षेत्रमा मात्र २ अर्ब ६७ करोड ६ लाख ४८ हजार रुपैयाँ बराबरको क्षति भएको छ । बालीतर्फ करिब १ अर्ब ५५ करोड ४८ लाख ५४ हजार रुपैयाँ बराबरको क्षति भएको मन्त्रालयले जनाएको छ । त्यस्तै पशुपंक्षीतर्फ १ अर्ब ११ करोड ५७ लाख ९५ हजार रुपैयाँ बराबरको क्षति भएको थियो ।

प्रदेश २ मा कुल ५ लाख ४७ हजार २२५ हेक्टर खेतीयोग्य जग्गा छ । जसमध्ये ५ लाख २६ हजार ६५ हेक्टर क्षेत्रफलमा मात्र खेती गरिएको थियो ।

बाढी तथा डुबानको कारण ८ वटै जिल्ला गरी बालीतर्फ ५५ हजार ६२० हेक्टर जग्गामा क्षति भएको मन्त्रालयको तथ्यांक छ । त्यस्तै पशुपंक्षीतर्फ १ हजार ९८७ हेक्टरमा माछा पालन गरिएको पोखरीमा क्षति भएको थियो ।

प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले बाढीका कारण प्रदेश २ मा बर्सेनि ठुलो क्षति हुने गरेको बताए । त्यसैले पनि यो वर्ष विपदबाट हुने क्षतिको न्यूनीकरणका लागि प्रदेश सरकारले आवश्यक तयारी गरेको उनले बताए ।

उनका अनुसार प्रदेश सरकारले विपद व्यवस्थापन सम्बन्धी नीति तथा ऐन ल्याउनुका साथै नियमावली समेत बनाइसकेको छ । उनले भने, ‘विपद व्यवस्थापनाका लागि प्रदेश सरकारले १० वर्षे रणनीति बनाउँदैछ, यसमा केही समय लाग्नेछ ।’

प्रत्येक वर्ष बाढी तथा डुबानबाट हुने क्षतिमध्ये मानवीय क्षति कसरी कम गर्ने भनेर वर्षको सुरुमै योजना बनाउने गरेको उनले बताए । उनले भने, ‘हामी प्रत्येक वर्ष पहिले नै आफ्नो रणनीति बनाउँदै आएका छौं र सुरक्षा निकायलाई समेत विपद व्यवस्थापनका लागि विभिन्न सामग्रीहरु हस्तान्तरण गरेका छौँ ।’

उनले ८ वटै जिल्लाका सुरक्षा निकायलाई विपद व्यवस्थापनका लागि मोटर बोट, नाइनल बोट, रबर बोट, थ्रोइङ्ग ब्याग, ड्रोन क्यामेरा लगायतको सामाग्री हस्तान्तरण गरिएको जानकारी दिए ।

२ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख धीरजप्रताप सिंहले बाढी तथा डुबानबाट हुने क्षति न्यूनीकरण गर्नका लागि डुबान क्षेत्रलाई पहिचान गरी सोही अनुसारको तयारी गरिएको बताए । उनले विपद व्यवस्थापनका लागि यस प्रदेशका मुख्य नदीहरु कोशी, बागमती र कमलाका तटीय क्षेत्रमा विशेष तयारी गरिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप