शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महाकाली नदीको बाढीले १५ घर डुबानमा

शनिबार, ०५ असार २०७८, १७ : ४९
शनिबार, ०५ असार २०७८

महाकाली नदीमा पानीको बहाव बढ्दै गएपछि भीमदत्त नगरपालिका १२ का १५ घर डुवानमा परेका छन । सो नदीमा बाँधिएको बाँधले भुजेला खोला थुनिएर  पानी गाउँ पसेको हो ।

सो खोलाको पानीको निकासलाई ख्याल नगरी बाँध निर्माण गरिएकाले खोला गाउँ पसेको स्थानीयबासी सुरेन्द्र मल्लले जानकारी दिए । 

महाकालीको प्रभाव क्षेत्रबारे राम्रो अध्ययन नगरी काम गरिएकाले डुबानको स्थिति सिर्जना भएको भीमदत्त–१२ का वडाध्यक्ष कृष्णसिंह देउपाले बताए । नदीको बाढीले निर्माणाधीन पुल नजिकको बाँधमा समेत कटान शुरु गरेको छ । अहिलेसम्म बाँधमा झण्डै १० मिटर कटान गरिसकेको छ । कटान नियन्त्रण गर्न आपतकालीन तटबन्धको काम थालिएको छ ।  
तारजालिमा ढुङ्गा भरेर कटान रोक्ने प्रयास भइरहेको पिके निर्माण कम्पनीका इन्जिनियर किशोर पाण्डेले जानकारी दिए।  भीमदत्त–१३ का वडाध्यक्ष लालबहादुर शाहीले सडक भत्किएपछि आवातजावत बन्द गरिएको जानकारी दिए । 

गड्डाचौकीदेखि महाकाली नदीको पुलसम्म ६ लेनको पक्की सडक निर्माणाधीन छ ।  सडक भत्किएपछि बाढी बस्तीमा आउने त्रास बढेको छ ।महाकालीमा पानीको बहाव बढेपछि नदी किनारका बासिन्दालाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ । नदीमा जति बेला पनि पानीको मात्रा बढेर धनजनको क्षति हुने जनाउँदै नदीमा दाउरा सङ्कलनका लागि नजान र सचेत भएर बस्न सतर्क गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप