शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए यूएईका अध्यक्षद्वारा हिनामाना गरेको स्वीकार, उपाध्यक्षको निलम्बन फुकुवा

शनिबार, ०५ असार २०७८, २० : ३०
शनिबार, ०५ असार २०७८

कोरोना प्रभावित नेपालीहरुको उद्दारका लागि आईएलओको सहयोगमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएईद्वारा सञ्चालन गरिएको परियोजनामा आर्थिक हिनामिनाको आरोप लागेका एनआरएनए यूएईका उपाध्यक्ष पासाङ शेर्पा निर्दोष ठहरिएका छन् । परियोजनामा आर्थिक अनियमिता भएको विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि त्यसबारे छानबिन गर्न ६ सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।

सो समितिले कोरोना प्रभावित नेपालीहरुको उद्दारका लागि आईएलओले दिएको रकम मध्येबाट गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूएईका अध्यक्ष प्रकाश कोइराला र उपाध्यक्ष पासङ शेर्पाले ६२ हजार ७ सय दिर्हाम अर्थात् करिब (२० लाख रुपैयाँ) अनियमिता गरेको निष्कर्ष निकालेको थियो।

तर छानबिन समितिको प्रतिवेदन अध्ययन गरी थप अनुसन्धान सहित परियोजनाको केन्द्रीय अनुगमन समितिले तयार पारेको प्रतिवेदनमा भने अध्यक्ष कोइराला स्वयंले स्वीकार गरेको रकमको हिसाब फर्छ्योटमा २ हजार २ सय ६१ युएस डलर अर्थात् (२ लाख ६५ हजार रुपैयाँ) हिनामिना भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

गैर आवासीय नेपाली संघ एनआरएनएका कार्यकारी निर्देशक राजेश राणाद्वारा प्रेषित पत्रमा अध्यक्ष कोइरालाबाट हिनामिना भएको रकम असुलउपर गर्ने गरि राष्ट्रिय समन्वय परिषद यूएईको अधिवेशन अवधि सम्म अर्थात जुलाई अन्तिम सम्मको लागि निलम्बन यथावत राखिएको छ । यता, उपाध्यक्ष पासाङ शेर्पालाई भने गत जुन १० तारिख देखि निलम्बन फुकुवा गरेको उल्लेख छ ।

पत्रमा आईसीसीको केन्द्रीय अनुगमन समितिले आन्तरिक तथा बाह्य लेखापरीक्षणका आधारमा परियोजनामा २ हजार २ सय ६१ डलरको हिसाब फर्छ्योटमा फरक देखिएकोले उक्त रकम अध्यक्ष प्रकाश कोईरालाले जुन ३० भित्रमा असुल उपर गर्न पत्रमा उल्लेख गरिएको छ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूएईलाई पठाएको ५१ लाख ११ हजार ४ सय ८४ रुपैंयाको खर्च विवरण अध्यक्ष कोइरालाले पीसीआर परीक्षणदेखि पेट्रोल, ट्याक्सी, ट्राफिक जरिवाना, प्रिन्टिङ, ल्यापटप, खाद्यान्न र सेल्टर लगायतका विभिन्न शीर्षकमा रकम खर्च भएको भन्दै आईसीसीलाई बिल पेश गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप