बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली

आइतबार, ०६ असार २०७८, ११ : १७
आइतबार, ०६ असार २०७८

कोरोना भाइरस महामारी सङ्क्रमणको केन्द्रविन्दु बनेको बाँकेमा अहिले अवस्था सामान्य भएको छ । यहाँका अस्पतालमा ७४ जना बिरामी मात्र उपचाररत छन् । 

कोरोनाको उपचार हुँदै आएका बाँकेका अस्पतालमा हाल उपचाररत ७४ मध्ये बाँके जिल्लाका १३ जनामात्रै रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । 

उनका अनुसार बाँकेमा कोरोना सङ्क्रमण दर घट्दै गएपछि अस्पतालमा कोराना बिरामीका लागि छुट्याइएका शय्या खाली हुँदै गएका छन् । 

बाँकेका कोभिड अस्पतालका ३६१ कोभिड शय्यामध्ये ७४ जना मात्र उपचाररत छन् भने ८० प्रतिशत शय्या खाली भएका छन् । बाँकेका साना–ठूला चार अस्पतालले कोभिड कक्षका लागि छुट्याएका ३६१ शय्यामध्ये २७१ शय्या खाली भएका छन् । 

नेपालगञ्जस्थित भेरी अस्पतालको २०० शय्यामा १२५ शय्या खाली भएको छ । 

भेरी अस्पतालमा उपचाररत ६० बिरामीमध्ये १८ जना सिकिस्त छन् । कोहलपुरस्थित शिक्षण अस्पतालमा कोभिड वार्डका १३० शय्या छुट्याइएकामा ११६ खाली छन् । 

उक्त अस्पतालमा उपचाररत १४ बिरामीमध्ये आठ सिकिस्त रहेको स्रोत व्यक्ति वलीले बताए । वेष्टर्न अस्पतालमा १६ शय्यामा १५ शय्या खाली भएको छ । युनाइटेड अस्पतालमा १५ शय्या छुट्याइएकामा सबै खाली भएको छ । 

बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका ३४७ र जिल्लाकै ३१० गरी ६५७ जनाको मृत्यु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप