बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मेलम्ची बाढीमा हेलम्बुदेखि २२ किलोमिटर बगेको गर्भिणी भैँसीको सुखान्त कथा (भिडियो)

आइतबार, ०६ असार २०७८, १२ : ११
आइतबार, ०६ असार २०७८

असार २ गते दिउँसो सिन्धुपाल्चोकको चनौटेमा मेलम्ची बाढीमा बगिरहेको एउटा भैँसी देखियो । तर खोलाको बाढीमा बग्दै गरेको भैँसीलाई उद्धार गर्न कोही जान सक्ने अवस्था थिएन ।

स्थानीय रवि खड्काले खिचेको भिडियोमा स्थानीयहरुको आवाज सुनिन्छ, ‘भैँसी जिउँदै रहेछ । अब त्यहाँबाट पनि लैजान्छ । रगत निस्किएको रहेछ । बरु त्यसरी बस्नुभन्दा जाओस् । स्वर्गमा बास होस् ।’ हेर्दा हेर्दै ढुङ्गाहरू सँगै भैँसीलाई पनि बाढीले गुल्टाएर बगाउँछ ।

सिन्धुपाल्चोकको चनौंटे क्षेत्रमा भिडियोमा कैद भएको भैँसी हेलम्बु गाउँपालिका वडा नं. २ किउल भन्ने ठाउँबाट बगेको थियो । किउलबाट चनौटे, ग्याल्थुम, तालामाराङ्, मेलम्ची, बाहुनेपाटी, हुँदै काभ्रेको सीमा छेउ फड्केश्वरमा पुगेको थियो ।

इन्द्रवती नदीले बगाउँदै ल्याएको भँैसी सोहीदिन साँझतिर १६ वर्षका रोमन कार्की र १८ वर्षका धनबहादुर तामाङले काभ्रेपलाञ्चोकको सिमाछेउ उद्धार गरे ।

असार १ गते मेलम्ची खोलामा रातभरी बाढी आयो । हेलम्बु गाउँपालिका वडा नं. ६ किउल, ओडारेका  तारा शिवभक्तिको घर गोठ बाढीको भंगालोमा प¥यो । दिउँसो स्थानीयले भैँसीको उद्धार गर्न खोजे तर सकेनन् । असार २ गते दिउँसो ३ बजेतिर बाढीले २ वटा भैँसी बगायो ।

मेलम्ची नगरपालिकाको पशु शाखामा कार्यरत भेटनरी प्राविधिक चेतप्रसाद घोरासैनीले पनि मेलम्चीमा भैँसी जिउदै बगिरहेको देखे । उनी मेलम्ची भन्दा माथिको गाउँमा भैँसी बिरामी भएकोले उपचारका लागि गएका थिए । उनी आफ्नो घर फड्केश्वर आइपुग्दा फड्केश्वरमा रोमन कार्की र धनबहादुर तामाङले उद्धार गरिसकेका थिए ।

भैँसीको उद्धार गर्नेहरुले पशु प्राविधिक घोरासैनीलाई फोन गरेर भैँसीको रगत बगिरहेको छ, खुट्टा सुन्निएको छ, घाउ नै घाउ छ भन्दै उपचारका लागि बोलाए ।

घोरासैनीले भैँसीको घाउ सफा गरेर एन्टिबायोटिक औषधी दिए । खोलाबाट झन्डै १० मिनेट हिँडाएर एउटो गोठमा भैँसी राखियो ।

घोरासैनीले भने, ‘४ दिनमा भैँसीको निकै सुधार भएको छ । घाँस पानी खोले मज्जाले खान्छ । हेलम्बु गाँउपालिकामा बस्ने साथीसँग कुरा गरे । भैँसी धनीसँग सम्पर्क भयो । अहिले त बिरामी जस्तै देखिएको छैन । भोलिसम्म दिँदा ठीक हुन्छ कि ।’

चेतप्रसाद घोरासैनी

भैँसीको मुखको तल्लो भागमा ठूलो घाउ लागेको छ । शरीरका विभिन्न भागमा चोट लागेको छ । पहिलो दिन भैँसीको ज्वरो १ सय ४ पुगेपनि अहिले घट्दै गएको घोरासैनीले बताए ।

उनले भने–‘मैले साउनमा ब्याउने होला भन्ने सोचेको थिँए यही असार ९ गते भैँसीको दिन पुग्ने रहेछ । भैँसीको स्वास्थ्यस्थित राम्रो छ । मैले एन्टिबायोटिकहरु चलाएको छु । मेरो बिचारमा भैँसी राम्रोसँग ब्याउँछ ।’

भैँसी भेट्न ५ घण्टा पैदल यात्रा

पशु प्राविधिक चेतप्रसाद घोरासैनीका अनुसार भैँसी भेटिएको ठाउँबाट बगाएको ठाउँ झन्डै २२ किलोमिटर टाढा छ । उनले हेलम्बुमा रहेका साथीहरुको सम्पर्कबाट भैँसी धनीसम्म सम्पर्क गरे । फोनमा भैँसी धनीले सिङ लामा लामा भएको र भैँसी ब्याउने बेलाको छ भनेपछि घोरासैनीले उनीहरुलाई बोलाए ।

उनले भने–‘भैँसी ब्याउने छ । दाम्लो नथीसहित छ हैन सर भनेर भन्नुभयो । उहाँहरु यहाँ आएपछि भैँसीले पनि चिनिहाल्यो । जो कोही मान्छेले मेरो भैँसी हो भनेर आउने हो कि भन्ने डर थियो तर भैँसीले नै उहाँलाई चिनेपछि डर भएन ।’

अरु मान्छेसँग डराइरहेको भैँसी आफ्नो धनीलाई भेटेपछि शान्त बनेको थियो । पशु प्राविधिक घोरासैनीले ४५ सय रुपैयाँ हाराहारीको व्यक्तिगत औषधी उपचारमा प्रयोग भएको र आफूले निःशुल्क उपचार गरिदिएको रातोपाटीलाई बताए ।

कसरी बगाएको थियो घर गोठ ?

हेलम्बु गाउँपालिका वडा नं. ६ किउल स्थित हेलम्बु गाउँपालिका कार्यालय, बाढीले भत्काएको प्रहरी कार्यालय र तारा शिवभक्तिको घर ठीक वारीपारी थियो । उनको घर र गोठ बाढीले बगाएर अहिले बगर भएको छ ।

रातोपाटीसँग उनले भने–‘अहिले घर खेती गोठ केही पनि छैन, सबै बाढीले बगायो । अलिकति पाखोबारी छ । अहिले पाखोबारीमा बसिरहेका छौँ । दुईटा भैँसी पालेको थिएँ । एउटा माउ र अर्को थोरे थियो । दुईटै भैँसी बगाएको थियो, अर्को भैँसी कहाँ के भयो केही थाहा छैन ।’

उनको घर गोठ खोलाको किनारभन्दा ५० मिटर माथि नै थियो । खेतीयोग्य जमिनसँगै घरगोठ थियो ।

उनले भने, ‘असार १ गते घर गोठ भएको ठाउँमा लेदो बाढी पसेर जान नसक्ने स्थिति बन्यो । असार २ गते बिहानैदेखि हामी भैँसी भएको ठाउँमा जान प्रयास गरे पनि सक्ने स्थिति बनेन । भैँसीलाई हामीले हेर्ने र भैँसीले हामीलाई हेर्ने अवस्था मात्र भयो । दिउँसो साढे २ बजेतिर ह्वात्त बाढी आयो र भैँसीलाई लिएर गयो । हामीले आँखाले देख्नेजतिसम्म हेरिरह्यौँ । तल्लो भागमा बस्ने मान्छेहरुले पनि भैँसी खोलाले लगिरहेको छ, मरिसकेको छैन् भनिरहेका थिए । त्यति ठूलो बाढीमा परेको भैँसी हामीले त यसरी बाँच्ला भनेर कल्पना नै गरेका थिएनौँ । माया मारिसकेका थियौँ ।’

भैँसी भेटियो भन्ने सुनेपछि उनलाई विश्वास नै लागेन । उनले फोटो पठाइदिन भने । उनले भने–‘हाम्रो जिवन गुजारा गर्ने माध्यम नै त्यै भैँसी थियो । बाढीले हाम्रो सबै सम्पत्ति लिएर गयो । बुवाले र मैले घाँस काटेर मिहिनेत गरेर दुईटा भैँसी पालेका थियौँ । त्यै भैँसीका लागि दुःख गरेर बसेका थियौँ ।’

आफ्नो जिवन गुजाराको साहारा रहेको भैँसी भेटिँदा उनी भावुक बने । उनले भने–‘यति ठूलो बाढीमा भैँसी बाँच्ला भन्ने हामीलाई विश्वास नै थिएन । हामीले माया मारिसकेको भैँसी भेटिएको भन्दा विश्वास लागेन । अरुको पनि हुन सक्छ । यति टाढाबाट हिँडेर किन दुख पाउनु फोटो हेरेपछि थाहा हुन्छ भनेपछि फोटो पठाइदिनुभयो । फोटो देखेपछि हाम्रै भैँसी रहेछ । शनिवार  उहाँदेखि ५ घण्टा हिँडेर बाउ छोरा भैँसी भएको ठाउँमा आइपुग्यौँ ।’

भीषण बाढीको भंगालोमा परेको भैँसी फट्केश्वरको एउटा गोठमा देख्दा तारा शिवभक्ति आश्चर्य चकित भए । उनी पुग्नेवित्तिकै भैँसीले आफूलाई चिनेको व्यवहार देखाइहाल्यो । उनले भने–‘अरु मान्छेसँग डराइरहेको भैँसी हामी पुग्नेबित्तिकै डराउन छोड्यो । यहाँ भेटेनरीको सरले सम्पूर्ण उपचार निःशुल्क गराउनुभयो । उपचारमा ५० हजार रुपैयाँ लागेपनि पैसा लिन्न भन्नुभएको छ । खुट्टा सुन्निएको रहेछ । अहिले घाउहरू सुक्न थालेको छ ।’

हेलम्बुदेखि बाढीमा बगाएको गभिर्णी भैँसी काभ्रेको सिमाछेउ पुग्दापनि जिवित भेटिँदा स्थानीयले आश्चर्य मानेका छन् । भैँसी त भेटियो तर घर गोठ गुमाएका उनलाई अर्को गोठ बनाउनुपर्नेछ ।

उनले भने–‘भूकम्पछि पाखोबारीमा कमाइ लगाउन छोडेका थियौँ । अहिले हामी त्यही बारीमा बसेका छौँ । अब त्यही बारीमा दुई चार पाता जस्ता ओढाएर गोठ बनाएर राख्छौँ  ।’

तर, भैँसी भेटाएर खुसी भएपनि गाउँमा कसरी पुर्याउने भन्ने अर्को चिन्ता थपियो । घाइते भैँसीलाई ५ घण्टा हिँडाएर लैजान पनि गाह्रो । नयाँ ठाउँमा पाल्न पनि समस्या ।

उनले भने, ‘यही असार ९ गते भैँसीको दिन पुग्दैछ । भैँसी यहीँ ब्यायो भने दश पन्ध्र दिन यतै बस्नुपर्ने हुन्छ । यहाँ नयाँ नौलो ठाउँमा हामीलाई बस्न पनि गाह्रो छ । घाँस कताबाट ल्याउनु, खोले कसरी खुवाउनु । स्याहार सुसार गर्न सकिँदैन । घरमा लान पाए त छिमेकीहरूसँग सहयोग मागेर केही गर्न सकिन्थ्यो । सकेसम्म आजभोलि नै लैजान पाए हुन्थ्यो ।’

त्यसमा पनि बाढीबाट उद्धार गर्नेहरुले चालिस हजार रुपैयाँ मागेपछि उनी केहीबेर बिखलबन्दमा परे । तर पछि पशु प्राविधिक चेतप्रसाद घोरासैनी र स्थानीयको आग्रहपछि भैँसी उद्धार गर्नेहरु पनि पैसा नलिन राजी भए । फड्केश्वरका स्थानीयहरुले गाडी भाडाका लागि ५ हजार रुपैयाँ सङ्कलन शिवभक्तिलाई दिए । पशु प्राविधिक घोरासैनीले रातोपाटीसँग फोनमा भने–‘हामीले उहाँहरुलाई आर्थिक सहयोग सहित गाडीमा चढाएर पठाएका छौँ । अहिले मेलम्ची पुग्न लाग्नुभयो होला ।’

गाडीमा भैँसी चढाइदिएर फड्केश्वरका स्थानीयले तारा शिवभक्तिका बाबुछोरालाई बिदा गरेका छन् । मेलम्चीसम्म गाडीमा लगेर त्यहाँबाट भैँसीलाई बिस्तारै गाउँ पु¥याउने उनीहरुको योजना छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप