शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाबाट धरासायी भएको औद्योगिक क्षेत्रलाई पुन:स्थापनाका लागि गृहकार्य

आइतबार, ०६ असार २०७८, १२ : ५०
आइतबार, ०६ असार २०७८

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवले कोरोना महामारीका कारण धरासायी बनेको औद्योगिक क्षेत्रको पुनरुत्थान र संरक्षण गर्दै गतिशील बनाउन आफूले गृहकार्य थालिसकेको बताए  ।

मुलुकमा आपूर्ति व्यवस्थालाई सहज र सबैको पहुँच हुने खालको अवस्था निर्माण गरेर उपभोग्य सामाग्रीको अभाव समस्या अन्त्य गर्न कार्य पनि भइरहेको बताउँदै उनले अहिलेको समस्याबाट निकास पाउने मुख्य कुरा रोजगार र देशमा जबसम्म रोजगारीको सृजना गर्न सकिदैन तबसम्म आर्थिक समस्या समाधान नहुने बताए ।
मुलुकमा उद्योग मैत्री वातावरण बनाउने र बेरोजगारी अन्त्य गर्ने आफ्नो मूल उद्देश्य रहेकोे बताएका छन् ।

जिल्ला उद्योग वाणिज्य संघ, सिरहाद्वारा लहानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले ‘मुलुकमा उद्योगमैत्री वातावरण निर्माण गरेर वेरोजगारी समस्या हल गर्ने आफ्नो लक्ष्य रहेको बताए ।  
देशमा औद्योगिक विकास गर्न सकियो भने बेरोजगारी समस्या आफै समाप्त भएर जाने बताउँदै उनले औद्योगिक क्षेत्रको विस्तार र विकासले मात्रै मुलुकमा आर्थिक क्रान्ति सम्भव रहेकाले आफू अहिले यसैप्रति केन्द्रित रहेको दावी गरे । 

यसका लागि आफूले सञ्चालित उद्योगहरुलाई व्यवस्थित एवं पारदर्शी, देशमा बन्द अवस्थामा रहेका पुराना उद्योगलाई पुनर्जीवन र थप नयाँ उद्योगहरु स्थापना गर्ने लक्ष्यसहित गृहकार्य अगाडी बढाएको मन्त्री यादवले बताए ।

उद्योगी व्यवसायीहरुको सुरक्षाको जिम्मेवारी राज्यको रहेको र यसमा राज्यले कुनै कसर बाँकी नराख्ने भन्दै उनले औद्योगिक क्षेत्रमा लगानी गर्न चाहने लगानीकर्ताहरुलाई ढुक्क भएर लगानी गर्न आग्रह गरे । 

देशमा व्यावसायिक हकहित र उद्योगमैत्री वातावरण निर्माणका लागि राज्य गम्भीर रहेको भन्दै बिना हिचकिचाहट मुलुक भित्रका र बाहिरका लगानीकर्ताहरुलाई औद्योगिक क्षेत्रमा बढीभन्दा बढी लगानी गर्न उनको आग्रह छ ।

तर, सरकारी मापदण्ड उल्लंघन गर्नेलाई भने छुट नहुने पनि मन्त्री यादवले चेतावनी पनि दिए । बिना अनुशासन कुनै पनि मिसन सम्भव भएको इतिहास नरहेको भन्दै उनले देशमा औद्योगिक विकासका लागि राज्यमात्र गम्भीर भएर नहुने भएकाले उद्योगी व्यवसायी पनि गम्भीर हुनुपर्ने तर्क उनको छ ।

उद्योगी व्यवसायीहरु राज्यको औद्योगिक विकास एवं विस्तारको अभियानमा सच्चा मनले योगदान गरे राज्य अभिभावकत्व प्रदान गर्ने बाचा उनले गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप