बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

निषेधाज्ञाको डेढ महिनामा बलात्कारका ७३ घटना

३६ प्रतिशत घटनामा छिमेकी संलग्न
आइतबार, ०६ असार २०७८, १६ : १०
आइतबार, ०६ असार २०७८

महिला पुनर्स्थापना केन्द्र (ओरेक) का अनुसार गत वैशाख १६ देखि जारी निषेधाज्ञाका क्रममा बलात्कारका ७३ घटना प्रकाशमा आएका छन् । ओरेकले गत वैशाख १६ देखि जेठ मसान्तसम्मको अवधिमा ती घटना प्रकाशमा आएको जनाएको हो ।

ओरेकका अनुसार यो अवधिमा ३७१ महिला तथा बालबालिकामाथि विभिन्न प्रकारका हिंसा भएका छन् । तीमध्ये बलात्कारका ७३ घटना रहेको ओरेकले जनाएको छ । बलात्कारका ७३ घटनामा पनि तीनवटा सामूहिक बलात्कार र एक वैवाहिक बलात्कारको घटना रहेको जनाइएको छ ।

ओरेकले आइतबार जारी गरेको तथ्यांकअनुसार बलात्कारबाट पीडित ७३ जनामध्ये २६ जना अर्थात् ३६ प्रतिशत छिमेकीबाट, १४ जना परिवारका सदस्यबाट, १४ जना प्रेमी ठानिएका व्यक्तिबाट एक जना शिक्षकबाट र १८ जना अन्जान व्यक्तिबाट बलात्कृत भएका हुन् ।

७३ पीडितमध्ये ३४ जना १६ वर्षभन्दा कम उमेरका, २६ जना १७ देखि २५ वर्ष उमेर समूहका, ९ जना २६ देखि ३५ वर्ष उमेर समूहका, २ जना ३६ देखि ४५ वर्ष उमेर समूहका र ५ जना उमेर समूह थाहा नभएका बालिका बलात्कृत भएको ओरेकले जनाएको छ ।

यो अवधिमा विभिन्न हिंसाको सिकार भएका ३७१ महिला तथा बालबालिकामध्ये ५० प्रतिशत अर्थात् १८६ जना महिला आफ्नै श्रीमान र परिवारका सदस्यबाट पीडित भएको ओरेकको तथ्यांकमा उल्लेख छ । यस्तै, सामाजिक हिंसाबाट ११ प्रतिशत, बलात्कारबाट १९ प्रतिशत, बलात्कारको प्रयासबाट एक प्रतिशत, यौन दुर्व्यवहारबाट ३ प्रतिशत, मानव बेचबिखनबाट २ प्रतिशत, हत्याबाट ५ प्रतिशत, हत्या प्रयासबाट २ प्रतिशत, आत्महत्याबाट १ प्रतिशत र अन्य घटनाबाट ५ प्रतिशत पीडित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप