शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नासो पहिरो : अझै पुग्न सकेनन् सुरक्षाकर्मी

आइतबार, ०६ असार २०७८, १६ : ३०
आइतबार, ०६ असार २०७८

–नवीन लामिछाने
मनाङको नासो गाउँपालिकाको बाढी पहिरोबाट क्षतिग्रस्त क्षेत्रमा अहिलेसम्म सुरक्षा निकाय  पुग्न सकेको छैनन् । यही असार १ गतेदेखि परेको अविरल वर्षाका कारण सो क्षेत्रका स्थानीयवासी  विस्थापित भएका बताइएको छ ।  एक स्थानबाट अर्को स्थानमा जानै नसकिने गरी बाढीपहिरोले नासों क्षेत्रलाई कटान गरेपछि सम्बन्ध विच्छेद नै बनाइदिएको छ  । 

नासो–१ ताल गाउँ, ३ धारापानी, ४ ओडार, ५ थोँचे, ६ र ७ तिल्चे र ८ ताचै बाढीपहिराबाट सबैभन्दा धेरै प्रभावित भएको क्षेत्र हो ।  प्रभावित स्थानको केही सुरक्षित स्थानमा बसेका स्थानीयवासीमा विभिन्न समस्या देखापर्न थालेको छ । 
पहिलो चरणमा नै प्रभावित क्षेत्रमा खाद्यान्न र खानेपानीको समस्या आएको स्थानीय बासिन्दाले बताएका छन् । बाढी पहिरोबाट स्थानीय विस्थापित भएको आज ६ दिन बितिसकेको छ ।  जिल्लाका कुनै पनि सुरक्षा निकाय स्थलगत निरीक्षणमा नआएको स्थानीयवासीले गुनासो गरेका छन् । 

वर्षाको शुरुआतमै जिल्लालाई बाढीपहिरोले उठीबास लगाएको हो । बाढीपीडित परिवारले बाढीपहिरोले वितण्डा मच्चाएको र अबका दिन आफूहरू कहाँ बस्ने, के गर्ने भन्ने विषयमा सोच्न नसकेको बताएका छन् । पीडितले तत्कालका लागि भए तापनि गाँस, बास र कपासका खाँचो भएको रहेको जनाउँदै सहयोगका लागि सरकार र दाताहरूसँग हारगुहार मागिरहेका छन् । 

सशस्त्र प्रहरी बल नं ३२ गुल्म, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली उक्त स्थानमा जाने प्रयास भइरहेको र निरन्तर वर्षाले अवरोध पुर्याएको जनाइएको छ ।  जिल्लाको तल्लो भेगमा गत मङ्गलबार मर्स्याङ्दी नदीमा आएको बाढीले बस्तीहरु डुबानमा परेको छ । अहिले बस्ती सबै बगरमा परिणत भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । जिल्लाको चार स्थानीय तहमध्ये तीन स्थानीय तहमा पूर्णरूपमा क्षति पुगेको छ । 

जिल्लाको विभिन्न स्थानमा रहेका आठ झोलुङ्गे र दुईवटा पक्की पुल बाढी पहिरोले बगाएको उनले बताए । जिल्लामा पहिलोपटक विभिन्न स्थानीय खोला र मर्स्याङ्दी आएको बाढी पहिरोबाट  ठूलो क्षति भएको यहाँका स्थानीयवासीले बताएका छन् । पुलमात्र होइन यहाँ जलविद्युत्, सडक, सञ्चारका तार पनि बाढीले बगाएर लगेको छ । यहाँका सरकारी कार्यालय, वित्तीय संस्था, होटेल, टहरा र घरहरूमा पूर्णरूपमा क्षति पुर्याएको छ । बाढीले पुल, सडक बगाएपछि यातायातका बाटो पूर्णरूपमा सम्बन्ध विच्छेद भएको छ । जिल्लाभरि दुई सय घरपरिवारका एक हजार नागरिक पूर्णरूपमा विस्थापित भएको प्रशासनले जनाएको छ ।
 
७० प्रतिशत सडकमा क्षति 

बाढीपहिरोका कारण यहाँ करीब ७० प्रतिशत सडकमा क्षति पुगेको छ । यस वर्षको मनसुनको शुरुआतमै अत्यधिक वर्षा हुँदा जिल्लामा व्यापक क्षति पुगेको हो । पहिरोका जोखिम अझै कायमै रहेको प्रहरीले जनाएको छ । 
यसैबीच चामे गाउँपालिका वडा नं ४ र ५ मा थुनिएको मर्स्याङ्दी नदी खोलिएको छ ।

सशस्त्र प्रहरी र स्थानीय प्रशासनको समन्वयमा थुनिएको नदी खुलाइएको हो । शनिबार दिउँसो वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको थियो । निरन्तर वर्षा भइरहँदा चामेबजार जाने ठूलो पुल नजीक पहिरो खस्दा मर्स्याङ्दी नदी थुनिएको थियो । 

तत्कालका लागि जोखिम टरे पनि जोखिम भने कायम नै रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुङ्गामाटो र काठदाउरा बगाएर ल्याएपछि नदी थुनिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप