शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरमा थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय

आइतबार, ०६ असार २०७८, १९ : २४
आइतबार, ०६ असार २०७८

मकवानपुरमा जारी निषेधाज्ञा थप एक साता लम्ब्याउने निर्णय भएको छ ।  जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आइतबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको बैठकले जिल्लामा जारी निषेधाज्ञालाई थप ७ दिन लम्ब्याउने निर्णय गरेको हो । 

बैठकले गत बैशाख १९ गतेबाट जारी गरिएको निषेधाज्ञालाई थप ७ दिन लम्ब्याएर असार १४ गतेसम्म लागू गर्ने निर्णय गरेको छ ।  यसअघि मकवानपुरमा असार ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।  बैठकले अनिवार्य रूपमा मास्कको प्रयोग, भौतिक दूरी कायम, जनस्वास्थ्यका मापदण्ड पालना र भिडभाड नहुने गरी खाद्यान्न तथा तरकारी पसललाई खरिद तथा बिक्रीलाई सहज बनाउन थप २ घण्टा बढी समयसम्म खुल्ला गर्न दिने निर्णय गरेको छ । यसअघि बिहान ४ बजेदेखि १० बजेसम्म खुल्दै आएका खाद्यान्न तथा तरकारी पसलहरु बिहान ४ बजेदेखि १२ बजेसम्म खुल्ला गर्न अनुमति दिएको छ । 

बैठकले हेटौँडा उपमहानगरपालिका वडा नम्वर–४ खोपेगल्ली र हेटौँडा उपमहानगरपालिका वडा नम्वर–१० बसपार्कमा रहेको तरकारी मण्डी भने बन्द गर्ने निर्णय गरेको छ ।  त्यस्तै बैठकले पुस्तक तथा स्टेशनरी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स पसलहरू, हाड्वयेर, कपडा, जुत्ता र कस्मेटिक पसल दिउँसो १२ बजेदेखि ४ बजेसम्म खुलाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए । 

साथै बैठकले रेष्टुरेन्ट, मिठाई तथा खाजा पसलहरूबाट टेक अवे र होम डेलिभरी हुने गरी मात्र मध्यान्ह १२ बजेदेखि दिउँसो ४ बजेसम्म खोल्न पाइने भएको छ ।  त्यस्तै जिल्लामा अत्यावश्यक सेवाका सवारी र प्रशासन कार्यालयहरूबाट अनुमति प्राप्त सवारी साधन बाहेक अन्य कुनै पनि प्रकारका यात्रुबाहक तथा सार्वजनिक यातायात सञ्चालन गर्न नपाइने निर्णय गरेको छ ।  नीजि क्षेत्रबाट सञ्चालित अटो, मयुरी, कार, जीप र मोटरसाईकललाई जोर–बिजोर प्रणाली अनुसार सञ्चालन गर्न दिने निर्णय भएको सूचना अधिकारी गर्तौलाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप