बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लण्डनमा ११ औं भिसी कप सम्पन्न

आइतबार, ०६ असार २०७८, २१ : ०६
आइतबार, ०६ असार २०७८

प्रत्येक वर्ष लन्डनमा आयोजना हुँदै आएको गोर्खा भिसी कप यस पटक कोरोना महामारीका बीच पनि  सावधानीपूर्वक लन्डनस्थित फेल्थाम कम्युनिटी कलेजमा सम्पन्न भएको छ । गत वर्ष भने कोरोना महामारीका कारण भिसी कप स्थगित गरिएको थियो । 

गोर्खा नेप्लिज कम्युनिटी हंस्लोको आयोजनामा सम्पन्न ११ औं भिसी कप लन्डन बरो हंस्लोका मेयर बिष्णुबहादुर गुरुंगको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा भिसी गजे घलेका सुपुत्र डम्मर घलेको  पनि विशेष उपस्थिति रहेको थियो । भिक्टोरिया क्रसबाट विभूषित १३ जना गोर्खालीहरुको सम्झना र सम्मानस्वरूप भिसी कपसहित भिसी मेमोरियल गर्ने संस्था सम्भवत: गोर्खा नेपलिज कम्युनिटी लण्डन बरो अफ हन्स्लो मात्र एक हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर गुरुङले भने ‘म स्वयंले स्थापित गरेको भिसी कपको ११ औं शृंखलामा प्रमुख अतिथि हुन पाउँदा उत्साहित र अत्यन्त खुसि भएको छु । कार्यक्रमलाई निरन्तरता दिंदै आएकोमा गोर्खा नेप्लिज कम्युनिटीलाई धन्यबाद दिन चाहन्छु ।‘

सन् २००९ देखि १३ जना भिसीहरुको सम्मान र सम्झनास्वरूप भिसी कपको आयोजना हुँदै आएको हो, जसको स्थापना हाल लन्डन बरो अफ हंस्लोका मेयर बिष्णुबहादुर गुरुंगले गरेका थिए । यसलाई निरन्तरता दिन सफल बनाउन आफूले सक्दो सहयोग दिने गुरुङले प्रतिबद्धता गरेका थिए । यसलाई सफल बनाउन कम्युनिटीका विभिन्न व्यक्तिको मिहिनेत, परिश्रम र लगनशीलताका कारण नै सम्भव भएको उनले प्रष्ट पारे ।

कोभिड १९ का कारण यसपटकको भिसी कपमा १० वटा फुटबल टोलीहरुको प्रतिस्पर्धा रहेको थियो । बेलायतको सबैभन्दा पुरानो तथा ठूलो आर्म फोर्सेस च्यारिटी संस्था साफा (एसएसएएफए) ले समेत भिसी कपमा ऐक्यबद्धता जनाउँदै आएको छ । यसपटकको प्रतियोगितामा  साफा नार्थवेस्टले ट्रफी स्पोन्सर गरेको थियो ।

यसपटक भेट्रान तर्फको उपविजेता पोखरा युनाईटेड एफसी भयो भने ब्रिगेड बोइज क्लब विजयी भएको छ । भेट्रानतर्फ सबै भन्दा धेरै गोल गरेर टप स्कोरको उपाधि धरान ११ का उत्तम राईले पाए भने म्यान अफ दि म्याच ब्रिगेड बोइज क्लबका सुरेश गुरुङले पाएका छन् ।

सबैभन्दा राम्रो म्यानेजरलाई  एउटा विशेष पुरस्कार राखिएको थियो जुन पुरस्कार भेट्रानका म्यानेजर पोखरा युनाईटेडका बाशु गुरुङले सबैभन्दा राम्रो म्यानेजरको उपाधि हात पारेका छन् । संस्थाका सल्लाहकार मन थापा, सल्लाहकार मन गुरुङ, कोषाध्यक्ष पिताम्बर राना, सचिव धन बहादुर सार्की, प्रोपर्टी सचिव सुनिल गुरुङ, खेलकुद सहसचिव साहस गुरुङ र सहकोषाध्यक्ष राधा गुरुङले  महामारीका समयमा फुटबल खेल खेलाउन विशेष भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा  छिमेकी संस्था हेज एण्ड हर्लिंटन कम्युनिटीका प्रतिनिधि पूर्ण नेपाली, नर्थ वेस्ट लण्डन साफाका चेयरमेन ले. कर्णेललगायतको  उपस्थिति रहेको थियो । संस्थाका अध्यक्ष डोल मल्लको अध्यक्षतामा गरिएको यस कार्यक्रमका संयोजकको भूमिका  संस्थाका खेलकुद सचिव लाल रोकाले गरेका थिए । संस्थाका महासचिव बम थापा (सूर्यवङ्शी) ले  कार्यक्रम  सञ्चालन गरेका थिए भने  संस्थाका बरिष्ठ उपाध्यक्ष शिवकुमार पलुङ्गवाले व्यवस्थापन सम्बन्धि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि रहेका लन्डनको हन्स्लो बरोका ५६ औं मेयर बिष्णुबहादुर गुरुङ लेडी मेयर श्रीमती गुरुङलाई समेत संस्थाका तर्फबाट बधाई तथा शुभकामना दिइएको थियो । मेयर गुरुङ लण्डनमा मेयर हुने नेपाली मुलका पहिलो पूर्व गोर्खा हुन् । उनि गोर्खा नेपलिज कम्युनिटी हन्स्लोका संस्थापक अध्यक्ष समेत  हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप