बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

निषेधाज्ञाले कोरोना संक्रमणको ‘चेन ब्रेक’ भएन : जनस्वास्थ्यविद्

तेस्रो लहरको सामना कसरी गर्ने ?
सोमबार, ०७ असार २०७८, १० : २६
सोमबार, ०७ असार २०७८

 

कोरोनाभाइरस (कोभिड—१९) संक्रमणको दोस्रो लहर विस्तारै घट्न थालेको छ । संक्रमणको ग्राफ ओरालो लागेसँगै स्वास्थ्य संस्थाहरुमा संक्रमित बिरामीले सहज रुपमा बेड, अक्सिजन, आइसीयू, भेन्टिलेटर पाउन थालेका छन् ।

सरकारले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि डेढ महिनादेखि निषेधाज्ञा जारी गर्दै आए पनि अपेक्षा गरिएजस्तो संक्रमण, मृत्यु दर नघटेको जनस्वास्थ्यविज्ञ बताउँछन् । डेढ महिनादेखि निरन्तर निषेधाज्ञाको बाबजुद पनि संक्रमणको ‘चेन ब्रेक’ हुन नसकेको उनीहरुको भनाइ छ । आइतबारमात्र २ हजार ४४२ जनामा संक्रमण पुष्टि भएको छ ।

परीक्षणको दायरालाई फराकिलो बनाउन नसक्दा दोस्रो लहर लामो समयसम्म प्रभाव बढाउन सफल देखिन्छ । बन्दाबन्दीको डेढ महिनाको अवधिमा कोरोना संक्रमण बढ्न नदिन र संक्रमितको व्यवस्थापनमा सरकार ठाउँ÷ठाउँमा चुकेको जनस्वास्थ्यविज्ञहरुको आरोप छ ।

अहिले ग्रामीण भेगमा समेत कोरोना संक्रमण देखिएकाले जोखिम कायम रहेको जनस्वास्थ्यविद् शरत वन्त बताउँछन् । उनका अनुसार, पहिचान भएका संक्रमितसँगै पहिचान नै नभएका संक्रमितहरु समुदायमा धेरै भएकाले त्रास कायमै छ । ‘अब सरकारले निषेधाज्ञालाई नै संक्रमण घटाउने अस्त्रको रुपमा लिन हुँदैन,’ उनी भन्छन्, ‘जनस्वास्थ्यका अभ्यासलाई कडाइका साथ लागू र अनुगमन गरेर बन्दाबन्दी खुकुलो पार्नुपर्छ ।’

कन्ट्याक्ट ट्रेसिङ, कोरोना परीक्षणको दायरालाई फराकिलो बनाउनुपर्ने उनी बताउँछन् । संक्रमितलाई चाँडो पहिचान नगर्दा दोस्रो लहरको संक्रमण चक्रलाई रोक्न समस्या भएको उनको बुझाइ छ ।

डेढ महिनामा कहाँ चुक्यो सरकार ?

कोरोनाको दोस्रो लहरसँग जुध्न सरकारले आंशिक रुपमा मात्रै काम गरेको डा.वन्त बताउँछन् । यता, संक्रमणको रफ्तार घटाउन र संक्रमितको व्यवस्थापन गर्ने सरकारको मुख्य काम भए पनि यसलाई पूर्णता दिन सरकार सफल नदेखिएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख तथा जनस्वास्थ्यविद् बाबुराम मरासिनी बताउँछन् ।

उनका अनुसार दोस्रो लहरको निषेधाज्ञाको अवधिमा पनि सरकार समयमै संक्रमितको पहिचान गर्न असफल भयो । संक्रमण परीक्षण र पहिचानमा सरकारले ध्यान नदिँदा अस्पतालको बेड भरिभराउ भए, अक्सिजनको अभावमा मानिसको ज्यान गएको उनी बताउँछन् ।

कोरोनाविरुद्धको खोप खरिदमा पनि सरकारले पटकपटक ‘ब्रेक थ्रु’ गर्ने आश्वासन जनतालाई दिए पनि व्यवहारमा त्यो नदेखिएको उनले बताए ।

जनस्वास्थ्यविद् डा. वन्त निषेधाज्ञाकै अवधिमा भारतीय नाका हुँदै आउनेलाई सरकारले निगरानी राख्न नसक्दा नयाँ भेरिएन्ट तीव्ररुपमा फैलिएको बताउँछन् ।

‘संक्रमित आइसोलेशनमा बस्दा स्वास्थ्य सुरक्षाको अवस्था कस्तो छ, त्यहाँबाट संक्रमण बिस्तार भयो कि भएन, कसरी आइसोलेशनमा बसिरहेका छन् भन्ने बारेमा अनुगमन, निगरानी र सहयोग कतैबाट भएन,’ उनी भन्छन्, ‘निगरानी र अनुगमन नहुँदा संक्रमणको विस्तारले अक्सिजन बेडको अभावमा अकालमै धेरैको ज्यान गयो ।’

जनस्वास्थ्यविद् एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवं स्वास्थ्य मन्त्रालयका पूर्वसचिव डा.सेनेन्द्र उप्रेतीका अनुसार पहिलो लहरमा जस्तै दोस्रो लहरमा पनि परीक्षण, कन्ट्याक्ट ट्रेसिङमा ध्यान दिइएन ।

स्वास्थ्यका मापदण्ड पालना गर्न र गराउन चुक्नुका साथै जनचेतना फैलाउने कार्यमा पनि सरकार कमजोर देखिएको उनको भनाइ छ । सरकार र सरकार बाहिर बसेका राजनीतिक दलले कोरोना महमारी नियन्त्रण तथा व्यवस्थापनभन्दा सत्ता र शक्तिलाई महत्व दिएको उनले सुनाए । ‘यो महामारी बढ्न नदिनका लागि राजनीतिक दलहरु एकत्रित भएर जनचेनता फैलाउन, आइसोलेशन तथा व्यवस्थापकीय क्षेत्रमा स्थानीयदेखि केन्द्रीय तहसम्म भूमिका खेल्न सक्थे,’ उनी भन्छन्, ‘महामारीमा जनताको रोग, भोक र शोकको साथी बन्न राजनीतिक दलहरु चुके ।’

दोस्रो लहरसँग जुध्न पूर्वतयारीकै अभाव

सरकारले दोस्रो लहर सामना गर्न पूर्व तयारी नगरेको डा.वन्त बताउँछन् । ‘जब तीव्र रुपमा संक्रमित बढे, त्यसपछि अस्पतालमा बेड, अक्सिजनको अभाव भयो, अस्पतालको ग्राउन्डमा उपचार गर्ने स्थिति सिर्जना भएपछि बल्ल सरकारले अक्सिजन, आईसीयू, बेड व्यवस्थानमा ध्यान दिन थाल्यो,’ उनले भने, ‘दोस्रो लहरको संक्रमण ब्रेक गर्न सरकार असफल भयो ।’

पूर्वसचिव उप्रेती भने सरकारले अक्सिजन, बेड, आईसीयू, भेन्टिलेटर, एचडीयू आदिको अभाव भएको दुई हप्तामै संक्रमित बिरामीको व्यवस्थान गरेको बताउँछन् । ‘महामारीको समयमा विकसित राष्ट्रमा पनि स्वास्थ्य पूर्वाधार र जनशक्तिको अभाव भएको सुनिएको छ,’ उनी भन्छन्, ‘सरकारको पूर्वतयारी राम्रो नभए पनि संक्रमितको संख्या बढेसँगै क्षमताअनुसार व्यवस्थापन गर्न सफल भयो ।’

तेस्रो लहरका सम्बन्धमा कसको के भूमिका ?

कोरोना संक्रमणको तेस्रो लहर आउने पूर्वानुमान भइरहेको छ । तेस्रो लहरसँग जुध्नका लागि अहिलेदेखि नै तयारी गर्नुपर्ने जनस्वास्थ्यविद् बताउँछन् । जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्नु नै तेस्रो लहरसँग जुध्ने प्रभावकारी पूर्वतयारी हुने उनीहरुको भनाइ छ ।

निषेधाज्ञा खुकुलो बनाए पनि जनस्वास्थ्यका नियमलाई पालना गरिरहनुपर्ने, संक्रमण पहिचान भएकाको व्यवस्थापन र उपचारमा ध्यान दिनुनै तेस्रो लहरसँग जुध्ने उपयुक्त तयारी हुने विज्ञहरु बताउँछन् ।

विश्वमा कोरोना संक्रमणको तेस्रो लहर पहिलो र दोस्रो लहरको तुलनामा कमजोर देखिएको जनस्वास्थ्यविद् डा. वन्तको भनाइ छ । संक्रमितको पहिचान, उपचार र व्यवस्थापनको पाटो तुलनात्मक रुपमा सबल हुने भएकाले तेस्रो लहरमा पहिलो र दोस्रो लहरजस्तो भयावह अवस्था नहुने उनी ठान्छन् ।

यता सरकारले सम्पूर्ण क्षमता परिचालन गरेर कोरोनाविरुद्धको खोप खरिद नगरे तेस्रो लहरले क्षति पु¥याउने डा. उप्रेती सुनाउँछन् । ‘खोप प्राथमिकतामा परेका नागरिकमा पुग्यो भने तेस्रो लहरले धनजनको क्षति पुर्याउँदैन,’ उनले भने, ‘खोपबिना कोरोनासँगको जुधाइले पटकपटक दुःख दिइरहन्छ ।’

अब कोरोनासँग जुध्ने मुख्य हतियार भनेकै जनस्वास्थ्यका मापदण्डको पालना र खोप नै रहेको उनी बताउँछन् । ‘जनताले पूर्ण रुपमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने र सरकारले जनतालाई कोरोना खोप दिएर कोरोनालाई परास्त गर्न सकिन्छ,’ डा. उप्रेतीले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप