शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको तेश्रो लहर आउन सक्ने पूर्वानुमान अनुसार मेडिसिटी अस्पतालको बालबालिका लक्षित पूर्वतयारी शुरु

सोमबार, ०७ असार २०७८, १९ : २८
सोमबार, ०७ असार २०७८

ललितपुर । कोभिड–१९को तेश्रो लहर नेपालमा प्रवेश गर्न सक्ने विषयलाई मध्यनजर गर्दै नेपाल मेडिसिटी अस्पतालले पूर्वतयारी शुरु गरेको छ । 

अस्पतालले नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनले तयार पारेको मापदण्ड र निर्देशनका आधारमा बालबालिकाहरूको सामान्य देखि सघन उपचारलाई लक्षित गरी नेपाल मेडिसिटी अस्पतालले आफ्नो पूर्वतयारी शुरु गरेको हो । 

नवजात शिशु तथा १८ वर्ष उमेरसम्मका बालबालिकाहरूलाई ध्यानमा राखी अस्पतालले आफ्ना नर्स तथा मेडिकल टोलीलाई विशेष प्रशिक्षणमा सीपीआर पद्धती, आहार बिहार, इन्फेक्सन नियन्त्रण, मनोसामाजिक परामर्श, फिजियोथेरापी तथा पुर्नस्थापना जस्ता विषयलाई प्राथमिकता दिएको छ ।

दक्ष चिकित्सक तथा मेडिकल टिम, आवश्यक बेड तथा अत्याधुनिक उपकरणहरु, भेन्टिलेटर सहित नवजात तथा बाल सघन उपचार कक्षको व्यवस्था गरिएको अस्पतालले जनाएको छ । यदि बालबालिकाहरूमा महामारीको अवस्था आए अस्पताल तयारी अवस्थामा रहेको पनि अस्पताल प्रशासनले जनाएको छ । तेश्रो लहर आउनसक्ने र भाइरसका नयाँ नयाँ भेरियन्ट निस्किन सक्ने पूर्वानुमान भइरहेका बेला आत्तिनु भन्दा यस अवस्थामा बालबालिकाहरूलाई विशेष हेरचाह गर्न, मास्क तथा स्यानिटाइजरको प्रयोगमा प्रोत्साहन गर्न र अनावश्यक रुपमा घरबाहिर ननिस्किन अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राज राणाको सल्लाह छ । 

महामारी बढ्दै गएको अवस्थामा देशमा विभिन्न स्थानबाट आकस्मिक उद्धार आवश्यक परे त्यसका लागि हवाई तथा ग्राउण्ड एम्बुलेन्स सेवा प्रदान गर्न प्रि हस्पिटल केयर तथा इमर्जेन्सी विभाग तयार रहेको पनि अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राणाले बताए । उनका अनुसार बालबालिकाहरूलाई हेलिकप्टरबाट उद्धार चाहिने खण्डमा विशेषज्ञ चिकित्सकले नै सो स्थानमा गई आवश्यक उपचार गर्दै मेडिसिटीसम्म स्थानान्तरण गराउन सक्नेछन् । 

नेपाल सरकारले कुल बेड संख्याको २० प्रतिशत बेड छुट्याउन भनेपनि नेपाल मेडिसिटी अस्पतालले करिब १०० वटा बेड, नवजात शिशुको सघन उपचार कक्ष, बालबालिकाको सघन उपचार कक्ष र सामान्य बेड बालबालिकाहरुका लागि निर्धारण गरेको जनाएको छ । त्यसका लागि आवश्यक पर्ने उपकरण, आमा तथा बच्चाका लागि सुरक्षा व्यवस्था, आकस्मिक देखि सघन उपचार र भेन्टिलेटरको व्यवस्था लगायतका तयारी भइरहेको अस्पताल व्यवस्थापनले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप