बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीले हामीलाई उपयोग गरेका होइनन् : मणि थापा

‘तर हाम्रो सहभागिता बिना राजनीति गर्न खोजे राम्रो हुनेछैन’
सोमबार, ०७ असार २०७८, १९ : ५८
सोमबार, ०७ असार २०७८

नेकपा(एमाले)का नेता मणि थापाले आफूहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उपयोग नगरेको बताएका छन् । नेता थापाले सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै आफूहरु बृहत्तर कम्युनिष्ट आन्दोलनको पक्षमा रहेको र त्यही प्रक्रियालाई पुरा गर्नका लागि ओलीको साथमा रहेको स्पष्ट पारेका हुन् ।

ओली र प्रचण्डले शुरु गरेको कम्युनिष्ट आन्दोलन निर्माणकै प्रक्रियामा रहेकाले आफुहरुले कुनै राजनीतिक रुपमा गल्ती नगरेको उनको भनाइ छ । उनले भने, ‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गर्नुको आधार भनेको नेकपा निर्माणको आधार हो । हामी नेकपा निर्माण गर्न चाहान्छौँ र बृहत्तर कम्युनिष्ट आन्दोलन हामी बनाउन चाहान्छौँ । जुन प्रक्रिया केपी ओली र प्रचण्डले शुरु गर्नुभयो, त्यो प्रक्रियालाई पुरा गर्न चाहान्छौँ । त्यो प्रक्रियालाई पुरा गर्ने बाटोबाट हामी हिडिरहेकाले राजनीतिक रुपमा केही गल्ती गरेका छैनौँ । हामी उपयोग भएको होइन ।’

उनले लेनदेन, उपयोग, किनबेच र क्याम्प चेन्ज गर्ने कुराले राजनीतिलाई विकृत बनाएको जिकिर गर्दै भने, ‘ हामी त्यसको पक्षमा छैनौँ । हामी ठीक ठाउँमा छौँ । यहाँ हामी संघर्ष गरेर फेरि नयाँ कम्युनिष्ट आन्दोलनको ध्रुविकरणमा भएको हुनाले हामी त्यतिधेरै चिन्तित छैनौँ ।’

उनले प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसलापछि मन्त्रिपरिषद् पुर्नगठन गर्ने सुझाव दिएको पनि खुलासा गरे । सर्वोच्चको फैसलापछि पुनर्गठन गर्दा राजनीतिक, कानुनी र नैतिक रुपले सही हुने निष्कर्ष साथ प्रधानमन्त्री ओलीलाई सुझाव दिएको भएपनि प्रधानमन्त्री ओलीको निर्णयमा आफुहरुको असन्तुष्टि नरहेको उनले उल्लेख गरे । तर प्रधानमन्त्री ओलीले आफुहरुको सहभागिता बिना फरक ढंगले राजनीति गर्न चाहेमा राम्रो नहुने पनि उनले बताए । उनले भने, ‘सर्वोच्चको निर्णयपछि मन्त्रिपरिषद् गठनबारे राजनीतिक, कानुनी, नैतिक रुपले सही हुन्छ भनेर प्रधानमन्त्रीलाई भनेका हौँ । प्रधानमन्त्रीले लिएको डिसिजन स्वीकार गर्छौँ भनेको हुनाले हामी यहाँ कन्फ्युजमा छैनौँ । बालुवाटारमा कन्फ्युजन छ, उनीहरुले कन्फ्युजनको राजनीति गर्न खोजिराछन् भने, उनीहरुले भिन्न तरिकाले राजनीति गर्न खोजिरहेका छन् भने पनि त्यो उनीहरुलाई राम्रो हुँदैन । हामीले वैचारिक राजनीति गर्न खोजेको हुनाले हामीलाई कुनै लेनदेनको कुरा छैन । सुझाव नमान्दा असन्तुष्टि पनि होइन ।’

नेता थापाले नेकपा(एमाले)को एकताको लागि प्रधानमन्त्री ओलीले वातावरण बनाउनुपर्ने र माधव समुह पनि एकतामा आउनुपर्ने बताए । एमाले एकताले आफुहरुलाई फरक नपर्ने पनि बताए । उनले भने, ‘पूर्व एमाले एक ठाउँमा आउने कुरालाई हामीले जायज र न्यायिक ठान्छौँ । उहाँहरु आउनुपर्छ ।’

नेता थापाले आफुहरु पुरानो पार्टीमा फर्किने सम्भावना नरहेको पनि प्रष्ट पारे । पुरानो पार्टी तोडेर नयाँ कम्युनिष्ट पार्टी बनाउनका लागि आइसकेकाले अब पुरानो नभइ नयाँ ध्रुविकरण आवश्यक रहेको उल्लेख गरे । उनले भने, ‘हामी सबैले पुरानो ठाउँलाई तोडेर नयाँ आन्दोलन अथवा नयाँ कम्युनिष्ट पार्टी बनाउन भनेर आएका हौँ । अब पुरानोमा फर्किने होइन, नयाँको ध्रुविकरण चाहिँ जरुरी छ । त्यो ध्रविकरणको कोर्स कहाँबाट शुरु गर्ने भन्दाखेरी  ठूलो जनाधार भएको कम्युनिष्ट पार्टी केपी ओलीले नेतृत्व गर्नुभाछ, उहाँले नेतृत्व गरेकै पार्टीबाट फेरि नयाँ खालको ध्रुविकरणको आवश्यकता छ । पुरानोले ध्रुविकरण गर्न सक्दैन ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप