शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशीलाई मात्र फाइदा पुग्ने काम गर्नुहुँदैन : बिजुक्छे

सोमबार, ०७ असार २०७८, २२ : ४०
सोमबार, ०७ असार २०७८

नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपालको चुरे क्षेत्रको बालुवा, ढुंगा, गिटी अधिकांश भारतमा निर्यात गर्दा  दोहन मात्र भई नेपाली भूमि डुबानमा परिरहेको बताएका छन् ।  भक्तपुर नगरपालिकाको दशौं नगरसभाको आज उद्घाटन गर्दै उनले नेपाल सरकारले विदेशीलाई मात्र फाइदा पुग्ने गरी कुनै पनि काम गर्न नहुनेमा जोड दिए ।

जनताको अमूल्य मतबाट विजयी जनप्रतिनिधिले जनअपेक्षा कार्य सम्पादन गर्नुपर्नेमा जोड दिँदै उनले नगरपालिकाको नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकको आदर निकेतन सञ्चालन गर्ने विषयमा जनस्तरबाट सुझाव र व्यापक छलफल आवश्यक रहेको औँल्याए । 

कार्यक्रममा नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले  आव २०७८/७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जनताको आर्थिक सहयोगमा निर्माण भएको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन विभिन्न रोगबाट पीडित भक्तपुर नगरवासीका लागि २०७९ असार मसान्तसम्म निःशुल्क वितरण गरिने घोषणा गरे ।

उनले योजना छनोट र कार्यान्वयनमा स्थानीय तहको भूमिकालाई गौण बनाउँदै लगिएको र सशर्त बजेटका नाउँमा योजना छनोट गर्ने स्थानीय तहको अधिकारमा केन्द्र र प्रदेश सरकारले अंकुश लगाउँदै आएको आरोप लगाए । कार्यक्रममा वाग्मती प्रदेशसभाका  सदस्य सुरेन्द्रराज गोसाईंले  वाग्मती सरकारको नीति तथा कार्यक्रम सस्तो लोकप्रियताका लागि मात्र भएको आरोप लगाउँदै सत्ताधारी ठूला दलका नेता तथा कार्यकर्ताबीच पद, पैसा र कुर्सीका लागि हानथाप भई प्रदेश सरकारलाई बेकाम सावित गरिएको विचार राखे । नगरपालिकाका उपप्रमुख रजनी जोशी, भक्तपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शिव मानन्धर, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ र भनपा–९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नीति तथा कार्यक्रम जनमुखी भएको चर्चा गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप