शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा प्रति सेकेन्ड छ जनाद्वारा कोरोनाको खोपको लागि नाम दर्ता

मङ्गलबार, ०८ असार २०७८, १० : ४२
मङ्गलबार, ०८ असार २०७८

 बेलायतमा कोरोनाविरुद्धको खोप लगाउन प्रति सेकेन्ड ६ जनाले नाम दर्ता गराएका छन् । गत शुक्रबार र शनिबार खोपको लागि दर्ता गराउनेको संख्या प्रति घण्टा २१ हजार भन्दा बढी  रहेको अधिकारीहरुले जनाएका छन, जुन अहिलेसम्मकै अत्यधिक संख्या हो । उक्त दुई दिनमा एक मिलियन भन्दा बढी अर्थात १० लाख ८ हजार ४७२ मानिसहरुले खोपको लागि अग्रिम दर्ता गराएका थिए । हाल इंग्ल्याण्डमा १८ वर्ष माथि उमेर पुगेकालाई खोप वितरण शुरु गरिएको छ ।

गतवर्ष डिसेम्बर ८ बाट बेलायतमा शुरु गरिएको कोरोनाविरुद्धको खोप अभियानमा हालसम्म ७ करोड ४३ लाख भन्दा बढी डोज खोप वितरण भइसकेको छ । जसमध्ये तीन करोड १३ लाख भन्दा बढीले दुवै डोज लगाएका छन् भने चार करोड २९ लाख बढीले खोपको पहिलो डोज लगाइसकेका छन् । पाँच जना वयस्कमध्ये चार जनाले पहिलो डोज लगाइसकेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ ।

बेलायत सरकारले आज जुन २१ बाट पूर्ण रुपमा लकडाउन खोल्ने घोषण गरेको भएपनि नयाँ डेल्टा भाइरसको संक्रमण तीव्र भएपछि जुलाई १९ सम्मको लागि पर सारिएको छ । सो अवधिसम्म कम्तिमा पनि ४० वर्ष माथिकालाई दुवै डोज खोप दिइसक्ने पब्लिक हेल्थ इंग्ल्याण्ड कोभिड-१९ डाइरेक्टर डा सुसन हप्किन्सले बताएकी छन् । जुलाई १९ भित्रमा करिब ७० प्रतिशतलाई दुवै डोज दिने योजना रहेको पनि उनले जानकारी दिएकी छन् । बेलायतमा हजारौंको संख्यामा खोप केन्द्रहरु संचालनमा ल्याइएका छन् । दुवै डोज खोप लगाएका मानिसलाई विदेश भ्रमण, आइसोलेशन र सामाजिक गतिविधिमा समेत थप सहजता प्रदान गरिने भनाइ आएपछि मानिसहरु खोप लगाउन थप उत्साहित बनेका छन् ।

आजबाट बेलायतमा लकडाउन पूर्ण रुपमा खोल्ने पूर्व घोषित सरकारको योजना आगामी जुलाई १९ सम्मका लागि पर सारिएको छ ।  नयाँ डेल्टा भेरियन्टको संक्रमण दर बढ्दै गएपछि सरकारले आफ्नो निर्धारित योजनालाई पछाडि धकेलेको हो । तर, केहि नियम भने आजैबाट लागू हुनेगरी परिवर्तन गरेको छ । वैवाहिक समारोहमा लगाइएको सिमित व्यक्तिको प्रतिबन्धलाई स्थान अनुसार सुरक्षित मापदण्ड अनुसार हलवालाले निर्धारण गर्न सक्नेछन् । मास्क तथा सामाजिक दुरीको पालना गर्न अनिवार्य छ भने नाचगान गर्न प्रतिबन्ध छ । जुलाई १९ बाट भने यी सबै प्रतिबन्ध फुकुवा हुने सरकारको योजना छ । तर, कोरोना संक्रमण दरमा उल्लेखनीय सुधार आउन नसकेमा लकडाउन खुल्ने अनिश्चित नै छ  । सरकारले भने बढी भन्दा बढी व्यक्तिलाई कोरोना विरुद्धको खोप दिएर थप सहजता प्रदान गर्ने योजना अघि सारेको छ  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप