शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विमलेन्द्रको विश्लेषण : शेरबहादुरले एक्लै चुनाव जित्दैनन्

काँग्रेसका युवा नेताले दिए निधिलाई ‘ग्रीन सिग्नल’
मङ्गलबार, ०८ असार २०७८, १६ : ००
मङ्गलबार, ०८ असार २०७८

काठमाडौं । नेपाली काँग्रेसको आसन्न महाधिवेशनमा सभापति शेरबहादुर देउवाले आफ्नो समूहको मात्रै भोटबाट सभापतिमा चुनाव नजित्ने अर्का प्रत्यासी उपसभापति विमलेन्द्र निधिले दाबी गरेका छन् ।

सभापतिको उम्मेद्वारी घोषणा गरेका निधिले सोमबार बत्तीसपुतलीस्थित अनुपम फुडल्याडमा संस्थापन इत्तर पक्षका ९ जना युवा नेतासँग आफूलाई जिताउन सहयोग मागेका थिए । त्यसक्रममा उनले शेरबहादुर देउवाले एक्लै चुनाव नजित्ने विश्लेषण सुनाएका हुन् ।

​सभापतिमा उम्मेदवारी घोषणा गरेर शेरबहादुर देउवालाई चुनौती दिइरहेका निधिले सोमबारको छलफलमा युवा नेताहरुसँग भने, ‘देउवाजीले आफ्नै टीमको मात्रै भोटले जित्नुहुन्न । अरुले पनि आफ्नो टीमको भोट मात्रै पाएर जित्ने स्थिति छैन । सभापति हुने मान्छेले सबैतिरबाट भोट लिन सक्नुपर्छ । म तपाईंहरुसँग सहयोगको अपेक्षा राख्छु ।’

 

सभापति देउवाले केन्द्रीय नेताहरुसँग प्रदेशस्तरीय छलफल गरेर उम्मेदवारी घोषणा गरेका छन् । यही क्रममा प्रदेश २ का नेतासँगको छलफलमा देउवाको प्रस्तावमाथि विमति जनाउँदै निधिले आफूलाई सहयोग गर्न आग्रह गरेका थिए ।

 

 

 

देउवाले यसपटक समर्थन गर्न नसक्ने भन्दै चुनाव लड्न चुनौती दिएपछि निधि विपक्षी खेमाका नेतासँगको संवादमा कस्सिएका हुन् । यही क्रममा उनले सोमबार युवा नेताहरुसँग छलफल गरेका हुन् ।

सोमबार निधिले बोलाएको छलफलमा काँग्रेसका युवा नेता चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, दीपक गिरी, प्रदीप पौडेल, जीवन परिवार, सरिता प्रसाईं, गुरुराज घिमिरे र बद्री पाण्डे सहभागी थिए ।

युवा नेताको समूहले निधिको प्रस्तावलाई सकारात्मक रुपमा लिए पनि सहयोगको प्रतिबद्धता भने दिएको छैन । नेता प्रदीप पौडेलले रातोपाटीसँग भने, ‘उहाँको प्रस्तावलाई हामीले सकारात्मक र स्वभाविकैरुपमा लिएका छौं । भर्खर कुराकानीको सुरुवात भएको छ, छलफललाई निरन्तर अगाडि बढाउनुहोला ।’

सभापतिका दाबेदार महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँगको छलफलपछि सोमबार निधिले युवा नेताहरुसँग भोट मागेका हुन् ।

निधिलाई युवा नेताको ‘ग्रीन सिग्नल’

नेपाली काँग्रेसको सभापतिमा दाबेदारी प्रस्तुत गरेका उपसभापति निधिलाई संस्थापन इत्तरका युवा नेताहरुले ‘ग्रीन सिग्नल’ दिएका छन् । केन्द्रीय सदस्य धनराज गुरुङका अनुसार निधिले ‘म सभापतिमा लड्छु, तपाईंहरुको सहयोग चाहियो’भन्दै छलफलको सुरुवात गरेका थिए ।

संस्थापन इत्तरका नेताको मन जित्ने गरी काम गर्ने बताउँदै निधिले संस्थापन पक्षमा हुँदा आफूबाट भएका स्वभाव र व्यवहारजन्य क्रियाकलाप परिवर्तन गर्ने निधिको भनाइ थियो । ‘मलाई तपाईंहरुले कठोर नसम्झनुस् । पहिले जे भए पनि सभापति भएपछि परिस्थिति र व्यवहार फरक हुन्छ,’ उनले भने ।

निधिले युवा नेताहरुको भावना बुझेको भन्दै १५ औं महाधिवेशनमा नयाँ पुस्ता आउनुपर्ने पक्षमा रहेको बताए । ‘म लामो समय पार्टीमा काम गरेको मान्छे हुँ, मैले तपाईंहरुको पुस्ताको भावना बुझ्छु,’ निधिले भने, ‘१५ औं महाधिवेशनमा नयाँ पुस्ता आउँछ भनेर मैले शेरबहादुरजीलाई पनि भनिसकेँ । मेरो यही महाधिवेशन हो, मलाई सहयोग गर्नुस् ।’

युवा नेताको समूहले निधिको प्रस्तावलाई सकारात्मक रुपमा लिए पनि सहयोगको प्रतिबद्धता भने दिएको छैन । नेता प्रदीप पौडेलले रातोपाटीसँग भने, ‘उहाँको प्रस्तावलाई हामीले सकारात्मक र स्वभाविकैरुपमा लिएका छौं । भर्खर कुराकानीको सुरुवात भएको छ, छलफललाई निरन्तर अगाडि बढाउनुहोला ।’

पौडेलका अनुसार दोस्रो पुस्तामा पार्टीको नेतृत्व जानुपर्छ भन्नेमा सबैको सहमति छ । आफूहरुले सैद्धान्तिकरुपमा पुस्ता हस्तान्तरणको मुद्दा उठाउने गरेको भन्दै नेताहरुले यसमा निधिलाई सजिलो हुने बताएका थिए । दोस्रो पुस्ताका नेताहरुबाट एकल नेतृत्व बन्ने परिस्थितिमा आफूहरुलाई पनि सजिलो हुने युवा नेताहरुले निधिलाई सुनाए । ‘सभापति (निधि) तपाईं वा अर्को हुने भन्नेबारे पहिला तपाईं आपसमा छलफल गरेर एक अर्काको समर्थन लिने कोसिस गर्नुस् । त्यसो गर्दा हामीलाई पनि सजिलो हुन्छ,’ युवा नेताहरुको भनाइ थियो ।

निधिले पनि महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह कृष्णप्रसाद सिटौला र शेखर कोइरालासँग सैद्धान्तिक छलफल भएको युवा नेताहरुलाई जानकारी दिएका थिए । तर, युवा नेताहरुले नेतृत्वको विषय पनि टुंग्याउन सुझाव दिएका थिए । युवा नेताको समूहले आफ्नो निर्णय आफैं गर्न पाउने सर्तमा मात्र समर्थन गर्ने पनि बताए ।

दोस्रो पुस्तासँग कुरो मिलाउन निधिलाई सुझाव

निधिलाई अरु (शशांक प्रकाशमान, कृष्ण सिटौला, शेखर) को समर्थन लिने क्षमता देखाउन युवा नेताहरुले भनेका छन् । दोस्रो पुस्ताका नेताहरु शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, शेखर कोइरालाबीच घनिभूत छलफल गर्न निधिलाई उनीहरुको सुझाव थियो ।

​‘तपाईं पनि सभापतिको सम्भावित मान्छे हो, अरुको समर्थन लिन सक्ने क्षमता देखाउनुपर्यो,’ छलफलमा उठेको कुरा युवा नेता प्रदीप पौडेलले सुनाए ।

 

केन्द्रीय सदस्य गुरुङले पार्टीभित्र युवाहरुले रुपान्तरण र पुस्तान्तरण पनि खोजेको निधिलाई बताएको सुनाए । ‘१५ औं महाधिवेशनमा तपाईंहरुले नचिताए हुन्छ । तपाईंका लागि यो अन्तिमपटक हो । अहिले हाम्रो मानसिकता भनेको कम्तिमा तपाईं (निधि)हरुको पुस्ता नेतृत्वमा आउनुपर्छ भन्ने छ,’ गुरुङले बैठकमा भने, ‘तपाईंहरु हाम्रो मुद्दामा मिल्नुभयो भने तपाईंहरुमध्ये एउटै भएर आउनुस् । त्यसो हुँदा रुपान्तरण र पुस्तान्तरणमा हाम्रो मुद्दा मिल्नेछ ।’

दोस्रो पुस्ताबाट एकजना मात्रै सभापतिको उम्मेदवार बनेको अवस्थामा पार्टीभित्र एकताको महाधिवेशनको सन्देश जाने केन्द्रीय सदस्य सरिता प्रसाईंले बताइन् ।

पार्टीमा झागिँदो गुटबन्दीका बीच संस्थापन पक्षमा रहेका निधिले महाधिवेशनमा संस्थापन इतर पक्षसँग खुलस्त छललफल गरी अगाडि जाने विषयले पार्टीलाई फाइदा गर्ने उनको भनाइ छ ।

​पार्टीभित्र गुटबन्दी झागिएका बेला सबैसँग छलफल गरेर पार्टीभित्र एकताको महाधिवेशन गराउने प्रयास सकारात्मक छ । यसले पार्टीलाई फाइदा हुन्छ,’ प्रसाईंले भनिन् ।

निधिले पनि महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह कृष्णप्रसाद सिटौला र शेखर कोइरालासँग सैद्धान्तिक छलफल भएको युवा नेताहरुलाई जानकारी दिएका थिए । तर, युवा नेताहरुले नेतृत्वको विषय पनि टुंग्याउन सुझाव दिएका थिए । युवा नेताको समूहले आफ्नो निर्णय आफैं गर्न पाउने सर्तमा मात्र समर्थन गर्ने पनि बताएको छ ।

‘यदि हाम्रो सहयोग लिने अवस्थामा उपसभापति, महामन्त्री सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्ता को हुने, हामी आफैं छान्छौँ । हाम्रो निर्णय हामी आफैं गर्छौं,’ गुरुङले भने ।

काँग्रेसमा नयाँ विधानअनुसार १ सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सह-महामन्त्री महाधिवेशनबाट निर्वाचित हुन्छन् । कोषाध्यक्ष र प्रवक्ता मनोनित हुने व्यवस्था छ ।

निधि सभापति उठ्ने नै हुन् त ?

निधि सभापति उठ्ने गरी तयारीमा जुटेको युवा नेताहरुको बुझाइ छ । तर, काँग्रेसवृत्तमा निधिले नाङलो ठटाएर हात्ती तर्साउने रणनीति अनुसार संस्थापन इत्तर पक्षका नेतासँग छलफल गरिरहेको चर्चा पनि उत्तिकै छ ।

सोमबारको छलफलबाट सहभागी युवा नेताहरु भने निधिले साँच्चै चुनाव लड्न चाहेको बताउँछन् । निधिको पहल सभापति देउवासँगको शनिबारको छलफलपछि मात्र नआएको युवा नेता धनराज गुरुङको भनाइ छ । उनी भन्छन्  ‘निधिले डेढ वर्षअघि नै सभापतिसँग सहयोग माग्नुभएको थियो । शशांक र प्रकाशमानसँग योभन्दा अगाडि पनि छलफल भएको थियो । सिटौलासँग पनि दुई पटक छलफल भइसकेको थियो । मलाई उहाँ चुनाव लड्नुहुन्छ जस्तो लाग्यो ।’

निधि मनैदेखि सभापतिको उम्मेदवार हुन हिँडेजस्तो लागेको पौडेलको पनि बुझाइ छ । प्रस्तुति आक्रमक र धारणा प्रष्ट देखिनुले पनि निधि सभापति उठ्नै खोजेको जस्तो लागेको उनले बताए ।

निधिले युवाहरुसँग भने, ‘शेरबहादुर देउवासँग समर्थन लिन खोज्नु वा समर्थनको माग गर्नु मेरो अधिकार हो । उहाँको समर्थन नपाए पनि म सभापतिको उम्मेदवार हो भन्ने कुरा उहाँ प्रष्ट छ ।’

यसैबीच, निधिले संस्थापन इत्तर पक्षसँग बढाएको संवादलाई बूढानीलकण्ठले मसिनो ढंगले नियालिरहेको देउवा पक्षका नेताहरु बताउँछन् ।

डा. शशांक, प्रकाशमान र शेखर कोइरालाहरू निधिलाई सभापतिका रुपमा रुपमा अगाडि बढाउन राजी नहुने देउवा पक्षको बुझाइ छ ।

सोमबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशस्तरीय केन्द्रीय नेताहरुको छलफलमा देउवाले निधिको विषयमा धेरै चिन्तित नहुन भनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप