बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

संकटमा यातायात क्षेत्र : मजदुरले पेसा परिवर्तन गरे, मालिकलाई किस्ता तिर्ने तनाव

मङ्गलबार, ०८ असार २०७८, १२ : ५९
मङ्गलबार, ०८ असार २०७८

कोरोना महामारीका कारण जारी गरिएको निषेधाज्ञाले नेपालमा सबै क्षेत्रलाई असर गर्यो । त्यसमाथि लाखौंले रोजगारी पाएको सार्वजनिक यातायात क्षेत्रलाई समेत यसले ठुलो नोक्सानी सहन बाध्य गरायो ।

सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका–४, स्थायी ठेगाना भएका सुशास लामिछाने अहिले भक्तपुरको कमलविनायक बस्छन् । उनीसँग सार्वजनिक यातायात क्षेत्रमा काम गरेको १५ वर्ष भन्दा लामो अनुभव छ ।

रातोपाटीसँग कुरा गर्दै उनले भने ‘१४ वर्षदेखि सहचालक भएर काम गरे, १२ जनालाई रोजगारी दिएको छु तर, अहिले निकै असजिलो भएको छ ।’ विगतमा बैंकबाट लिएको किस्ता तिरेर, सबै खर्च कटाएर घर धान्न सहज हुने गरेको भएपनि अहिले अवस्था निकै तनावपूर्ण भएको उनको भनाइ छ ।

ख्वप भक्तपुर मिनिबस यातायात अन्तर्गत लामिछानेको ६ वटा बस छन् । ‘ती बसको किस्ता तिर्न र चालक सहचालकको समस्या समाधान गर्न सक्ने अवस्था भएन,’ उनले भने ।

ग्यारेजमा गाडी राखेर लाखौंको लगानी थन्क्याउन पर्ने अवस्था आउँदा यातायात व्यवसायीहरुले ठुलो समस्या भोग्नु परेको गुनासो गरेका छन् ।

२०५० सालबाट यातायात क्षेत्रमा काम गर्न थालेका भक्तपुरका ४४ वर्षीय विश्वराम सिमाछ्वाको समस्या पनि उस्तै छ । सार्वजनिक यातायात खुली हाल्यो भनेपनि प्रहरी र प्रशासनले यो भएन त्यो भएन भन्ने गरेकाले संचालन गर्न निकै कठीनाई हुने गरेको उनको अनुभव छ ।

‘मेरै कति साथीहरुले गाडी बेचेर अन्य व्यवसाय सुरु गरे, यस्तै अवस्था रहिरहने हो भने हामी पनि के गर्ने ? भन्ने अवस्थामा पुग्न लाग्यौं’ उनले भने ।

चालक र सहचालकले पेशा परिवर्तन गरे

ख्वप भक्तपुर मिनिबस यातायातका संचालक समितका सदस्य तथा यातायात मजदुरका नेता प्रकाश बस्नेतका अनुसार कतिपय मजदुरहरुले पेशा नै परिवर्तन गरे । ‘खाना बस्ने कुराको व्यवस्था गर्न चालक र सहचालक साथीहरुले ज्यामी काम गर्न बाध्य भए,’ बस्नेतले भने ।

बैंकबाट ऋण लिएर बस संचालन गरेकाहरुले अब गाडीनै लगेर साचोँ बुझाउने अवस्था आएको उनको भनाइ छ । बैंकले तारन्तार किस्ता बापतको रकम मागिरहेको र व्याजमा केही छुट भनेपनि तिर्न सक्ने अवस्था नभएको बस्नेतको भनाइ छ ।

‘अघिल्लो वर्ष ९ महिना यो वर्ष २ महिना हुन लागेको काम नभएको यातायात मजदुरहरुको चुल्हो बाल्ने अवस्था भएन । गतसाल केही राहत बाढेको भएपनि यो पटक पैसा भएन केही गर्न सकिएन’, बस्नेतले रातोपाटीसँग भने ।

सरकारले व्यवसायीले गाडी खरिद गर्दा लिएको साँवाको व्याज मिनाह गरिदिए केही सहज हुने उनीहरुको भनाइ छ । ‘साँवा त हामी विस्तारै तिर्दै जान्छौं तर, यो परिस्थितिको बेलामा व्याज मिनाह गरिदिए हुने थियो,’ बस्नेतले भने ।

‘सरकारले भने जसरी गाडी चलाउन सक्दैनौं’

ख्वप भक्तपुर मिनिबस यातायात प्रा.लिमा दर्ता भएर हाल ३ सय ४० वटा बसहरु संचालनमा छन् । करिब ७ सय मानिसले प्रत्यक्ष रोजगारी समेत समेत पाएका छन् । ७ रोजगार मानिससंग जोडिएका हजारौं जना यो बन्दाबन्दीको मारमा परेका छन् ।

यातायात व्यवसायीहरु एकै स्वरमा भन्छन्, ‘हामी सरकारले भने अनुसार सार्वजनिक सवारी संचालन गर्न सक्दैनौं’ । २०६७ साल यता गाडी भाडा बढेको छैन, तेलको भाउ अहिले १०७ रुपैयाँ प्रतिलिटर पुग्यो, अब कसरी मापदण्ड अनुसार चलाउने ?’ उनीहरुको प्रश्न छ ।

‘एउटा बसले भक्तपुरबाट नयाँ बसपार्क पुगेर फर्किँदा  १ हजार रुपैयाँ भन्दा बढीको डिजेल खपत गर्ने र सरकारले भने अनुसार यात्रु बोक्दा ५ सय कमाउन सकिँदैन,’ प्रकाश बस्नेतले भने ।  

सरकारले ३० सिट क्षमताको बसमा १० जना मात्र राख्न दिँदा पनि वर्तमान भाडादरमा सवारी चलाउन सकिने अवस्था नभएको उनीहरुको भनाइ छ ।

व्यावसायीहरुले स्वास्थ्य मापदण्ड पुरा गरेर सवारी संचालन गर्दा वर्तमान भाडादरमा पुर्नविचार गर्नु पर्ने अवस्था भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप