शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘राष्ट्रपति र प्रधानमन्त्रीले संविधानलाई टुक्राटुक्रा पार्नुभो, मध्यरातको नियतै खराब’

बुधबार, ०९ असार २०७८, १३ : ०३
बुधबार, ०९ असार २०७८

अधिवक्ता गोविन्द शर्मा बन्दीले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानलाई टुक्राटुक्रा पारेको जिकिर गरेका छन् । उनले मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनसम्बन्धी निर्णयको नियत खराब रहेको समेत जिकिर गरे । 

प्रतिनिधिसभा विघटनविरुद्ध काँग्रेस सभापति शेरबहादुर देउवा लगायतको रिट निवेदनको पक्षमा संवैधानिक इजलासमा बहस गर्दै बन्दीले भने, ‘मध्यराति विघटनको जुन निर्णय गर्नुभो, त्यसमा नियत खराब देखिन्छ । पार्टीको सहमती वा विमती यो उपधाराले खोजेको छैन। उपधारा १ देखि ५ सम्मको प्रधानमन्त्री केपी शर्मा ओली नै बन्नुपर्छ भन्ने मनोविज्ञानले काम गरेको देखिन्छ ।’

उनले संविधानको धारा ७६(३) अनुसार बनेको सरकार र त्यो भन्दा पहिले नै विश्वास गुमाएको प्रधानमन्त्रीले विघटन गर्न नसक्ने जिकिर गरे । ‘संविधानको म्यान्डेट भन्दा बाहिर गएर राष्ट्रपतिले निर्णय गर्नुभयो’, उनले भने, ‘धारा ७६ (५) मा आधार प्रस्तुत गरेमा नियुक्त गर्नुपर्नेछ भन्ने व्यवस्था संविधानमा छ । उपधारा ५ ले दल वा दलको समर्थन चाहिने कुरा बोलेको छैन । आधार प्रस्तुत गरेमा प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था गरेको छ ।’ 


सो क्रममा उनले संविधानको धारा धारा ७६ (५) को सरकार बन्न ४ को प्रक्रिया पुरा गर्नुपर्छ भनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सोधेको प्रश्नमा उनले भने, ‘प्रधानमन्त्रीले मैले विश्वासको मत पाउन सक्ने अवस्था नभएको हुनाले ५ को प्रक्रिया पुरा गरिपाँउ भन्नुभएको छ । यदि विश्वासको मत पाउन सक्ने अवस्था छैन भनेको अवस्थामा विश्वासको मत नपाए सरह हुनेछ ।’
उनले अगाडि थपे, ‘राष्ट्रपति र प्रधानमन्त्रीले संविधानलाई टुक्रा टुक्रा पार्नुभयो । राष्ट्रपतिको सोच हरेक धारामा केपी ओली नै चाहिन्छ भन्ने छ तर, धारा ७६ (५) अनुसार देउवा चाहिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप