शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

७० करोडमा गृह मन्त्रालयको नयाँ भवन बन्ने, यसअघिको प्रधानमन्त्री कार्यालयमा सर्दै

बुधबार, ०९ असार २०७८, १३ : १२
बुधबार, ०९ असार २०७८


यसअघि प्रधानमन्त्री कार्यालय रहेको भवनमा गृह मन्त्रालय स्थानान्तरण गरिने भएको छ । पुरानो प्रधानमन्त्री कार्यालयको पुनर्निर्माण भई प्रधानमन्त्री कार्यालय त्यस भवनमा सरेको कारण गृह मन्त्रालय यसअघिको प्रधानमन्त्री कार्यालयमा सर्न लागेको हो ।

गृह मन्त्रालय, आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख सहसचिव हुमकला पाण्डेका अनुसार हाल ६ वटा भवनमा रहेको गृह मन्त्रालयका अधिकांश महाशाखाहरु नयाँ भवनमा सर्न लागेको हो । हाल गृह मन्त्रालय बसिरहेको भवन पुरानो भएको र त्यस स्थानमा नयाँ भवन बनाउनुपर्ने भएकाले पनि उक्त स्थान खाली गर्न लागिएको पाण्डेले बताइन् ।

पाण्डेका अनुसार गृह मन्त्रालयको योजना महाशाखा अहिले रहेको स्थानमै रहने भएपनि अन्य महाशाखाहरु भने नयाँ भवनमा सर्नेछन् । गृहले केही दिनदेखि आफ्ना महाशाखाका सामानहरु नयाँ भवनमा सार्ने काम गरिरहेको छ । अबको २ देखि ३ दिनमा हाल गृह मन्त्रालय रहेको भवनका अधिकांश सामानहरु नयाँ भवनमा सारिसक्ने पाण्डेले बताइन् ।

गृह मन्त्रालय ठूलो जनशक्ति भएको मन्त्रालय भएको कारण नयाँ भवनमा सबै महाशाखाहरु राख्न अपुग भएको पाण्डेले बताइन् । त्यसकारण गृह मन्त्रालयको योजना महाशाखा भने अहिले बसिरहेको स्थानमै रहने छ ।

नयाँ भवनमा मन्त्रालयका महत्वपूर्ण अभिलेखहरू, महत्वपूर्ण महाशाखा तथा शाखा, गृहमन्त्रीको कार्यकक्ष आदि रहनेछन् ।

करिब ७० करोडमा नयाँ भवन

गृह मन्त्रालय, आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेका अनुसार आगामी ४ वर्षभित्रमा हाल गृह मन्त्रालय रहेकै स्थानमा मन्त्रालयका लागि नयाँ भवन बनाइनेछ । हाल बसिरहेको भवन तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य बस्नका लागि २०१७/१८ सालमा बनाइएको र उक्त भवन जीर्ण भएको कारण भत्काएर नयाँ भवन बनाउन लागिएको छ । भूकम्पपछि उक्त भवनमा बस्न पनि जोखिम बढेको र स्थानको समेत अभाव भएको कारण नयाँ भवन बनाउन लागिएको हो ।

नयाँ भवन निर्माणका लागि आवश्यक काम गर्न भन्दै १० करोड रुपैयाँ विनियोजन भइसकेको पाण्डेले बताइन् । नयाँ भवन निर्माणका लागि डिपिआर तयार पार्ने लगायतका आन्तरिक कामका लागि गत वर्ष नै १० करोड रुपैयाँ छुट्याइएको थियो ।

व्यवस्थापन महाशाखा प्रमुख पाण्डेका अनुसार करिब ७० लाख लागतमा ४ वर्षभित्र तयार हुनेगरी नयाँ भवन निर्माण गर्न लागिएको हो । आगामी साउन महिनादेखि नयाँ भवन निर्माणका लागि टेण्डरको प्रक्रियामा जाने उनले बताइन् । टेण्डर प्रक्रिया पूरा गर्न करिब ६/७ महिना लाग्ने भएकाले कति रकममा टेण्डर स्वीकृत हुन्छ, त्यसपछि मात्रै लागतबारे एकिन हुने उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप