बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एरिक्सन ढलेको मैदानमा दन्त्यकथाको झल्को दिनेगरी जाग्यो डेनमार्क

बुधबार, ०९ असार २०७८, १३ : ४४
बुधबार, ०९ असार २०७८

‘उनीहरुले आफ्ना लागि यो सबै गरेका होइनन्, बरु एक खेलाडीका लागि गरेका हुन् ।’

डेनमार्ककका खेलाडीहरुले रुसविरुद्ध विजय हासिल गर्दै युरो कपका अन्तिम १६ मा पुग्दाको खुसी मनाइरहँदा रंगशालामा यो भावना छताछुल्ल पोखियो ।

क्रिष्ट्रियन एरिक्सन नौ दिनअघि जुन रंगशालामा कार्डियाक एरेस्टले ढलेका थिए, त्यही रंगशालामा सोमबार डेनमार्कले शानदार विजय हासिल ग¥यो । कोपेनहेगनमा यो अविस्मरणीय रात मनाउन खेलाडी र समर्थक एकसाथ अघि सरे ।

सुरुवाती दुई खेल हारिसकेपछि अन्तिम १६ मा पुग्ने संभावना निकै कम थियो, यसलाई दन्त्य कथासरह ठानिएको थियो, जसका लागि डेनमार्क प्रख्यात छ ।

‘यो एरिक्सनका लागि डेनमार्कको विजय हो । कोपेनहेगनमा यसको अर्थ के हुन्छ भनेर तपाईले हेर्न र सुन्न सक्नुहुन्छ,’ बीबीसीका कमेन्टेटर गाई माउब्रायेले खेल सकिएलगत्तै भने, ‘हान्स क्रिष्ट्रिय एन्डरसन (विश्वका महान् साहित्यकार, जो दन्त्यकथाका लागि प्रसिद्ध छन्) को भूमिमा देखिएको यो अर्को सनसनीपूर्ण कथा हो । वियोगान्त, त्रासदीपछिको पूर्ण, पूर्णत आनन्द ।’

‘यो चमत्कारी रात हुनेछ भन्ने आशा थियो’

बेल्जियम र फिनल्यान्डबीचको खेलको नतिजा पुष्टि गर्न छोटो समय खेलाडीहरु घेरा हालेर फोनमा झुम्मिए, यसलगत्तै खुसीयाली साट्न समर्थकहरु भए ठाउँ पुगे ।

‘फिनल्यान्डविरुद्धको खेलको नतिजा थाहा नभएसम्म कुद्न र खुसी मनाउनु पागलपन हुनेछ भन्ने मलाई थाहा थियो, यसैका लागि खेलाडीहरु घेरा बनाएर बसेका थिए,’ प्रशिक्षक केस्पर ह्जुल्मेन्टले भने, ‘मलाई आशा थियो कि यो चमत्कारी रात हुनेछ । म ती सबै व्यक्तिलाई धन्यवाद भन्न चाहन्छु, जसले हामीलाई समर्थन गर्नुभयो र धेरै माया देखाउनुभयो । तपाईंहरुको समर्थनले खेलाडीहरुलाई ठूलो हौसला मिलेको छ, यो संसार नै हाम्रो भएजस्तो हो, यसका लागि धेरै धन्यवाद् ।’

उनले थपे, ‘प्रेरणा, टिमको भावना र खेलाडीहरुबीचको मित्रता अद्भूत थियो । कोही यसको हकदार छ भने ती हाम्रै खेलाडी हुन् । उनीहरु कस्तो अवस्थामा पुगेका थिए र कसरी कमब्याक गर्न सफल भए भन्ने कल्पना पनि म गर्न सक्दिन ।’

डेनमार्कले रुसलाई ४–१ ले हराएर राम्रो गोलअन्तरका आधारमा समूहमा दोस्रो हुँदै अन्तिम १६ को यात्रा गरेको हो । ‘त्यहाँ एउटा भावुक टोली थियो । उनीहरु निकै ठूलो पीडाबाट गुज्रिएका थिए र दोस्रो चरणमा पुगेको देख्न पाउनु निकै खुसीको विषय हो,’ इङल्यान्डका पूर्व डिफेन्डर रियो फर्डिनान्डले भने ।  

‘यो विशेष छ, त्यो भावना रंगशाला आसपास महसूस भएकै हुनुपर्छ । उनीहरुले घरलु समर्थकका अगाडि जसरी खेलेर छनोट भए, त्यो चमत्कारिक छ,’ इङल्यान्डकै पूर्व खेलाडी एलेक्स स्कटले भने ।

रुससँग खेल्नुअघि डेनमार्क समूह बीमा पुछारमा थियो । अन्तिम १६ मा छनोट हुने संभावनाका लागि कुनै हालतमा जित हासिल गर्नुपर्छ भन्ने उनीहरुलाई थाहा थियो । मिक्केल ड्याम्सगार्डले पहिलो हाफमा डेनमार्कलाई १–० ले अघि बढाए । अनि, ५९ मिनेटमा युसुफ पाउल्सेनले गोल गर्दा डेनमार्क २–० ले अघि बढ्यो ।

तर, डेनिस खेलाडीहरुले घरेल मैदानमा खुसीयाली मनाएनन् । किनकी, यही समय अर्को खेलमा बेल्जियम र फिनल्यान्ड भिडिरहेका थिए र गोल बराबरीमा चलिरहेको थियो । बेल्जियमले गरेको गोल अफसाइड भयो ।

यता, जान्निक भेस्टरगार्डले फल खेल्दा रुसलाई पेनाल्टी हान्ने अवसर मिल्यो । रुसी कप्तान अर्टेम डिज्युवाले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।

उता, अर्को खेलमा फिनिस गोलकिपर लुकास र्याडिच्कीले आत्मघाती गोल गरे, बेल्जियम १–० ले अघि बढ्यो । दोस्रो चरण पुग्न रुसलाई कम्तिमा बराबरी र डेनमार्कलाई राम्रो गोलअन्तरको जित आवश्यक थियो । त्यसैले दुबै टिम अन्त्यतिर निकै आक्रामक थिए । डेनमार्कका समर्थकहरु आफ्नो टोलीको हौसला बढाइरहेका थिए । क्रिस्टेन्सन र माइल्लेले ७९ र ८२ मिनेटमा गोल गरेपछि डेनमार्कका समर्थकहरूमा ठूलो खुसीयाली छायो ।

डेनमार्कले खेल जितिसक्दा बेल्जियम र फिनल्यान्डबीचको खेल सकिन सायद, केही सेकेन्ड बाँकी थियो । रोमेलु लुकाकुले बेल्जियमबाट गोल गरेर अग्रता दोब्बर पारिसकेका थिए ।

जब, सेन्ट पिटर्सवर्गमा अन्तिम सिट्ठी बजेको समाचार कोपेनहेगनमा घेरा हालेर बसेका डेनिस खेलाडीहरुले सुने । तब, पागल जसरी उनीहरु समर्थकहरु भए ठाउँ कुद्दै गए ।

समूह चरणका तीन खेलबाट बेल्जियमले ९ अंक बटुलेको छ भने डेनमार्क, फिनल्यान्ड र रुसको समान ३–३ अंक छ । फिनल्यान्डले डेनमार्कलाई, रुसले फिनल्यान्डलाई र अन्त्यमा डेनमार्कले रुसलाई हराएका थिए । यी तीनवटै टोली बेल्जियमसँग भने पराजित भएका थिए । यसरी, हेड टु हेडबाट पनि उपविजेताको टुंगो नलाग्ने भएपनि गोलअन्तरका आधारमा डेनमार्क दोस्रो चरण पुग्यो ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप