बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

हेलम्बुमा राहत : हेलिकोप्टरमा आएर चाउचाउ खसाल्छन्, फोटो खिचेर जान्छन् !

स्थानीयको गुनासो : राहतका नाममा पुराना कपडाको एक पोको पनि आयो
बुधबार, ०९ असार २०७८, १५ : ४८
बुधबार, ०९ असार २०७८

मेलम्ची बाढी प्रभावितहरूका लागि सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा राहत वितरण प्रभावकारी नभएको स्थानीयहरुले गुनासो गरेका छन् । हेलम्बुका बाढी प्रभावितहरुले राहत मेलम्चीमा केन्द्रीत भएको र हेलम्बुमा आएपनि सबैले पाउन नसकेको गुनासो गरेका छन् ।

हेलम्बुमा पुगेका कतिपय हेलिकोप्टरले चाउचाउ मात्र लिएर जाने र फोटो खिचेर फर्केको उनीहरुको भनाइ छ । हेलम्बुका स्थानीय मनिष तामाङले भने, ‘ग्याल्थुममा माथिबाट हेलिकोप्टर आयो र चाउचाउ खसालेर गयो । त्यो ठाउँमा चाउचाउ आवश्यक छैन, आवश्यक पर्ने कुराहरु अरु धेरै छन् ।’

हेलम्बु गाउँपालिका तिम्बुका पासाङ ग्याल्बु ह्योल्मोले बाढीले पूरै विस्थापित भएकाहरुलाई राहत वितरण गरेपनि बाढीबाट जोखिम भएर घर छोडेकाहरूलाई राहत नदिएको जानकारी दिए । कतिपय हेलिकोप्टरले खाद्यान्न लगायत अत्यावश्यक सामग्री राहत लगेपनि कतिपय हेलिकोप्टरले भने चाउचाउ राहतमा ल्याउने गरेको उनले बताए ।

तिम्बुका करिब ५० घर नदीको जोखिमा भएका कारण रातिको समयमा स्थानीयले घर छोडेर माथिल्लो भागमा गएर बस्ने गरेको उनले बताए ।

उनले भने–‘तिम्बु बजार क्षेत्रमा चालीस पचास घर छ । मेलम्ची खोलाले जमिन कटान गर्दै गएपछि सबै बस्ती अहिले जोखिममा छ । घर छोडेर अहिले स्थानीयहरु माथिल्लो भागमा गएर बस्न थालेका छन् । तिम्बुका लागि ल्याएको राहत पनि तल्लो भागका स्थानीयले खोसेर राख्ने गरेपछि माथिल्लो भागमा आउन पाएको छैन ।’

जोखिममा रहेकाहरुले राहत नपाएपनि विस्थापितहरुका लागि नेपालीको सेनाको हेलिकोप्टरमा चामल लगायतका खाद्यान्न टेन्ट लगायतका सामग्री वितरण गरिएको उनले बताए । बाटो पुल र बजार नभएका कारण सो क्षेत्रका स्थानीयलाई खाद्यान्न समस्या पर्ने उनले बताए ।

राहतका नाममा पुराना कपडाको एक पोको ! 

हेलम्बु चिउरीखर्कमा राहतको नाममा पुराना कपडा छोडेर गएको स्थानीय मनिष तामाङले बताए । हेलिकोप्टरबाट नै चाउचाउ लगायतका अन्य सामग्रीसँगै पूराना कपडाहरुको एउटा पोको छोडेर गएको उनले बताउ । उनले भने–‘केही कपडा बच्चाहरुले लगाएका छन् । तर प्रयोग भइसकेको कपडा यहाँ फाल्न ल्याएको जस्तो मात्रै भएको छ । पुराना जुत्ताहरु पनि रहेछ । मान्छे पीडामा परेको बेला उल्टै बेइज्जत गर्न खोजेको जस्तो भयो ।’

गाउँपालिका सम्पर्क व्यक्ति माङकल राईले बाढी प्रभावितहरुका लागि गाउँपालिकामा आएको राहत वडा अध्यक्षमार्फत् आवश्यकता अनुसार वितरण गरिएको जानकारी दिए ।

उनले भने–‘बाढी प्रभावितहरुका लागि कहाँ–कहाँ राहत पुगेको छैन, त्यहाँ त्यहाँ वडाध्यक्षहरुले राहत वितरण गरिरहनुभएको छ । वडा नम्बर १ मा हिजो खर्कथली, नाकोते हल्दे क्षेत्रमा राहत लानुभएको छ । राहत नपुगेको ठाउँमा वडाध्यक्षमार्फत समन्वय गर्ने काम भइरहेको छ ।’

अहिलेसम्म विभिन्न संघ संस्थामार्फत नगद तथा जिन्सी राहत आएको र प्रभावित सबैलाई वितरण गर्ने काम भइरहेको उनले बताए ।

गाउँपालिकालाई प्राप्त भएको राहत र वितरण गरिएको विवरण गाउँपालिकाको वेबसाईट तथा फेसबुकमार्फत सार्वजनिक गरिएको राईले जानकारी दिए ।

हेलम्बुमा मात्रै १७ सय १७ जना विस्थापित

हेलम्बुमा आएको मेलम्ची बाढीबाट १५ जना बेपत्ता भएका छन् भने १७ सय १७ जना बेपत्ता भएका छन् । गाउँपालिकले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार हेलम्बुमा ६ वटा पक्की तथा झोलुङ्गे पुलसहित ५ किलोमिटर सडक बाढीले बगाएर बगरमा परिणत भएको छ ।

हेलम्बु गाउँपालिका वडा नम्बर १ स्थित च्युरिखर्क, तिम्बु, हल्दे, आम्बाथाङमा २६ घर बगाएको छ । १ सय घर आंशिक क्षति भै १ सय २६ घर परिवारका ५ सय ६९ जना विस्थापित भएका छन् ।

वडा नम्बर २ स्थित पुरानो चनौटे बजार, मुक्तिटार,  गणेशेबगर किउलमा ४५ घर बगाएको छ । ९७ घर आंशिक क्षति भै १ स ४२ घर परिवारका ६ सय ६० जना विस्थापित भएका छन् । किउलमा रहेको नवनिर्मित ईलाका प्रहरी कार्यालय बगाएको भने रातोपुलमा रहेको हेलम्बु रिभर साइड रिसोर्ट बगाएको छ ।

वडा नम्बर ३ स्थित सेरावेसी इसिङ गैरीवेशी पाल्चोक तोरीश्चरमा २२ घर बगाएको छ, २७ घर आंशिक क्षति भै ४९ घर परिवारका १ सय ४९ जना विस्थापित भएका छन् ।

वडा नम्बर ४ मा १ सय १७ घर आंशिक क्षति भएको भने सोही वडाको इस्ट पोइन्ट बोर्डिङ स्कूल बाढीले बगाएको छ ।

वडा नम्बर ६ स्थित चालिसेमा ८ घर बगाएको र १५ घर आंशिक क्षति भै २३ घर परिवारका १ सय ६ जना विस्थापित भएका छन् ।

वडा नम्बर ७ स्थित चालिसेमा ९ घर बगाएको छ । ३९ घर आंशिक क्षति भै ४८ घर परिवारका २ सय ३३ जना विस्थापित भएका छन् ।

खोला छेउका स्थानीयले घर छोडे : २ घरमा चोरी

बाढीको जोखिम रहेका मेलम्ची खोला छेउका चनौटे, ग्याल्थुम बजारका स्थानीय घर छोडेर माथिल्लो भागमा बस्न थालेका छन् । ग्याल्थुमका जोखिममा रहेका परिवारहरु घरबाट सामान बोकेर गजेटार, सेराको माथिल्लो भागमा सरेका छन् । यस्तै ग्याल्थुममा चोरीको घटना हुन थालेको छ । ग्याल्थुमका २ घरमा चोरी भएको स्थानीय आइते तामाङले जानकारी दिए । ग्याल्थुम बजारमा सडकको तल्लो भागको बस्तिका धेरै मानिसले घर छोडेको उनले बताए ।

हेलम्बु इलाका प्रहरी कार्यालय सई सुनील कुमार थापाले स्थानीयका लागि टहरा बनाउने, प्रहरी कार्यालय व्यवस्थापन गर्न व्यस्त भएकाले चनौटे ग्याल्थुमसम्म प्रहरी पुग्न नपाएको उल्लेख गरे ।

सामान्य बन्न खोज्दै मेलम्ची बजार

गत असार १ गतेपछि लगातार ३ दिन बाढी आएर क्षति पुर्याएको मेलम्ची बजार सामान्य बन्ने प्रयासमा रहेको छ । बालुवा, माटो ढुङ्गाले पुरेको आफ्नो घरबाट स्थानीहरु आफ्नो सामान निकाल्ने प्रयत्नमा लागेका छन् । साथै खुला स्थानमा बिस्थापितहरुलाई बस्नका लागि टेन्ट लाख्ने काम सुरु भएको छ । स्थानीयले सावेल लगाएका औजार प्रयोग गर्दै पुरिएको घर खोस्रिँदै सामान निकाल्ने प्रयासमा लागिरहेका छन् भने नगरपालिकाले आवश्यकता अनुसार राहत सामग्री उपलब्ध गराउन थालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप