बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

संसद विघटनविरुद्ध सडक संघर्षमा उत्रिने विपक्षी गठबन्धनको निर्णय

भोलि विद्यार्थी संगठनको विरोध प्रदर्शन, सम्पादकसँग अन्तरक्रिया
बुधबार, ०९ असार २०७८, २१ : २०
बुधबार, ०९ असार २०७८

काठमाडौं । विपक्षी गठबन्धनले जनपरिचालनका कार्यक्रम अघि बढाउने निर्णय गरेको छ । बुधबार साँझ काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको गठबन्धनको बैठकले प्रतिगमनविरुद्ध जनपरिचालनको कार्यक्रम अगाडि बढाउने निर्णय लिएको हो ।

बैठकमा काँग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका वरिष्ठ नेता माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेताहरू उपस्थित थिए । 

काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काका बैठकमा सामाजिक दुरी कायम गरी विरोध कार्यक्रम गर्नेबारे सैद्धान्तिक छलफल भएको छ । संविधान, लोकतन्त्र र राष्ट्रियताका पक्षमा जनपरिचालनका कार्यक्रम अन्तर्गत विहीबार गठबन्धन सम्बद्ध विद्यार्थी संगठनले विरोध प्रदर्शन गर्न लागेको खड्काले रातोपाटीलाई जानकारी दिए ।

दोस्रो लहरको कोरोना संक्रमण घट्दै गएकाले स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै  विरोधका कार्यक्रम अगाडि बढाउने गठबन्धनले निष्कर्ष निकालेको उनको भनाइ छ । स्वास्थ्य मापदण्डको पालना गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको  प्रतिगमनकारी​ निर्णयका विरुद्धमा कार्यक्रम गर्न पार्टी संगठनलाई जनपरिचालन खड्काले बताए । 

उनले भने, 'स्वास्थ्य मापदण्डलाई ध्यानमा राखेर हामीले विरोध कार्यक्रम निरन्तर गर्छौ । बाढी-पहिरोबाट क्षति भएका ठाउँमा राहत र सहयोगको कार्यक्रमका लागि संगठन परिचालन गरिने छ ।' 

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको मुद्धाको अन्तिम सुनुवाइ चलिरहेको बेला गठबन्धनले आफ्नो पक्षमा फैसला गराउने उद्देश्यले विरोधमा उत्रिने निर्णय गरेको देखिन्छ । प्रधानमन्त्री ओलीले बहुमतको सरकार चलाउन नसक्ने परिस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

राष्ट्रपति भण्डारीले दिएको २१ घण्टाको समय सीमाभित्र विपक्षी गठबन्धनले १४९ सांसदको हस्ताक्षर (बहुमत)सहित सरकार गठनका लागि काँग्रेस सभापति देउवालाई प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेर दाबी पेस गरेको थियो । साथै ओलीले पनि दाबी पेस गरेपछि राष्ट्रपति भण्डारीले दुबै दाबीमा सरकार बहुमत पुग्ने आधार नदेखिएको भन्दै खारेज गरिदिएकी थिइन् ।

त्यसपछि मन्त्रिपरिषदको सिफारिसमा जेष्ठ ७ गते राति प्रतिनिधिसभा विघटन गरी आगामी कार्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको मिति तोकिएको छ । विपक्षी गठबन्धनका १४६ सांसदले संसद पुनस्र्थापना र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गरी रिट दायर गरेका थिए ।

देउवाको दाबी खारेजी र संसद विघटनका विरुद्धमा सर्वोच्चमा न्यायिक सुनुवाई भइरहेको छ । कोरोना संक्रमणका कारण भन्दै यसअघि सडक संघर्षमा कार्यक्रम नगर्ने रणनीति लिएको विपक्षी गठबन्धनले अदालतमाथि दबाब सिर्जना गराउन खोजेका देखिन्छ ।

यस्तै गठबन्धनको बैठकमा प्रदेश २ र गण्डकी प्रदेश सरकारलाई पूर्णता दिँदै गठबन्धनलाई अझै मजबुत बनाउने निर्णय भएको खड्काले बताए ।  यस्तै विपक्षी गठबन्धनले विहीबार सम्पादकसँगको अन्तरक्रिया कार्यक्रम पनि गर्ने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप