बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा एकैदिन १६ हजार बढी संक्रमित, फेब्रुअरीयताकै उच्च

बिहीबार, १० असार २०७८, ०९ : ११
बिहीबार, १० असार २०७८

लन्डन । बेलायतमा कोरोना संक्रमण दर निरन्तर उकालो लाग्दै गएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा १६ हजार १३५ जना नयाँ संक्रमित थपिएका छन्।

यो संख्या गत फेब्रुअरी ६ तारिख पछिकै उच्च हो । फेब्रुअरी ६ मा १८ हजार २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै बेलायतमा कोरना संक्रमितको संख्या ४६ लाख ६७ हजार ८७० पुगेको छ । हाल बेलायतमा ‘डेल्टा भेरिएन्ट’को प्रकोप बढेसँगै संक्रमण दर  उकालो लागेको हो ।

बेलायतमा संक्रमण दरमा तीव्रता आएपनि मृत्यु दरमा भने खासै वृद्धि भएको छैन । बुधबारको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख २८ हजार २७ पुगेको छ । तर, कोरोना संक्रमणका कारण मृत्यु भएको मृत्यु दर्ता प्रमाणपत्रका अनुसार भने एक लाख ५३ हजार भन्दा बढीको मृत्यु भएको राष्ट्रिय तथ्यांकको कार्यालयले उल्लेख गरेको छ ।

बेलायतमा ७ करोड ५१ लाख भन्दा बढी खोप वितरण

बेलायतमा ७ करोड ५१ लाख ८८ हजारभन्दा बढी डोज खोप वितरण भएको छ । जुन २२ सम्मको तथ्यांक अनुसार यहाँ ६० दशमलव ३ प्रतिशत वयस्कहरुले खोपको दुवै डोज लगाइसकेका छन् भने ८२ दशमलव ५   प्रतिशतले पहिलो डोज लगाइसकेका छन् ।

पछिल्लो तथ्यांक अनुसार बेलायतमा ७ करोड ५१ लाख ८८ हजार ७९५ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ३४ लाख ४८ हजार ६८० जनाले पहिलो र तीन करोड १७ लाख ४० हजार ११५ जनाले दोस्रो डोज लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप