शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एकैपटक १० वटा बच्चा जन्माएको खबरबारे यस्तो निस्कियो वास्तविकता

बिहीबार, १० असार २०७८, १० : ४७
बिहीबार, १० असार २०७८

दक्षिण अफ्रिकामा खुसियामी सिटोले नामकी महिलाले एकैपटक १० वटा बच्चा जन्माएको भन्ने दाबी झुटो साबित भएको त्यहाँका अधिकारीले बताएका छन् ।

गौतेंग प्रान्तका अधिकारीले राज्यका कुनै पनि अस्पतालमा एकैपटक १० बच्चा जन्मिएको कुनै रेकर्ड नभएको जानकारी दिएका छन् ।

खुसियामी सिटोले हालै गर्भवती समेत नभएको अधिकारीले खुलासा गरेका छन् ।

हाल यी महिलाको ‘मेन्टल हेल्थ एक्ट’ अन्तर्गत हेरविचार गरिँदैछ र उनलाई हर सम्भव मद्दत प्रदान गरिएको छ ।

आधिकारिक बयानमा १० बच्चाको जन्मको झुटो कहानी बुन्नुको पछाडिको कारणबारे जानकारी दिइएको छैन ।

तर यो खबरलाई सबैभन्दा पहिला छाप्ने प्रिटोरिया न्यूजको मालिक कम्पनी इन्डिपेन्डेन्ट अनलाइनले ऊ आफ्नो कहानीमा अडिग भएको बताएको छ ।

कम्पनीले खुसियामी सिटोलेले राजधानी प्रिटोरियाको स्टीव बिको एकेडेमिक अस्पतालमा सात जूनमा १० बच्चालाई जन्म दिएको तर अस्पतालसँग यति बच्चालाई एकैटिक सुत्केरी गराउनका लागि पर्याप्त तयारी नभएको आरोप लगाएको छ ।

अब प्रिटोरिया न्यूजले प्रान्तीय स्वास्थ्य अधिकारीले मेडिकल लापरवाहीमाथि लिपपोत गरिरहेको आरोप लगाएको छ ।

तर सरकारी अधिकारीले यसको खण्डन गरिरहेको छ । उनले एक बयान जारी गर्दै भनेका छन्, ‘लापरवाहीको आरोप झुटो र निराधार छ । यो स्टीव बिको अस्पताल र गौतेंगको प्रान्तीय सरकारको इज्जतमाथि दाग लगाउने कोसिस हो ।’

बयानमा प्रिटोरिया न्यूज र यसका प्रधान सम्पादक पीट रांपेडीविरुद्ध कानूनी कारवाही गरिने बताइएको छ ।

खबर कसरी फैलियो ?

खुसियामी सिटोले र उनका श्रीमान् तेबोहो त्सोतेत्सी गौतेंग प्रान्तको थेम्बिसा इलाकामा बस्छन् । यो इलाका जोहेन्सबर्ग नजिकैको हो ।

उनका ६ वर्षका जुम्ल्याहा सन्तान पनि छन् ।

खबर छाप्ने कम्पनी इन्डिपेन्डेन्ट अनलाइनका अनुसार उनका पत्रकार र रांपेडी एउटा चर्चामा जाने गरेको र त्यहाँ नै दुईको भेटघाट भएको हो ।

मे महिनामा यी पत्रकारले दम्पत्तिको अन्तरवार्ता लिएको र उनीहरुले आफूहरुले एकैपटक आठ सन्तानलाई जन्म दिने अपेक्षा गरिरहेको बताइएको छ । उक्त अन्तरवार्ताका बेला सिटोलेको फोटोसुट पनि गरिएको जसमा उनलाई गर्भवती देखाइएको आरोप लागेको छ ।

प्रिटोरिया न्यूजले १० बच्चाको जन्मको कहानी ८ जूनमा प्रकाशित गरेको थियो ।

खबरको स्रोत सिटोलेका श्रीमान् त्सोतेत्सीलाई बताइएको छ । त्सोतेत्सीले पछि कोरोना भाइरसका कारण उनी अस्पताल नगएको तर उनलाई यसबारे सिटोलेले मेसेज पठाएको बताएका थिए ।

प्रिटोरिया न्यूजले एक ह्वाट्सएप मेसेजमाथि विश्वास गर्यो तर अस्पतालले यो खबर पुष्टि गरेन ।

इलाकाका मेयरले पनि यो खबरको पुष्टि गरेका थिए । यसैकारण बीबीसीसमेत थुप्रै मिडिया संस्थाले यो खबर प्रकाशित गरेको थियो ।

तर अब सरकारका प्रवक्ताले मानिसहरुले १० बच्चाको जन्मबारे सुनेका त छन् तर कसैले पनि नदेखेको बताएका छन् ।

लाखौं रकम जुट्योः

खबर छापिएपछि यी बच्चा थेंबिसा १० को नामले चर्चित भए र मानिसहरुले उनका लागि रकम संकलन गर्न थाले ।

इन्डिपेन्डेन्ट अनलाइनका अध्यक्ष इकबाल सुर्वे आफैंले बच्चालाई करिब ८० लाख रुपैयाँ दान दिए ।

तर कहानीमा त्यतिबेला शंका उब्जियो जब प्रिटोरिया न्यूजले अस्पतालको नाम बताउन असफल रह्यो ।

साथै शहरका थुप्रै अस्पतालले आफ्नोमा कसैले पनि एकैपटक १० बच्चा नजन्माएको बताए ।

त्यसको १० दिनपछि इन्डिपेन्डेन्ट अनलाइनले स्टीव बिको अस्पतालमाथि आरोप लगायो । यता प्रिटोरिया न्यूजले भन्यो, ‘जन्मपछि दम्पत्तिबीच झगडा भयो र हप्तादिन पछि नै श्रीमानले श्रीमती हराएका कारण मानिसहरुलाई दान दिन बन्द गर्न अपिल गरे । तर श्रीमतीले भने श्रीमानले बच्चाले पाइरहेको पैसा हडप्न चाहेको बताइन् । ’

अधिकारीका अनुसार यति नै बेला सामाजिक कार्यकर्ताले सिटोलेको खोजी गरे र उनलाई पछिल्लो शुक्रबार परीक्षणका लागि अस्पताल भर्ना गराए ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप