शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

त्यो गृहयुद्ध र गुफाको बास

एक फुटबलरको नजरमा जीवनको अर्थ
बिहीबार, १० असार २०७८, ११ : १०
बिहीबार, १० असार २०७८

(एरिक क्यान्टोना फ्रान्सका चर्चित अभिनेता तथा फिल्म निर्देशक हुन् । कलाकारता थाल्नुअघि उनी फुटबलरका रूपमा प्रख्यात थिए । ९० को दशकमा निकै चलेका क्यान्टोना आफ्नो पुस्ताका महान् खेलाडीमध्ये एक मानिन्छन् । फ्रान्सबाट ४५ खेल खेल्दै २० गोल गरेका यी फरवार्ड विशेषगरी म्यानचेस्टर युनाइटेडमा छँदाका ५ वर्ष चर्चाको शिखरमा रहे, जहाँ उनले ४ पटक प्रिमियर लिग जिते । ३० वर्षको उमेरमै फुटबलबाट सन्यास लिएका क्यान्टोनालेखेल र जीवन’ बारे आफ्नो अनुभूति समेटेर लेखेको पत्र प्लेयर्स ट्रिब्युनमा छापिएको छ ।)

फुटबलले तपाईंको जीवनको अर्थ दिन्छ ।

मलाई यसमा साँच्चै विश्वास छ । तर तपाईंको जीवन, तपाईंको इतिहास, तपार्इंको बदलावले पनि तपार्इंको फुटबलको अर्थ दिन्छ ।

म त्यो कुरा गर्न गइरहेको छु । जसबारे मैले लगभग अहिलेसम्म बहस गरेको छैन । मैले तपाईंलाई त्यो कथा भन्न जरुरी छ, जसले मेरो अस्तित्वलाई आकार दियो । म जन्मनुभन्दा पहिल्यै यस्तो भएको थियो ।

हामी सन् १९३९ मा फर्कनुपर्छ, जतिबेला स्पेनिस गृहयुद्ध चलिरहेको थियो । मेरो मावलीतर्फका हजुरबुबा बार्सिलोनाका थिए । उनले तानाशाह फ्रान्कोसँग सक्दो लडे । युद्धको अन्त्यमा उनी ‘वान्टेड’ सूचीमा थिए । राष्ट्रवादी सेनाले सहर कब्जा गरिरहेका थिए, उनीसँग भाग्नका लागि केही मिनेट बाँकी थियो ।

फ्रान्सको भूमिमा पाइला राख्न उनले पिरनिस पहाड पार गर्नुपर्ने थियो । उनले सबैलाई ‘गुडबाई’ भन्ने समयसमेत पाएनन् । यो अन्त्य थियो, जीवन वा मृत्युको ।

सहर छाड्नुअघि उनी आफ्नी प्रेमिका भए ठाउँ पुगे र सोधे, ‘के तिमी मसँगै जान तयार छौ ?’

उनी २८ वर्ष र प्रेमिका १८ वर्षकी थिइन् । उनले परिवार, साथीभाइ सबै छाड्नुपर्ने थियो । र जवाफ दिइन्, ‘अवश्य पनि ।’

यी मेरी हजुरआमा थिइन् ।

उनीहरू भागेर समुद्री किनारस्थित आर्जिलेस सुर्मेर शरणार्थी शिविरमा पुगे । त्यहाँ १ लाखभन्दा धेरै स्पेनिसहरूले शरण लिइरहेका थिए । यदि फ्रान्सले उनीहरूलाई शरण नदिएको भए के हुने थियो भनेर कल्पना गर्न सक्नुहुन्छ ?

उनीहरूले सहानुभूति देखाए । जसरी पीडितहरूमाथि मानवताले सधैँ सहानुभूति देखाउनुपर्छ ।

मेरा हजुरबा–हजुरआमासँग केही थिएन । उनीहरूले आफ्नो जीवन सुरु गर्नुपर्ने थियो । तर केही समयपछि शरणार्थीहरूलाई सेन्ट इट्टनी क्यान्टेल्समा ड्याम बनाउनका लागि मजदुरी गर्ने अवसर दिइयो ।

यो आप्रवासीहरूको जीवन हो । तपाईं त्यही जानुहुन्छ, जहाँ जानैपर्छ । तपाईंले त्यही गर्नुहुन्छ, जो गर्नुपर्छ । त्यसैले उनीहरू काममा गए । उनीहरूले आफ्नो जीवन बनाए ।

केही वर्षपछि त्यहाँ मेरी आमा जन्मिइन् र यो परिवार अन्ततः मार्से ¥यो ।

यो कथा मेरो रगतमा छ । यसले मलाई मानव बनायो । तर यो सपना जसरी मेरो मस्तिष्कमा मात्रै अस्तित्वमा रह्यो । उनीहरूको सङ्घर्षका कुनै फोटो थिएन, केवल कथा मात्र थियो । छुन र हेर्नका लागि त्यस समयको कुनै पनि कुरा बाँकी थिएन ।

तर २००७ मा फोटोग्राफर रोबर्ट कापाको प्रसिद्ध ‘मेक्सिकन सुटकेस’ मेक्सिको सिटीस्थित एक घरमा भेटियो । ती पुराना बाक्सामा ६० वर्षभन्दा लामो समयदेखि हराइरहेका स्पेनिस गृहयुद्धका ४५ सयवटा नेगेटिभ फोटो थिए । कसरी त्यो, मेक्सिको पुग्यो ? कसैलाई थाहा छैन ।

म निकै आतुर थिएँ । त्यसैले न्युर्योक सहरमा जब फोटो प्रदर्शनी भयो, म श्रीमतीसँगै गएँ ।

धेरैजसो फोटोहरू केवल सानो नेगेटिभ्स थिए । त्यसलाई तपाईंले म्याग्निफाइङ ग्लासले हेर्नुपर्ने थियो । तर प्रदर्शनीमा राखिएका केही फोटा ठूला थिए । झन्डै तीन मिटर अग्ला, यस फोटोका मानिसहरू साँच्चैका मानिस जत्रा थिए ।

कस्तो लाग्थ्यो भने तपाईंले त्यहाँ उनीहरूलाई छुन सक्नुहुन्छ र, त्यही मैले हजुरबालाई देखेँ ।

यो असम्भवजस्तो लाग्छ, होइन ?

तर फोटोमा उनी निकै युवा थिए । यी व्यक्ति उनी नै हुन् भनेर म आस्वस्त भएँ तर पूरै विश्वस्त हुन सकिनँ किनभने मैले युवा अवस्थामा उनलाई कहिल्यै देखेको थिइनँ ।

त्यसैले केही महिनापछि यो प्रदर्शनी फ्रान्समा सरेपछि मैले आमालाई लिएर गएँ ।

मैले सोधेँ, ‘के उनी नै हुन् ?’

आमाले भनिन्, ‘हो, यो त्यही क्षणको हो, जतिबेला उनीहरू पहाडतर्फ भाग्दै थिए ।’

यो अद्भूत थियो ।

कल्पना गर्नुस्, यदि मेरा हजुरबा त्यहाँ आउन नसकेको भए के हुन्थ्यो ? कल्पना गर्नुस्, मेरी हजुरआमा पछि नलागेको भए के हुन्थ्यो ? सायद मेरी आमा नै अस्तित्वमा हुन्न थिइन् । सायद त्यसपछि म अस्तित्वमा हुन्न थिएँ ।

यद्यपि यो मेरो कथा आधा मात्रै हो । एउटा अर्को फोटो छ, जसले मेरो जीवनलाई आकार दिन्छ ।

मेरा बाका हजुरबा पनि आप्रवासी थिए । सर्डिनियाको गरिबीबाट भाग्न १९११ मा उनीहरू फ्रान्स आएका थिए ।

फ्रान्स आएको तीन वर्षपछि मेरा बाका हजुरबा पहिलो विश्वयुद्धमा सहभागी भए । उनलाई धेरै नै ग्याँस हानिएको थियो, कति धेरै भने सास फेर्न सहज होस् भनेर उनी आफ्ना अन्तिम वर्षहरूमा युकलिप्टस्को धुँवा तानेर बस्थे ।

उनका छोरा अर्थात् मेरा हजुरबाले दोस्रो विश्वयुद्धमा फ्रान्सका लागि लडे । उनी युद्धबाट फर्किएपछि ठेकेदार बने । उनले अन्ततः मार्सेलीको हिलटप डिस्ट्रिकमा आफ्नै जमिन किन्नका लागि पर्याप्त पैसा पनि बचाए । यतिबेला मेरा बुबा किशोरावस्थामै थिए । उक्त जमिनमा सानो गुफा पनि थियो । हजुरबाले घर नबनाउँदासम्म परिवारलाई बस्ने ठाउँ चाहिन्थ्यो  र त्यो उनीहरूले कहाँ भेट्थे ? जवाफ सहज छ– उनीहरू यही गुफाभित्र दुई वर्षसम्म बसे ।

यो गुफा तातो बनाउने एउटै मात्र कुरा खाना पकाउने स्टोभ थियो । परिवारले तिमीलाई पुरानो समयबारे बताउँदा त्यो मिथकजस्तो लाग्छ । तर खासमा १९५६ को त्यो जाडोमा गुफाभित्र मेरा हजुरबा र बुबा न्यानो हुनका लागि ब्ल्याङ्केट ओडेर बसेको एउटा फोटो छ  ।

मेरा हजुरबाले गुफाबाट वर्षौं वर्षपछि घर बनाए । पहिले उनले  एल्कोभ बनाए । त्यसपछि थोरै ट्यारेस र त्यसपछि बल्ल मेरा बाबु–आमाका लागि घर बनाइदिए । यो घरमा म हुर्किएँ । यो मैले उत्तराधिकारमा पाएँ । यो मेरो रगत हो ।

मेरा केही स्मरणमध्ये एक पटक मैले १० वटा बालुवाको बोरा पहाडको टुप्पामा रहेका निर्माणाधीन घरमा पु¥याएको थिएँ । त्यसपछि बल्ल मलाई फुटबल खेल्न दिइएको थियो । मेरा बाबु दिनभर घरमा काम गर्थे र राति मानसिक अस्पतालमा नर्सका रूपमा खट्थे । तर इतिहासको यो हिस्साले पनि मेरा लागि महत्त्वपूर्ण अर्थ राख्छ ।

मेरा बाबु नर्स बन्नु र त्यस अस्पतालमा काम गर्नुको पनि खास कारण थियो ।

उनका आफ्नै धर्मपिता त्यस अस्पतालमा भर्ना भएका बिरामी थिए । उनको नाम ‘सोभर’ थियो । उनी मेरा बाबुका काका थिए । उनी दोस्रो विश्वयुद्धका क्रममा पाँच वर्षसम्म बन्दी बनाइएका थिए र त्यो दुखद अनुभवको चोटका कारण अन्ततः उनलाई इडुआर्ड टोलुइस अस्पताल भर्ना गर्नुप¥यो ।

मेरा बाबु सोभरसँग अति निकट थिए । त्यहीकारण उनी मानसिक रोग हेर्ने नर्स बन्न प्रेरित भए । अन्ततः उनका काकालाई राखिएको युनिटमा ड्युटी मिलाउन सफल भए । हरेक रात उनको सेवा गरे ।

यो मेरो परिवार हो । यो मेरो इतिहास हो । यो मेरो आत्मा हो । यसरी मैले सबै विश्वमा बाँचेको छु । खासमा गत वर्ष मेरो परिवारको इतिहाससँग फेरि जोडिनका लागि सार्डिनियामा मैले कृषियोग्य जमिन किनेको छु । यद्यपि म सधैँ मार्सेलीलाई आफ्नो हृदयले माया गर्छु, किनभने यी सबै स्मरणहरूले मलाई आकार दिएको छ ।

यो सधैँ मेरो सहर हुनेछ ।

मानिसहरूले मैले किन फुटबल खेलेँ र कसरी त्यस्तो शैलीमा खेलेँ भनेर सोध्छन्, त्यसको जवाफ यही हो ।

फुटबलले जीवनको अर्थ दिन्छ, हो । तर जीवनले पनि फुटबलको अर्थ दिन्छ । म प्रायः मेरा बाबुका, धर्मपिताका विषयमा कहिल्यै यस्ता व्यक्तिगत कथाहरू भन्दिनँ । यो बताउन निकै गाह्रो छ । यस्ता कुरा गर्दा परीहरूले मेरा लागि बोलिरहेका छन् जस्तो लाग्छ । मैले मेरो केही इतिहास एक महत्त्वपूर्ण कारणले सुनाइरहेको छु ।

हामी ठूलो गरिबी, युद्ध र आप्रवासनको समयमा बाँचिरहेका छौँ । यहाँ फुटबल किन्न नसक्ने धेरै मानिस छन् । अनि त्यस्ता मानिसहरू पनि छन् जसले प्रिमियर लिगको खेल हेर्न २ सय युरो वा टिभीमा वर्षभर फुटबल हेर्न ४ सय युरो खर्चन सक्छन् ।

जीवनका महान् शिक्षकहरूमध्ये फुटबल एक हो । यो जीवनको महान् प्रेरणामध्ये एक हो । तर फुटबलको अहिलेको बिजनेस मोडलले विश्वको धेरै कुरालाई बेवास्ता गर्छ ।

​गरिब छिमेकीहरूलाई फुटबल आवश्यक छ । त्यस्तै फुटबललाई गरिब छिमेकी आवश्यक छ । हामीले दीर्घकालीन, सकारात्मक र बिस्तारित फुटबललाई समर्थन गर्नुपर्छ । यसका लागि मैले गर्नसक्ने सहयोग म गर्नेछु ।

 

त्यहीकारण म ‘कमन गोल’ अभियानमा उनीहरूको पहिलो मेन्टरका रूपमा सहभागी भइरहेको छु । कमन गोलको मिसन फुटबल उद्योगको कुल राजस्वको १ प्रतिशत रकम ग्रासरुट फुटबल र च्यारिटीका लागि जम्मा गर्ने भन्ने हो । धेरै फुटबलरहरूले आफ्नो तलबको १ प्रतिशत रकम सहयोग गर्ने वाचा गरिसकेका छन् ।

यसको सुन्दर पक्ष यस्तो वाचा ठूला क्लबका खेलाडी, साना क्लबका खेलाडी, महिला–पुरुष र विश्वभर खेल्ने खेलाडीबाट आएको छ ।

फुटबल जनताका लागि हुनुपर्छ । फुटबलमा आजका मुख्य व्यक्तिहरूसँगै आउन नहुने र सामाजिक पक्षलाई समर्थन गर्नु नपर्ने कारण छैन ।

हामी धनी हौँ वा गरिब, आप्रवासी हौँ वा १०औँ पुस्ताका नागरिक, हामीले फुटबल खेलमा उस्तै सामान्य खुसी पाउँछौँ ।

हामी एउटै भाषा बोल्छौँ, एउटै भावना महसुस गर्छौं ।

जीवनभर मेरो करियरमा मैले उस्तै प्रश्नहरू सोधिएको पाएँ ।

‘म्यानचेस्टर युनाइटेडजस्तो टिमका लागि खेल्दा कस्तो लाग्थ्यो ? कसरी यति राम्रो ग¥यौ ?’

मानिसहरू केही जटिल उत्तर चाहन्छन् । मलाई लाग्छ, उनीहरू केही गोप्य कुरा चाहन्छन् । तर उत्तर धेरै सामान्य छ । सर एलेक्स फर्गुसन एउटा कुराको मास्टर थिए– जब हामी मैदान छिथ्र्यौैं, घण्टौँसम्मको अभ्यासपछि हामीलाई स्वतन्त्र हुन दिइन्थ्यो । हामीलाई आफूले चाहेको ठाउँमा जाने पूर्ण स्वतन्त्रता थियो, जसरी खेल्न चाहन्छौँ त्यसरी खेल्ने स्वतन्त्रता थियो ।

फुटबललाई यसबाहेक अर्को तरिकाले म पनि सहन सक्दिनँ । यदि स्वतन्त्रता भएन भने फुटबल के हुन्छ ?

कृपया विश्वमा यो खेल हाँकिरहेका व्यक्तिलाई यो प्रश्न सोध्ने अनुमति मलाई दिनुस्, ती फुटबलरहरू, ती एजेन्ट, ती प्रायोजक र ती कमिटीहरूलाई... ।

फुटबल के हो, यदि त्यहाँ स्वतन्त्रता भएन भने ?

जीवन के हो, यदि त्यो स्वतन्त्र भएन भने ?

जीवनको अर्थ के हो ?

मेरो विचारमा, मानवताका पक्षमा हामी अझै धेरै गर्न सक्छौँ भन्नेमा सबै सहमत हुनसक्छौँ । अब तपाईंले मेरो इतिहास जान्नुभयो । म आप्रवासी, विद्रोही, सैनिक र कामदारको परिवारबाट आएँ । सानो छँदा हामीसँग धेरै केही थिएन, ससाना क्षणमा हामी खुसी हुन्थ्यौँ, मेरा लागि जीवनको सत्य यही हो ।

सायद हाम्रो परिवारसँगको सानो पिकनिक होस् । तीन जोडी मोजालाई बेरेर त्यसमा जुत्ताको तुना कसेर बनाइएको बल होस् ।

हामी घाममा फुटबल खेल्छौँ । त्यसपछि घाँसमा बस्छौँ, हामी सबै कुरामा आश्चर्यचकित हुन्छौँ र केही कुरामा हुँदैनौँ ।

३० वर्षको हुँदा म त्यतिबेला फुटबलबाट टाढा भएँ । तपाईंलाई थाहा छ मैले के गरेँ ? यो मेरा लागि केही धेरै विशेष थियो । म त्यही सहरमा बस्न गएँ जहाँबाट मेरा हजुरबा–हजुरआमा १९३९ मा भागेका थिए ।

म बार्सिलोनामा बस्न गएँ ।

(अनुवाद : अन्वेषण अधिकारी ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप