शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा सङ्क्रमण घट्दो, तर विज्ञहरु भन्छन्– यस्तै हो भने तेस्रो लहर थप जटिल हुन्छ

बिहीबार, १० असार २०७८, १२ : ५६
बिहीबार, १० असार २०७८

–पिरजादा अर्साद हमिद 

भारतमा हाल जारी रहेको कोभिड १९ को दोस्रो लहर घट्दो क्रममा देखिएको छ । पछिल्ला केही हप्तामा सङ्क्रमणको दर घटेको पाइएको छ । यता यस्तो अवस्था रहे पनि भारतका जनस्वास्थ्यविद्हरुले भने समयमा यहाँ तेस्रो लहर आउन सक्ने भन्दै खतराको घन्टी थिच्न थालेका छन् । 

पछिल्लो समयमा भारतमा यसरी घट्दो क्रममा सङ्क्रमित देखिन थालेपछि यहाँको सरकारले यसअघि लगाएका प्रतिबन्धहरुलाई केही खुकुलो बनाएको छ । यसरी खुकुलो बनाएपछि नागरिकहरु सडकमा निस्किन थालेका छन् । उनीहरुले सामाजिक दुरी कायम गर्ने तथा अरु जनस्वास्थ्यका आधारभूत मापदण्डहरु पनि पालना गर्न छोडेका छन् । जसका कारण फेरि भारतमा अर्को खतरा आउन सक्नेतर्फ जनस्वास्थ्यविद्हरुले सरकारलाई सचेत बनाएका छन् । 

बुधबार बिहान मात्र भारतमा ५० हजार ८४८ जना नयाँ सङ्क्रमित थपिएका छन् । गएको २४ घन्टामा त्यहाँ बुधबार मात्र ती सङ्क्रमित थपिएको यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको हो । यो समेत गरी भारतमा अहिलेसम्ममा कम्तीमा पनि ३ करोड सङ्क्रमित पुगेका हुन् । यहाँ ३ करोड २८ हजार ७०९ जना सङ्क्रमित पुगेका हुन् । 

त्यस्तै यहाँ यो सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पनि झण्डै चार लाखको नजिक पुग्दैछ । भारतमा कोरोना भाइरसका सङ्क्रमितहरुमध्ये ३ लाख ९० हजार ६६० जनाको ज्यान गएको छ । यहाँ केही समय अघिसम्म हरेक दिन २ हजार भन्दा पनि बढी सङ्क्रमितहरुको ज्यान जाने गरेको थियो । तर अहिले सो अवस्थामा पनि कमी आएको छ । यहाँ अहिले मृत्यु हुनेको सङ्ख्या पनि उल्लेख्य मात्रामा घट्दै गएको देखिएको छ । 

पछिल्लो समयमा निको हुने दरमा पनि बृद्धि भएको छ । भारतमा पछिल्ला हप्ताहरुमा सङ्क्रमितहरुको निको हुने दरमा बृद्धि भएर ९६.५६ प्रतिशत पुगेको छ । यो अवस्थाले यहाँको केन्द्र सरकार तथा राज्य तथा स्थानीय सरकारहरूलाई पनि शान्तिको सास फेर्न त दिएको छ तर पनि यो अवस्था भनेको महामारी सबै घटेको तथा सबै सङ्क्रमितहरु नै निको भएको अवस्था भने नभएको विज्ञहरुले चेतावनी दिएका छन् ।

उनीहरुले भनेका छन् कि– यसरी पछिल्ला दिनहरुमा सङ्क्रमितहरु घट्दै जाँदा अब सबै ठिक भयो भनेर सरकारहरुले प्रतिबन्धहरु सबै फुकुवा गर्ने र नागरिकहरुले पनि जनस्वास्थ्यका मापदण्डहरु पालना नै नगर्नु भने मूर्खता हुनेछ, यसले अर्को सङ्कटलाई निम्ता दिन सक्छ । 

यसको मतलब भारत हाल जारी नै रहेको यो दोस्रो लहर कति खतरनाक थियो, कति जना मानिसले सास फेर्न नपाएर अर्थात् अक्सिजन नै नभएर मृत्युवरण गर्नुपर्यो, चिकित्सकहरुले पनि कसरी आफैले र विरामीका लागि अक्सिजनको मात्रा आपूर्ति गर्न पाएनन् भन्ने कुरा भने सबैलाई छर्लङ्गै थाहा छ । अक्सिजन मात्र होइन कि आवश्यक औषधीहरु, अस्पतालका शय्या तथा अरु आवश्यक पूर्वाधारका लागि अस्पतालको उपलब्धता नै हुन नसकेको अवस्था पनि सबैलाई र खासगरी नीति निर्माताहरूलाई पनि थाहा नै छ । 

यो अवस्था आफूहरुले देखेकै भएकाले पनि अब आउन सक्ने सम्भावित तेस्रो लहरलाई  मध्यनजर गरेर हाल विज्ञहरुले गरेका अनुरोधहरुलाई खासमा यहाँको सरकारका प्रतिनिधि र नीति निर्माताहरुले बेवास्ता गरेको बताएका छन् । स्वास्थ्य विज्ञहरुले यस्तो चेतावनी दिँदा दिँदै पनि सरकारले विगतमा विभिन्न राज्यमा निर्वाचन गर्ने, कुम्भ मेलाजस्तो आम मानिसहरु जम्मा हुने कार्यक्रमलाई अनुमति दिने गरेकाले यो दोस्रो लहरको लागि बल पुर्याएको र अहिले पनि अब केही समयमै सरकारले यस्ता क्रियाकलापहरूलाई अनुमति दिनसक्ने भन्दै त्यसको विरोध गरिरहेका छन् ।   

सतर्कताका लागि आग्रह 

यता सङ्क्रमित घटेका समाचारहरु आउन थालेदेखि नै पछिल्लो समयमा यहाँका केन्द्रीय तथा स्थानीय सरकारहरुले प्रतिबन्ध हटाउने काममा उदार भएका छन् । जसका कारण यहाँका रेलमार्ग, होटल रेष्टुरेन्ट, सपिङ मलहरु आदिमा ठूलो भिडभाड लाग्न थालेको छ । नयाँ दिल्लीको रेल स्टेसनमा पनि हालैका दिनमा हजारौँ जनाको भिडभाड नै देखिन थालेको छ । सपिङ मलहरुको अवस्था त्यस्तै छ । यो देखेर पनि यहाँका जनस्वास्थ्य विज्ञहरुले अर्को लहरको सम्भावना झन् नजिकिँदै गरेको भनेर चेतावनी दिएका छन् । 

दिल्लीको उच्च अदालतले गत हप्ता मात्र पछिल्लो समयमा देखिएको यस्तै भिडभाडपछि जनस्वास्थ्यका मापदण्डहरु कडाइका साथ पालना गराउन सरकारका नाममा आदेश दिएको छ । सो अदालतले जनस्वास्थ्य विज्ञहरुले हाल देखाइरहेको सम्भावित तेस्रो लहरलाई रोक्नका लागि स्वास्थ्यका मापदण्डहरु पालना गराउने नै एकमात्र विकल्प देखिएको भन्दै सरकारका नाममा यो आदेश जारी गरेको थियो । यदि यी मापदण्डहरु पालना गराउन सकिएन भने मानिसहरुकै कारण  हामी धेरै ठूलो समस्यामा पर्नेछौँ पनि भनेको छ । 
अहिले त दिल्लीमा पनि व्यापार व्यवसाय खुलेको छ । जसका कारण ठूलो जनसङ्ख्या रहेको भारतका नागरिकहरुको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ । यो देखेर यहाँका चिकित्सकहरुले त भारतले दोस्रो भन्दा पनि तेस्रो लहरमा झन् ठूलो समस्या भोग्नुपर्ने अवस्था आउने बताइरहेका छन् । उनीहरुले मानिसहरुको बढ्दो जमघट नै ठूलो समस्या भएर आउने चेतावनी दिएका छन् ।

अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एआइएमएस) का निर्देशक रन्दिप गुलरियाले गत हप्ता भनेका थिए– भारतमा कोभिड १९ को तेस्रो लहर आगामी छदेखि आठ हप्तासम्ममा आउन सक्छ र यो दोस्रो लहरजत्तिकै र अझ त्यो भन्दा पनि बढी हुनसक्छ ।

 उनले गत हप्ता मात्र भनेका थिए– तेस्रो लहर आगामी छ देखि आठ हप्तासम्ममा आउन सक्छ र सामान्यतया त्यो भन्दा थोरै ढिला हुन पनि सक्छ । तर त्यसको आगमन भने हामीले अब गर्ने व्यवहार र आगामी दिनमा गरिने जनस्वास्थ्यका मापदण्डहरूको पालनाले पनि निर्धारण गर्नेछ ।  

उनले भनेका थिए– ‘हामीले पहिलो र दोस्रो लहरको महामारीबाट कति दुःख पायौँ भन्ने कुरा सबैले बुझ्नुपर्ने हो । हामीले त्यसबाट भएको जनधनको क्षतिबाट पनि धेरै सिक्नुपर्ने हो । तर पछिल्ला दिनहरुमा बढ्दो भिडभाड र सरकारले एकपछि अर्को गरी प्रतिबन्धहरु फुकाउँदै गएकोले विगतबाट हामीले पाठ सिक्यौँ जस्तो लाग्दैन । मलाई लाग्छ अब आउने सम्भावित तेस्रो लहरले हामीलाई अझ बढी क्षति दिनसक्छ भन्ने डर मलाई लागिरहेको छ ।’  

विश्व स्वास्थ्य संगठनको क्षेत्रीय अधिकारी प्रकाश नारायणको धारणा पनि त्यस्तै छ । उनले सङ्क्रमितहरुको सङ्ख्या केही घटेका समाचारहरु आउँदैमा युद्ध नै जितेजस्तो गरेर सरकारले पनि लकडाउन हटाउने र नागरिकहरु पनि हजारौँको सङ्ख्यामा सडकमा निस्किने गर्नु दुःखद छ भन्दै समयमै सतर्कता अपनाउन आग्रह पनि गरे ।

सुस्त खोप अभियान 

हुनत भारतको जनसङ्ख्या पनि यहाँको कोरोना विरुद्धको खोप अभियानका लागि एक चुनौती नै हो । भारतको स्वास्थ्यसँग सम्बन्धित एक थिंक ट्याङ्क संस्था नेशनल इन्स्टिच्युट फर ट्रान्सफर्मिङ् इन्डियाका सदस्य भि के पाउलले कोरोना विरुद्धको खोपले ९४ प्रतिशतसम्म सुरक्षा दिएको अनुसन्धानले देखाएको बताउँछन् । साथै कोरोनाको खोप दिएपछि यसका सङ्क्रमितहरुमध्ये कम्तीमा पनि ७८ देखि ८० प्रतिशत मानिसलाई अस्पताल भर्ना गर्नु नपर्ने देखिएको पनि उनले बताए ।

भारतमा यसैवर्षको जनवरी १६ देखि कोरोना विरुद्धको खोप लगाउने अभियान सञ्चालन गरिएको हो । तर अहिलेसम्ममा यहाँका जम्मा पाँच करोड वयस्क मानिसलाई मात्र दुवै मात्रा खोप दिइएको छ । खोपको दुवै मात्रा लिने यो सङ्ख्या भारतको वयस्क उमेरको जम्मा पाँच प्रतिशत मात्र हुन आउँछ । यो भारतको स्वास्थ्य मन्त्रालयकै तथ्याङ्क हो । सो मन्त्रालयले जनाएअनुसार तर देशव्यापी रुपमा २९ करोड ४० लाख मानिसलाई पहिलो मात्रा मात्र खोप दिइएको छ । 

उता भारतले यसै वर्षको अन्त्यसम्ममा देशका सबै नागरिकलाई खोप दिइसक्ने लक्ष्य भने लिएको छ । तर सरकारको खोप अभियानको अहिलेको गति अति सुस्त भएकोले विज्ञहरुले त्यो सम्भव देखेका छैनन् । उनीहरुका अनुसार यदि सरकारले यो लक्ष्य पूरा गर्ने हो भने यहाँ हरेक दिन कम्तीमा पनि १० लाख मानिसलाई खोप लगाउनुपर्छ । (अनुवाद– एकराज पाठक) सिन्ह्वा/रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप