शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यूरोकप समूह चरण : यी हुन् सर्वाधिक चर्चित घटनाक्रम

बिहीबार, १० असार २०७८, १३ : १३
बिहीबार, १० असार २०७८

यूरो २०२० को समूह चरणका खेलहरु सकिएका छन् । समूह चरण पछि नकआउट चरणमा भिड्नका लागि १६ टोली तम्तयार छन् । यसपटक समूह चरणका खेलहरु निकै रोचक रहे । यहाँ समूह चरणमा भएका केही महत्त्वपूर्ण घटनाक्रमहरु प्रस्तुत गरिएका छन् ।

मैदानमै ढले एरिक्सन

यो प्रतियोगिताको सुरुवात केही नमिठो भयो ।  फिनल्यान्डविरुद्धको खेलको ४२ औं मिनेटमा थ्रो ईन रिसिभ गर्ने क्रममा डेनमार्कका स्टार खेलाडी क्रिस्टियन एरिक्सन मैदानमै ढले, उनलाई तत्कालै उपचारका लागि अस्पताल लगियो । डेनमार्क र फिनल्याण्ड दुबै टिमका समर्थकहरुले एक्सिनको समर्थनमा हुटिङ गरिरहे, विश्वभरबाट उनको स्वास्थको प्रार्थना गरियो ।  अस्पतालमा उनको स्वास्थ्य स्थिर बनेको खबर सुनेपछि मात्रै दुबै टिमका खेलाडी खेल्नका लागि तयार भए । कोपेनहेगनमा यो खेल डेनमार्कले १–० ले गुमायो । एरिक्सनलाई कार्डियाक एरेस्ट भएको रहेछ, भोलिपल्ट एक डेनिस पत्रिकाको फ्रन्टपेजमा हेडलाईन थियो, ‘डेनमार्क हा¥यो, तर एउटा जीवन बँच्यो ।’

रोनाल्डोले हटाए कोकको बोतल

रोनाल्डोका लागि यो युरोकप अविस्मरणीय रह्यो । उनले समूह चरणकै ३ खेलमा पाँच गोल गरिसकेका छन् । पोर्चुगाली कप्तानले हंगेरीविरुद्धको पहिलो खेलमै २ गोल गरेर ६ वटा रेकर्ड तोडेका थिए । युरोकपको इतिहासमै सर्वाधिक ५ संस्करण खेल्ने, सर्वाधिक गोल गर्ने, सर्वाधिक १२ खेल जित्ने, ५ संस्करणमा गोल गर्नेलगायत कीर्तिमान अब उनको नाममा लेखिएका छन् । तर, उनको सर्वाधिक चर्चा खेल मैदान भित्रभन्दा बाहिरको एक्सनबाट भयो । खेलअघिको पत्रकार सम्मेलनमा रोनाल्डोले कोकको बोतल हटाउँदै पानीको बोतल उठाएका थिए । रोनाल्डोले पानी पिउन प्रेरित गरेको यो भिडियो भाइरल भयो ।

​भोलिपल्ट अर्को खबर आयो – रोनाल्डोले बोतल हटाएपछि कोकको बजार मूल्य २ सय ४२ अर्ब अमेरिकी डलरबाट झरेर २ सय ३८ अर्ब डलरमा पुग्यो । अर्थात्, रोनाल्डोको यो कदमपछि कम्पनीलाई ४ अर्ब डलर घाटा भयो । रोनाल्डो आफ्नो फिटनेसमा निकै ख्याल राख्छन्, त्यहीकारण उनी ३६ वर्षको उमेरमा पनि फिट छन् । उनी जंक फुड र सफ्ट ड्रिङक्सबाट टाढै रहन्छन् । गत डिसेम्बरमा एक अन्तर्वार्तामा उनले भनेका थिए, ‘मेरो छोराले कोक पिउँदा म हैरान हुन्छु । उसलाई पनि यो थाहा छ ।’

रोचक कुरा, रोनाल्डोपछि फ्रान्सका पाउल पोग्बाले पनि हेनिकेन बियरको बोतल हटाए, उनी मुस्लिम धर्मका अनुयायी हुन् । धार्मिक कारण देखाउँदै उनले बोतल हटाएका थिए, त्यसपछि अर्को खेलमा इटलीका म्यानुअल लोकाटोल्लीले पनि बोतल हटाए । यता, जितको खुसीमा युक्रेनका कप्तान आन्द्रे यार्मोलेन्कोले रोनाल्डोलाई जिस्क्याउँदै बियर र कोकको बोतल अगाडि राखे । उनले हाँस्दै भने, ‘रोनाल्डोले यी बोतल हटाएका थिए । यस यसलाई यहाँ अगाडि राख्छु । मलाई सम्पर्क गर्नुस् ।’ कोकको बोतल हटाउने लहर नै चलेपछि प्रतियोगिताका आयोजकले खेलाडीहरुलाई प्रायोजकको बोतल नहटाउन चेतावनी नै जारी गर्नु परेको थियो ।

युरो २०१६ र विश्वकपको रि–म्याच

यसपटक एउटा खेलले युरो २०१६ र अर्को खेलले विश्वकप २०१८ को झल्को दिए । पोर्चुगल र फ्रान्स युरो २०१६ को फाइनलमा भिडेका थिए, जहाँ फ्रान्स १–० ले पराजित भएको थियो । यसपटक यी दुई टोली समूह एफमा परेका थिए । दुईबीचको प्रतिस्पर्धा २–२ गोलको बराबरीमै टुंगियो ।

त्यस्तै इङ्ल्यान्ड र क्रोयशिया समूह डिमा परेका थिए । यी दुई टोलीबीच विश्वकप २०१८ को सेमिफाइनलमा भिडन्त भएको थियो । त्यतिबेला १–१ गोलको बराबरीपछि अतिरिक्त समयमा क्रोयशियाले २–१ ले बाजी मारेको थियो । यसपटक बेम्बलीमा इङ्ल्यान्डले १–० ले खेल जित्दै मिठो बदला लियो ।

इटली र नेदरल्यान्ड्सको शानदार कमब्याक

पछिल्ला केही वर्ष इटली र नेदरल्यान्ड्सको प्रदर्शन कमजोर थियो । तीनपटक विश्वकपको फाइनल खेलेको नेदरल्यान्डस् युरो २०१६ र विश्वकप २०१८ मा छनोट हुन असफल भएको थियो । यता, तीनपटकको विश्व विजेता इटली पनि विश्वकप २०१८ मा छनोट भएको थिएन । तर, यसपटक यी दुबै टिमको कमब्याक शानदार रह्यो । इटलीले र नेदरल्यान्डस् दुबैले समूह चरणका सबै तीन खेल जिते । समूह चरणमा सबै तीन खेल जित्ने अर्को टोली बेल्जियम हो ।

हंगेरी र स्कटल्यान्डको बहादुरी

जारी प्रतियोगितामा समूह चरणमा केही अप्रत्यासित नतिजा निस्किए । त्यस मध्येको सबैभन्दा अप्रत्यासित नतिजा फ्रान्स र हंगेरीबीचको थियो । हंगेरीले बुडापेस्टस्थित घरेलु मैदानमा विश्वविजेता फ्रान्सलाई १–१ गोलको बराबरीमा रोक्यो । आफ्नो अन्तिम खेलमा हंगेरीले जर्मनीविरुद्ध दुईपटक अग्रता लिएको थियो, तर अन्तिम केही समय सम्हालिन नसक्दा बराबरीमै चित्त बुझाउनुपर्‍यो र पहिलो चरणबाटै बाहिरियो । हंगेरीको यो उच्चस्तरको प्रदर्शनको धेरैले प्रशंसा गरेका छन् । यस्तै, नतिजा बेलायतका दुई टिम इङ्ग्ल्यान्ड र स्कटल्यान्डबीचको खेलमा पनि आयो । इङ्ग्ल्यान्डलाई उसैको घरेलु मैदान वेम्बलीमा स्कटल्यान्डले गोलरहित बराबरीमा रोक्यो । यता, तीनपटकको विजेता स्पेन घरेलु मैदान सेभियामा पोल्यान्डसँग १–१ गोलको बराबरीमै रोकियो ।

डेनमार्कको दन्त्यकथाजस्तो यात्रा

डेनमार्कको यात्रा भने थ्रिलर फिल्मजस्तै रह्यो । इरिक्सन ढलेको रात फिनल्यान्डसँग १–० ले पराजित भएको डेनमार्क दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी बेल्जियमको हातबाट पराजित भयो । यसपछि डेनमार्कको यात्रा अनिश्चयको घेरामा थियो । तर, अन्तिम खेलमा रुसलाई ४–१ ले हराएर डेनमार्कले समूह चरणमा दोस्रो हुँदै अन्तिम १६ को यात्रा ग¥यो । कोपेनहेगनस्थित जुन मैदानमा इरिक्सन नौ दिनअघि ढलेका थिए, त्यही मैदानमा डेनमार्कले सनसनीपूर्ण रुपमा खेल जित्यो ।

डेनमार्कका महान् साहित्यकार हान्स क्रिष्ट्रियन एन्डरसन विशेषगरी दन्त्यकथाका लागि लोकप्रिय छन् ।  खेलको अन्तिम सिट्ठी बज्नासाथ बीबीसीका

कमेन्टेटरले भने,‘हान्सको भूमिमा लेखिएको यो अर्काे सनसनीपूर्ण कथा हो । वियोगान्त त्रासदीपछिको पूर्ण, पूर्णतः आनन्द ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप