बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगर महानगरको बजेट ४ अर्ब १० करोड ३ लाख, कस्ता योजना समेटिए ?

बिहीबार, १० असार २०७८, १४ : १६
बिहीबार, १० असार २०७८

विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको राजश्व तथा व्ययको अनुमान प्रस्तुत गरेको छ ।

विराटनगर महानगरपालिकाको आठौं नगरसभामा बिहीबार उपप्रमुख इन्दिरा कार्कीले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी हुन् । महानगरले अघिल्लो वर्षकै हाराहारीको बजेट ल्याएको छ ।

आगामी वर्ष कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ ४६ करोड ७० लाख ५२ हजार ९२५, पुँजीगत तर्फ ३ अरब ५८ करोड ३२ लाख ८५ हजार र वित्तीय व्यवस्था तर्फ ५ करोड रुपैयाँ खर्च हुने महानगरले अनुमान गरेको छ । कार्यालय सञ्चालन तर्फ कुल बजेटको ११ प्रतिशत र पुँजीगत तर्फ ८९ प्रतिशत रहको प्रस्तुत बजेटमा उल्लेख छ ।

महानगरले अन्तरसरकारी वित्तीय हस्तान्तरण मार्फत संघीय सरकारबाट १ अर्ब १९ करोड ५३ लाख, प्रदेश सरकारबाट ४ करोड ९० लाख १५ हजार, राजश्व बाँडफाँडबाट १ अर्ब एक करोड ४७ लाख ८३ हजार, आन्तरिक आम्दानीबाट ८३ करोड ९ लाख २५ हजार, अन्य अनुदान तथा ऋणबाट ७० करोड ५५ लाख ८ हजार ५००, संघसंस्थाबाट १ करोड ४४ लाख, जनसहभागिता बाट १० करोड आम्दानी हुने अनुमान नगरसभामा प्रस्तुत गरेको छ ।

प्रस्तुत बजेटमा पुँजीगत खर्चमध्ये पूर्वाधार विकास क्षेत्रमा २ अर्ब ४ करोड ३९ लाख ४८ हजार, आर्थिक विकास क्षेत्रमा १७ करोड ८७ लाख, सामाजिक विकास क्षेत्रमा १ अरब २६ करोड ६९ लाख, सुशासन तथा वातावरण क्षेत्रमा ९ करोड ३७ लाख ५० हजार खर्च हुने अनुमान गरेको छ ।

कस्ता योजना समेटिए

महानगरले वडास्तरीय आयोजनाहरुमा २६ करोड ७८ लाख, नगरस्तरीय गौरवको आयोजनामा १७ करोड ३८ लाख, वीरेन्द्र सभागृह निर्माणका लागि १९ करोड ५० लाख, ल्याण्डफिल्ड साइड,अन्तराष्ट्रिय सभाहलका लागि जग्गा खरिदका लागि १५ करोड विनियोजन गरेको छ । यस्तै विराट राजाको दरवार क्षेत्रका लागि ५ करोड,सन्ध्याकाल आरतीका लागि २ करोड, हिमालय रोड निर्माण गर्न ३ करोड, महानगर आवास योजनाका लागि ९० लाख, फोहोर पानी प्रशोधन केन्द्रका लागि २ करोड, फ्लाई ओभरका निर्माणका लागि २ करोड ४५ लाख, प्रधानमन्त्री पार्कका लागि ५ करोड र अन्य नगरस्तरीय आयोजनाका लागि ४० करोड रुपैयाँ विनियोजन गरेको छ ।

महानगरले क्रमागत योजनाको भुक्तानीका लागि २५ करोड ३५ लाख, शिक्षातर्फ ५५ करोड ७७ लाख, युवा तथा खेलकुदतर्फ १ करोड ६१ लाख, स्वास्थ्य तर्फ १८ करोड १ लाख र विपद् व्यवस्थापन तर्फ ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

त्रिवर्षीय मध्यकालीन खर्चको अवस्था

नगरसभामा त्रिवर्षीय मध्यकालीन खर्च संरचना अन्तरगत आगामी तीन वर्षको खर्चको अनुमान पनि पेश गरेको छ । महानगरले आर्थिक वर्ष २०७९÷८० मा ४ अर्ब ३७ करोड र आर्थिक वर्ष २०८०÷८१ मा ४ अर्ब ७३ करोडको आयव्ययको अनुमान गरेको छ ।

पछिल्लो चार वर्षको उपलब्धिहरूको समीक्षा गर्दै महानगरले पूर्वाधार क्षेत्रमा उल्लेख्य प्रगति गरेको जनाएको छ । दातृ निकायको ऋण सहयोगमा सञ्चालित दुई ठूला परियोजना सम्पन्न गरी ६२८ किलोमिटर नाला, ७९ किलोमिटर ढल प्रणाली, २ हजार २३३ वटा हाउस कनेक्सन, ५९ किलोमिटर फुटपाथ सहितको पिच सडक, ४१ किलोमिटर सडक सुधारको काम सम्पन्न गरेको महानगरले जनाएको छ ।

पछिल्लो चार वर्षमा पूर्वाधार विकास महाशाखाबाट ११ किलोमिटर कालोपत्रे सडक, ७४ किलोमिटर ग्राभेल, ६४ किलोमिटर रिटेनिङ वाल, ५४ किलोमिटर सडक नाला निर्माण गरेको, २०९ वटा भवन र १०० वटा कल्भर्ट बनाएको, चार वटा मसानघाट र ७ वटा सार्वजनिक शौचालय निर्माण गरेको, दुई वटा खेलमैदान सुधार गरेको महानगरले जनाएको छ ।

महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष ४ अर्ब २३ करोड ३ लाख रुपैयाँको आय अनुमान गरेकोमा पछिल्लो १० महिनामा १ अर्ब ४४ करोड ९९ लाख रुपैयाँ मात्र यथार्थ आम्दानी गरेको छ । यस अवधिमा ३ अर्ब ६३ करोड पुँजीगत खर्च हुने अनुमान गरेको भएपनि ८८ करोड मात्र खर्च गर्न सकेको छ । महानगरले ९५ करोड आन्तरिक आम्दानी हुने अनुमान गरेको भएपनि पछिल्लो १० महिनाको अवधिमा ३१ करोड ३८ लाख रुपैयाँ मात्र आम्दानी गरेको छ ।

महानगरले आगामी वर्ष हामी सबैको रहर, शिक्षित, सफा सुन्दर, सुरक्षित र सक्षम विराटनगर भन्ने नारासहित नगर विकासको योजना कार्यान्वयन गर्ने लक्ष्य लिएको छ । त्यसका लागि सुशासनमा सुधार ल्याउने, वातावरण संरक्षण र सुरक्षा प्रवद्र्धन, वालश्रममुक्त वडा घोषणा गर्ने, नगरस्तरीय खेलकुद विकास समिति गठन गर्ने र खेल प्रतियोगिताहरु सञ्चालन गर्ने, जनस्वास्थ्यलाई ध्यान दिँदै महिला तथा जेष्ठ नागरिक र बाल बालिकाको स्वास्थ्यक क्षेत्रमा विशेष योगदान दिने जस्ता कार्यक्रम अगाडि सारेको उल्लेख छ ।

महानगरले २० लाख रुपैयाँ भन्दा बढीका योजनाहरु ठेक्का मार्फत सञ्चालन गर्ने, चालु तथा क्रमागत योजनाहरुलाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्ने जस्ता योजनाहरु अगाडि सारेको छ ।

महानगरले नगरसभामा आर्थिक ऐन २०६८ पेश गरी राजश्व तथा कर दरहरुको पुनरावलोकन गरी संशोधनको प्रस्ताव पनि गरेको छ ।

चुनावी घोषणा पत्रमा समेटिएका सबै कार्यक्रम अलपत्र

चार वर्षअघि मेयरको उम्मेदवार हुँदा उनले धेरै कार्यक्रमलाई समेटेर चुनावी एजेन्डाका रुपमा प्रस्तुत गरेका थिए । तर चार वर्षको कार्यकाल सम्पन्न भइरहँदा मेयर पराजुलीले नगरवासीसँग गरेको चुनावी प्रतिबद्धता अहिलेसम्म पुरा गर्न सकेका छैनन् ।

मेयर पराजुलीले निकै महत्वको साथ उठाएको पहिलो प्रतिबद्धता विराटनगरलाई विशेष आर्थिक क्षेत्र बनाउने कुरा नै अहिलेसम्म अलपत्र अवस्थामा छ । त्यसका लागि महानगरले तयार गर्ने कुनैपनि आर्थिक बर्षको बजेटले समेटन सकेको छैन ।

विराटनगरलाई आर्थिक क्षेत्र बनाउने र रोजगारीको वातावरण सिर्जना गर्ने योजना मेयर पराजुलीले अघि सारेका थिए । त्यसैगरी बन्द रहेको पुरानो जुट मिल सञ्चालनमा ल्याइने उनको दोश्रो चुनावी एजेण्डा रहेको थियो ।

 

मुलुककै जेठो जुट मिलपनि अहिलेसम्म बन्दकै अवस्थामा रहेको छ । त्यसलाई खुलाउने र सञ्चालन गर्ने मेयरको एजेण्डा नारामा मात्र सीमित बनेको छ । मेयर पराजुलीले  सो समयमा बन्द अवस्थामा रहेको जुट मिल सञ्चालन गरी दश हजारलाई रोजगारीको अवसर प्रदान गर्ने बताएका थिए।

विराटनगर रंगशालालाई अन्तर्राष्ट्रियस्तरको रंगशालाको रुपमा विकास गरिने, सिंगिया र केसलिया खोलामा ड्याम बनाएर पर्यटकीय क्षेत्र बनाइने लगायतका उनका नारापनि भाषणमा मात्र सीमित भएका छन् । मेयरले योजना बनाएरपनि अहिले ती कार्यान्वयनको चरणमा प्रवेश समेत पाएका छैनन् ।

त्यसैगरी कोशी अस्पताललाई क्षेत्रीय अस्पतालसँगै मेडिकल कलेजमा स्तरोन्नति गरिने, कार्यक्रमपनि अघि बढ्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप