शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडा उपमहानगरपालिकाद्वारा २ अर्ब ६० करोडको बजेट प्रस्तुत (पूर्णपाठसहित)

बिहीबार, १० असार २०७८, १५ : १६
बिहीबार, १० असार २०७८

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि २ अर्ब ६० करोड १५ लाख ५२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

उपमहानगरपालिकाको आज बसेको ९ औं नगरसभामा उपमेयर मिनाकुमारी लामाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी हुन् ।

हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालू आर्थिक वर्षको भन्दा ६ करोड ७६ लाख रुपैयाँ बढी बजेट प्रस्तुत गरेको छ ।

हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि आर्थिक विकास क्षेत्रभित्रका समग्र योजनाका लागि १२ करोड ९८ लाख रुपैयाँ, सामाजिक विकास अन्तर्गत स्वास्थ्य तर्फको सशर्त र आन्तरिक बजेट तर्फको कार्यक्रम संचालनका लागि ८ करोड ७६ लाख १० हजार रुपैयाँ, खेलकूद तथा मनोरञ्जन तर्फ ३ करोड ७२ लाख ८० हजार रुपैयाँ, लैंगिक समानता तथा सामाजिक समावेशीकरण कार्यक्रम संचालनका लागि ३ करोड ७ लाख रुपैयाँ, विपद् व्यवस्थापन र वाताबरण संरक्षण कार्यक्रमका ५ करोड ४४ लाख २२ हजार रुपैयाँ, शिक्षा तर्फको सशर्त र आन्तरिक बजेट तर्फको  कार्यक्रम संचालनका लागि ६३ करोड ९२ लाख ९९ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि भौतिक पूर्वाधार विकास तर्फ एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माणका लागि क्रमागत योजना अन्तर्गत १४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

हेटौंडा ४ मा निर्माण हुने बहुवर्षीय योजना अन्तर्गत बहुउद्देश्यीय व्यापारिक भवन निर्माण काय प्रारम्भ गन १५ करोड, बृहत्तर चक्रपथ निर्माणका लागि ३ करोड विनियोजन गरिएको छ ।

स्वच्छ खानेपानी वितरण कार्यक्रमको लागि १ करोड ५० लाख रुपैयाँ, वडा तथा बस्ती स्तरीय पूर्वाधार योजनाको लागि ३२ करोड ७० लाख रुपैया विनियोजन गरिएको छ ।

उर्जा, सडक बत्ति, आवास व्यबस्था, जलश्रोत सिंचाई लगायत नगर स्तरीय पूर्वाधार आयोजना संचालनका लागि १ अर्ब ३० करोड ४५ लाख ७६ हजार विनियोजन गरिएको छ ।

प्रादेशिक थोक फलफूल तथा तरकारी बजार केन्द्र निर्माणका लागि ३ करोड रुपैया, कृषि र पशुपंक्षी विकास कार्यक्रमका लागि क्रमशः २ करोड २४ लाख ५० हजार र वित्तीय क्षेत्रका कार्यक्रमको लागि १ करोड २७ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

गुम्बाडाँडा, कुष्माण्ड सरोवर त्रिवेणीधाम, टोनी हेगन पार्क,जुरेथुम पर्यटकीय पार्कका लगायत निर्माणका लागि २ करोड १९ लाख   विनियोजन गरिएको छ ।

शिक्षक स्वर्णिम अवकास योजनाका लागि ५० लाख, दिवा खाजा कार्यक्रमका लागि विद्यालय अनुदानका लागि २ करोड ९८ लाख १ हजार रुपैयाँ, निःशुल्क पाठ्यपुस्तक अनुदानको लागि १ करोड ६३ लाख ६१ हजार रुपैयाँ, छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड वितरणका लागि ७९ लाख ५२ हजार, विशेष विद्यालयको क्रमागत भवनको लागि १ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण र उपचारको लागि आबस्यक रकमको व्यवस्था गरिएको र स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति र उपकरण सहित नगर शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना तथा सञ्चालनका लागि २ करोड १० लाख रुपैयाँ डाइलासिस मेसिन खरीद, प्लाजमा उत्पादनको लागि उपकरण र स्वास्थ्य उपकरणहरु खरिदका लागि ५५ लाख रुपैयाँ गर्भवती उत्प्रेरणा सेवा, न्यानो झोला र निःशुल्क गर्भपतन कार्यक्रमका लागि ८८ लाख ८४ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि आन्तरिक स्रोतबाट २४ करोड ३८ लाख ७५ हजार रुपैयाँ, राजस्व बाँडफाँडबाट ५६ करोड ८ लाख ८१ हजार रुपैयाँ, प्रदेश सरकारको अनुदानबाट १२ करोड ६६ लाख ९६ हजार रुपैयाँ, संघीय सरकारको अनुदानबाट १ अर्ब २ करोड १ लाख रुपैया, नगर विकास कोषको ऋण अनुदानबाट ९ करोड रुपैयाँ र गत वर्षको नगद मौज्दातबाट ५६ करोड रुपैयाँ खर्च व्यहोर्ने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप