शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सन्तोषी सुब्बा हत्या प्रकरण : यसरी भयो हत्या, यसरी पक्राउ परे आरोपी

बिहीबार, १० असार २०७८, १७ : ०५
बिहीबार, १० असार २०७८

दक्षिणकालीमा मंगलबार बिहान मृत अवस्थामा भेटिएकी सन्तोषी सुब्बाको हत्या आरोपीले प्रहरीसमक्ष आफ्नो अपराध कबुल गरेका छन् । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढीका २९ वर्षीय सुरेश तिमिल्सिनाले सन्तोषीको हत्या गरेको स्वीकार गरेका हुन् ।

असार ६ गते आइतबार साँझ ७ देखि ८ बजेको बीचमा सन्तोषीको हत्या भएको थियो । यौनसम्बन्ध राख्न नदिएपछि सन्तोषीको हत्या गरेको आरोपीले बयान दिएका छन् ।

यसरी भयो सन्तोषीको हत्या

सन्तोषी असार ५ गते शनिवार दक्षिणकाली पुगेकी थिइन् । त्यसदिन उनले त्यहीँको एक होटलमा बास मागेर बसेकी थिइन् । असार ६ गते आइतबार बिहानै उनी दक्षिणकालीमा रहेको एक चिया पसलमा चिया खान पुगिन् । सन्तोषी चिया खान पुगेकी पसलमा त्यो भन्दा पहिले नै सिन्धुपाल्चोकका सुरेश तिमिल्सिना लगायतका केही व्यक्तिहरु मदिरा सेवन गरेर बसिरहेका थिए । सन्तोषीले आफू विभिन्न चरा र जनावरको आवाज निकाल्ने युटुबमा भाइरल सन्तोषी सुब्बा रहेको भन्दै परिचय दिएकी थिइन् । त्यसैक्रममा सुरेश र सन्तोषीबीच चिनजान भएको थियो ।

चिनजान भएपछि सन्तोषी पनि दिनभर त्यही भट्टी पसलमा बसेर खाजा खाएकी थिइन् । सुरेशले सन्तोषीलाई खाजा खुवाएको प्रहरीले बताएको छ ।

साँझपख सन्तोषीले राती बस्नका लागि बास खोजिदिन सुरेशलाई आग्रह गरेकी थिइन् । त्यसपछि सुरेशले आफ्नो गाडीमै सुत्दा हुन्छ भनेर सन्तोषीलाई फकाएका थिए । सन्तोषी पनि सुरेशले भनेको गाडीमै बस्नका लागि राजी भएकी थिइन् ।

साँझ ६ बजेतिर सुरेश र सन्तोषी भट्टी पसलबाट दक्षिणकालीतर्फ गएका थिए । जङ्गलको छेउमा पुगेपछि साँझ करिब ७ बजेतिर सुरेशले सन्तोषीसँग यौन सम्बन्ध स्थापित गर्न खोजेको प्रहरीको दाबी छ । तर सन्तोषीले यौनसम्बन्ध राख्न अस्वीकार गरेपछि सुरेश र सन्तोषीबीच घम्साघम्सी भएको पाइएको छ । सन्तोषीले यौनसम्बन्ध राख्न नमानी प्रतिकार गरी चिच्याउन थालेपछि सुरेशले सन्तोषीमाथि हातपात गरे । सुरेशको हातमा पनि चोट लाग्यो ।

तर सन्तोषीले बलात्कारको प्रयासबारे अरुलाई भनिदिने डरका कारण सुरेशले सन्तोषीलाई मार्ने निर्णय गरे । त्यसपछि सुरेशले सन्तोषीले लगाइरहेको सलले घाँटी कसेर उनको हत्या गरे । हत्या गरेपछि उनले सन्तोषीलाई कसैले नचिनोस् भनेर ढुङ्गाले पटकपटक अनुहारमा प्रहार गरेर क्षतिविक्षत बनाएका थिए ।

त्यसपछि सन्तोषीको शव पिकनिक स्पट नजिकै रहेको पुरानो शौचालयमा पुराएर सुरेश त्यहाँबाट भागेका थिए । दक्षिणकाली चोकमा आएर केही समय बसेपछि उनले आफ्नी आमा सिकिस्त बिरामी भएको भन्दै त्यहाँका एक स्थानीयलाई ट्याक्सी बोलाइदिन आग्रह गरे । स्थानीयले ट्याक्सी बोलाइदिएपछि उनी २ हजार रुपैयाँ तिरेर राती ९ बजे दक्षिणकालीबाट असन आएका थिए ।

प्रहरीका अनुसार ट्याक्सी खोज्ने बेलामा उनले आमा सिकिस्त भएको भनेपनि ट्याक्सी चालकलाई भने आफ्नो बुवा बिरामी भएको बताएका थिए । ट्याक्सी चढ्ने क्रममा पनि उनी हतास र आत्तिएको अवस्थामा भेटिएका थिए ।

असार ६ गते साँझ सन्तोषीको हत्या गरेपछि उनी असन कमलाछीमा रहेको साथीको कोठामा गएर बसेका थिए । मंगलबार सन्तोषीको शव भेटिएपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको थियो । मंगलबार र बुधबार मृतकको पहिचानकै लागि समय खर्चिएको प्रहरीले बिहीबार पहिचान गरेसँगै हत्या आरोपीबारे खोजी भएको थियो ।

मृतक महिला युटुबमा भाइरल सन्तोषी भन्ने थाहा पाएलगत्तै प्रहरीले घटनास्थल वरपरका स्थानीयसँग सोधपुछ गरेको थियो । सोधपुछका क्रममा सन्तोषी असार ६ गते दिनभर एक खाजा पसलमा बसेर सुरेश लगायतका केही युवासँगै खाजा खाएको पत्ता लागेपछि प्रहरीले ती युवकको खोजी गरेको थियो ।

खोजीका क्रममा सुरेश घटना भएको दिनपछि दक्षिणकाली छाडेर भागेको जानकारी आएपछि प्रहरीले सुरेशलाई शंकितको सूचीमा राखेको थियो । प्रहरीले बिहीबार फोन गरी सुरेशसँग कुराकानी गर्दा आफू असार ६ गते आइतबार साँझ ५ बजे नै दक्षिणकालीबाट निस्किएको जवाफ दिएका थिए । जबकि प्रहरीले सोधपुछका क्रममा सुरेश आइतबार राति ९ बजे मात्रै दक्षिणकालीबाट ट्याक्सी चढेर गएको पत्ता लगाएको थियो ।

सुरेशले प्रहरीसँग कुराकानी गर्दा सुरुमै ढाँटेपछि प्रहरीलाई सुरेशमाथि झनै शंका बढ्यो । सुरेशले केही समयमै आफ्नो मोबाइलको स्वीचसमेत अफ गरेपछि प्रहरी सुरेशको कल डिटेल, लोकेशन लगायतको प्राविधिक विश्लेषण गर्दै सुरेश बसेको कोठामै पुगेको थियो ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सुरेशले असनस्थित उनका साथीको कोठाबाट बिहीबार साँझ ६ बजे पक्राउ गरेको थियो ।

सुरुमा आफ्नो अपराधबारे इन्कार गरेका सुरेशले पछि घटनाको बेलीबिस्तार लगाउँदै आफ्नो कर्तुत प्रहरीसमक्ष स्वीकार गरेका थिए । सुरुमा सँगै बस्ने सहमति भएर गएको तर सन्तोषीले यौनसम्बन्ध राख्न नदिएपछि घम्साघम्सी भएको र त्यो कुरा बाहिर आउने डरले आफूले उनको हत्या गरेको बयान दिएका थिए ।

बलात्कार गरेँ कि गरिन थाहा छैन : हत्या आरोपी

सन्तोषीको हत्या आफूले गरेको स्वीकार गरेको भएपनि आफूले बलात्कार गरेको वा नगरेको थाहा नभएको आरोपीले प्रहरीलाई बताएका छन् । उक्त दिन आफूले अत्याधिक मदिरा सेवन गरेको कारण आफूले बलात्कार गरें कि गरिन थाहा नभएको भन्ने बयान दिएको महानगरीय अपराध महाशाखाका एसपी कृष्ण पंगेनीले रातोपाटीलाई बताए ।

यद्यपि आरोपीले घटनापछि आफूले पाइन्ट खोलिसकेको अवस्थामा पाएको र पाइन्ट लगाएको मात्रै थाहा भएको बताएका छन् । प्रहरीका अनुसार सन्तोषीमाथि बलात्कार भएको हो कि होइन भनेर परीक्षण गर्नका लागि भेजाइनल स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ । त्यसपछि मात्रै बलात्कार भएको हो वा होइन भन्ने जानकारी आउने प्रहरीले बताएको छ । प्रहरीले मृतक सन्तोषीको सलमा भने कटकटिएको अवस्थामा सेतोपदार्थ फेला पारेको छ । उक्त सेतोपदार्थ आरोपीको वीर्य हुनसक्ने प्रहरीको अनुमान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप