शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

धनगढीमा १ अर्ब, ८१ करोड बढीको बजेट पारित

बिहीबार, १० असार २०७८, १८ : ४०
बिहीबार, १० असार २०७८

धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति, कार्यक्रम तथा बजेट नगरसभाबाट पारित भएको छ । उपमहानगरपालिकाको बिहीबारको नगरसभा बैठकले आगामी आर्थिक वर्षको एक अर्ब ८१ करोड २८ लाख २२ हजार एक सय रुपैयाँको बजेट पास गरेको हो । चालूतर्फ एक अरब दुई करोड ८० लाख ७० हजार र पुँजीगततर्फ ७८ करोड ४७ लाख ५१ हजार प्रस्ताव गरिएको छ । 

धनगढीले कोभिड १९ व्यवस्थापन, स्वास्थ्य, सरसफाई र विपद व्यवस्थापन, कृषि, शिक्षा तथा रोजगारी, पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ । उपमहानगरपालिकाले वार्षिक नीति, कार्यक्रम तथा बजेट असार ८ गते नगरसभामा पेश गरेको थियो ।

टीकापुरको बजेट ७५ करोड ८९ लाख 

टीकापुर नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि ७५ करोड ८८ लाख ९५ हजारको बजेट ल्याएको छ । बिहीबार नगरसभामा उपप्रमुख केशरी रावल विष्टले चालूतर्फ ४९ करोड ३३ लाख ६७ हजार र पूँजीगत तर्फ २६ करोड ५५ लाख २८ हजार व्यय अनुमान प्रस्तुत गरिन् ।

उनले आन्तरिक आयबाट छ करोड ७२ लाख पाँच हजार, संघ र प्रदेशबाट राजश्व बाँडफाँटबाट १६ करोड ६३ लाख ५४ हजार, संघ, प्रदेशबाट अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ५१ करोड ३ लाख ३६ हजार र चालु वर्षको बजेट बचतबाट एक करोड ५० लाख आय अनुमान गरेको छ । 

टीकापुर नगरपालिकाले पनि स्वास्थ्यलाई प्राथमिकतामा राख्दै कोभिड–१९ रोकथामका लागि ६१ लाख ८७ हजार र अन्य स्वास्थ्य कार्यक्रमका लागि ८२ लाख बजेट छुट्टयाएको छ । शहरी स्वास्थ्य केन्द्र स्थापना गर्न बाँकी वडा नं १ र ८ मा शहरी स्वास्थ्य केन्द्र स्थापना गर्न बजेट विनियोजन गरिएको उपप्रमुख विष्टले बताइन् । उनले टीकापुर अस्पतालमा बालरोग, स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा र निःशुल्क रक्तसञ्चार सेवा ग्रामिण अल्ट्रासाउण्ड, पूर्ण खोप सुनिश्चित, आमासँग उपमेयर, हाम्री छोरी प्यारी छोरी कार्यक्रम जस्ता कार्यक्रमलाई निरन्तरता दिएको बताइन् ।

गोदावरीको बजेट एक अर्ब १९ करोड

गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब १८ करोड ७१ लाख ५७ हजारको बजेट अनुमान प्रस्तुत गरेको छ । चालुतर्फ ६६ करोड २२ लाख ९७ हजार र पुँजीगत तर्फ ५२ करोड ४८ लाख ६० हजार व्यय अनुमान गरिएको उपप्रमुख रत्ना कडायतले बताइन् । 

उनले संघीय सरकारबाट वित्तिय समानीकरण अनुदानबाट २० करोड ३५ लाख, सशर्त अनुदानबाट ३८ करोड ५ लाख, राजश्व बाँडफाँडबाट १४ करोड, ३३ लाख ८१ हजार र विशेष अनुदानबाट एक करोड प्राप्त हुने अनुमान रहेको बताइन् । प्रदेश सरकारबाट वित्तिय समानीकरण अनुदान एक करोड ५१ लाख ३५ हजार, राजश्व बाँडफाँड ५ करोड १० लाख ९९ हजार, आन्तरिक आयबाट ११ करोड ७५ लाख ४२ हजार ५ सय र संचित कोषको मौज्दातबाट २६ करोड ४९ लाख ९९ हजार ५ सय प्राप्त हुने गरि बजेट अनुमान गरिएको छ ।

कैलालीले गाउँ गौरवको योजना बनाउने

कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६३ करोड पाँच लाख २५ हजार रुपैयाँ बजेट गाउँसभामा प्रस्तुत गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी सत्गौवाले पूर्वाधार विकास र सामाजिक विकास क्षेत्रमा तीन÷तीन करोड, आर्थिक विकास क्षेत्रमा दुई करोड २५ लाख, वन तथा विपद व्यवस्थापनमा दुई करोड रुपैयाँ र सुशासन तथा संस्थागत विकासमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताइन् ।

उनले गाउँपालिकाले गौरवका योजना अन्तरगत वनदेवी धार्मिक पर्यटकीय क्षेत्र विकासका लागि एक करोड ५० लाख, सडकपुर–लोहरपुर सडक आयोजनाका लागि ७० लाख, एक सहकारी एक उद्योग परियोजनाका लागि ३० लाख, नमूना विद्यालय बनाउनका लागि २५ लाख, दुधिया मिनी पार्कका लागि, २५ लाख, एक वडा एक कृषि पकेट कार्यक्रमका लागि १५ लाख, सुर्मिनाला–लौसा र धर्मापुर–शीतलपुर सडकका लागि १०/१० लाख, एक वडा एक कालोपत्रे सडकका लागि एक करोड ३५ लाख, युवालाई स्वरोजगार कोष (सहुलियत पूर्ण ऋण लगानी) ४० लाख विनियोजन गरिएको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप