बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिकोणात्मक क्रिकेट श्रृंखला स्थगित

बिहीबार, १० असार २०७८, १९ : ०७
बिहीबार, १० असार २०७८

जुलाईमा तय भएको आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय श्रृखंला स्थगित भएको छ ।  स्पेनमा हुने भएको नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको एकदिवसीय शृंखला कोरोना भाइरसका कारण स्थगित भएको हो । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार विज्ञप्ती जारी गर्दै सन् २०२२ को जुलाईसम्मका लागि श्रृंखला स्थगित भएको जनाएको हो ।

कोरोनाकै कारण स्कटल्यान्डबाट स्पेनमा सारिए पनि शृंखला हुन सकेन । नामिबियामा कोरोना भाइरसको संक्रमण उच्च दरमा बढेको र त्यहाँको सरकारले पनि अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्ध लगाएको कारण अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले खेल स्थगित गरेको हो ।

श्रृंखलाका लागि नेपालले बन्द प्रशिक्षण पनि सुरु गरिसकेको थियो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा गत मंगलबारबाट नेपालले २० खेलाडी समावेश गर्दै प्रशिक्षण सुरु गरेको थियो । आइसिसी विश्वकप क्रिकेट लिग–२ का लागि नेपालका प्रशिक्षक डेभ ह्वाटमोरले तयारी थालेका थिए । नेपालको जिम्मेवारी समालेको आफ्नो पहिलो प्रशिक्षणमा नेपालले घरेलु भूमिमा नेदरल्यान्ड र मलेसियासँगको त्रिकोणात्मक ट्वान्टी–२० श्रृंखलाको उपाधि उचालेको थियो ।

लिग–२ अन्तर्गत नेपाल घरेलु मैदानमा ओमान र अमेरिका सँग चार खेल खेल्दा चार अंकसहित छैटौं स्थानमा छ । ओमान १० खेलबाट १६ अंकसहित शीर्ष स्थानमा छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ । लिग–२ अन्तर्गत नै ओमानमा तय नेपाल, ओमान र अमेरिकाबीचको श्रृखंला पनि कोरोनाका कारण स्थगित भएको थियो । सन् २०२३ मा भारतमा आयोजना हुने विश्वकप छनोटको आधार रहेको लिग–२ प्रतियोगिताको शीर्ष तीनमा अटाउन सकेको खण्डमा नेपालले ग्लोबल छनोट खेल्ने मौका पाउनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप