शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गैँडाकोटको बजेट  ८० करोड ६० लाख : बाँझो जग्गारहित नगर कार्यक्रम

बिहीबार, १० असार २०७८, २२ : ३१
बिहीबार, १० असार २०७८

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि रु ८० करोड ५९ लाख ५३ हजार बराबरको बजेट पारित गरेको छ । नगरपालिकाको आज सम्पन्न नवौँ नगरसभामा प्रमुख छत्रराज पौडेलले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम एवं उपप्रमुख विष्णुकुमारी कँडेलले प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मत रुपमा पारित भएको हो । 

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख पौडेलले ‘बाँझो जग्गारहित नगर’,  ‘म तरकारीविना खान्न, म तरकारी किन्न जान्न’, ‘गैँडाकोटको पहिचान ः स्वादिलो मकै’, ‘ शिक्षित छोरी, सक्षम घर’, विदेशबाट फर्किएका नागरिकले शुरु गरेको व्यवसायमा कर छुट, सुत्केरी पोषिलो खाना, महिलासँग उपप्रमुख कार्यक्रम, गरीबी मुक्त गैँडाकोट, कृषिमा सहकारीको लगानी, एक घर एक बिरुवालगायत नयाँ कार्यक्रम घोषणा गरिन्। नगर प्रमुखको नीति तथा कार्यक्रमलाई केही परिमार्जनसहित आजै पारित गरिएको हो । 

नीति तथा कार्यक्रमका केही विषयवस्तुलाई बजेटले सम्बोधन नगरेको जनाउँदै नगर कार्यपालिका सदस्यले नगर प्रमुखको ध्यानाकर्षण गराएका थिए ।  नगर प्रमुखले सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रमलाई सम्बोधन गर्नेगरी आगामी आर्थिक वर्ष २०७८/७९ का लागि नगर उपप्रमुख कँडेलले प्रस्तुत गरेको पूँजीगततर्फ रु २६ करोड ४६ लाख तथा चालुतर्फ रु ५४ करोड १३ लाख ५० हजार बराबरको बजेट नगरसभाले पारित गरेको हो । 

त्यस्तै नगरपालिकाको आज सम्पन्न नवौँ नगरसभामा बजेटका साथै आर्थिक विधेयकसमेत सर्वसम्मत रुपले पारित भयो । नगरसभा सदस्यले नारायणी नदी तटीय क्षेत्रका लागि बजेट पर्याप्त नभएको, शहरीकरणसँगै नाला व्यवस्थापन तथा निर्माणका लागि बजेट पर्याप्त नभएको, सुकुम्बासी समस्या समाधान तथा शिक्षा र सञ्चारमाध्यमका लागि कार्यक्रम र बजेटले न्याय नगरेको गुनासो गरेका थिए । त्यस्तै नगरपालिकाभित्र सडकका दायाँबायाँ फूलभन्दा पनि मौसमी फलफूलका बिरुवा रोप्नुपर्नेमा नगरसभा सदस्यहरुले ध्यानाकर्षण गराएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप