मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

अल्जाइमरका कारण विवाह गरेकै बिर्सिए, तर श्रीमतीसँगै पुनः प्रेममा परे

आइतबार, १३ असार २०७८, १४ : ३५
आइतबार, १३ असार २०७८

गत वर्षको डिसेम्बरमा पिटर र लिजा मार्सल सोफामा सँगै बसेर आफूलाई मनपर्ने टिभी शो हेरिरहेका बेला पिटरले लिजालाई हेरेर विवाहको प्रस्ताव राखे ।

५६ वर्षका पिटरलाई थाहा थिएन कि उनी पहिले नै विवाहित हुन् ।

तीन वर्षअघि अल्जाइमरद्वारा ग्रसित पिटरले क्रमशः आफ्नो स्मरण शक्ति गुमाउँदै गए, आफ्नो निकै सुन्दर प्रेम जीवन पनि ।

उनले आफूहरुको पहिलो भेट पनि बिर्र्सिएका छन् । यस्तै, पहिलो पटक कहिले हात समाएका थिए, चुम्बन गरेका थिए पनि उनलाई यादै छैन । उनले आफ्नो विवाह नै बिर्सिए ।

‘यो निकै हृदयविदारक हो,’ ५४ वर्षका लिजाले सीएनएनलाई भनिन् । ‘हामीले नयाँ यादगार पल बिताएका छौं तर यसले निकै पीडा दिन्छ किनभने म उनलाई सधैं ‘तिमीलाई त्यो याद छ ?’ भन्न चाहन्छु । म उनीसँग बिताएका ती पल पुनः जीवित पार्न चाहन्छु । तर पिटरलाई अहिले केही पनि यादै छैन । २० वर्ष अघि के भयो, त्यो उनलाई केही पनि थाहा छैन ।’

विगत १२ वर्षदेखि वैवाहिक बन्धनमा बाँधिएका उनीहरुको भेट पेन्सिल्भेनियास्थित ह्यारिसवर्गमा भएको थियो । त्यतिबेला यी दुबै आफ्ना अर्का पार्टनरसँग विवाहित थिए र आफ्ना सन्तान हुर्काइरहेका थिए । तर यी दुई बीच मित्रता गाँसियो र पिटरको परिवार कनेक्टिकट नसरेसम्म उनीहरु सम्पर्कमा रहे ।’

करिब एक वर्षसम्म यी दुईबीच कुनै सम्पर्क भएन । तर दुबैको सम्बन्धविच्छेदको कुरा चलिरहेका बेला उनीहरु पुनः सम्पर्कमा आए । ह्यारिसबर्गमा भएको पहिलो भेटपछि उनीहरु तत्काल अभिच्छिन्न भए र उनीहरुका छोराछोरी कलेज नगएसम्म आठ वर्षसम्म लामो दुरीको प्रेम सम्बन्धमा रहे ।

आफ्नो श्रीमानको सबैभन्दा राम्रो लाग्ने पक्ष के हो भन्ने सोधिएको प्रश्नमा लिसा रोकिइन् र आँसु रोक्ने प्रयत्न गर्न थालिन् ।

‘उनले मलाई माया गर्ने तरिका,’ उनले भनिन् । ‘उनी निकै दयालु छन्, निकै सभ्य, भद्र साथै हँसीमजाक गर्नुपर्ने व्यक्ति हुन् उनी । यसका साथै,  जिस्कने र रोमान्टिक हुने पनि उनको बानी छ । उनी हाम्रो सम्बन्धबारे सधैं उत्साहित हुने गर्छन् । मेरा बारे पनि ।’

सन् २००९ मा लिसा कनेक्टिकट सरिन् र यी दुईको विवाह भयो ।

‘केही बिग्रिरहेको थियो’

लिसाका अनुसार उनको श्रीमानको बानी व्यवहारमा देखिएको परिवर्तन राम्रोसँग देख्न सकिन्थ्यो । तर उनीहरुको नयाँ वास्तविकतासँग तालमेल मिलाउन मुश्किल थियो ।

उनले आफ्नो साँचोहरु बिर्सन थाले । त्यसपछि पर्स । त्यसपछि उनले शब्द र त्यसका अर्थ बिर्सन थाले । कतिपय अवस्थामा उनले शब्दलाई एकैठाउँ राखेर वाक्य गठन गर्न पनि गाह्रो हुन्थ्यो ।

उनले आफूले आफैंलाई ‘अब बुढो भइयो’ भनेर सम्झाउने गर्थिन् ।

‘सुरुमा त मैले यो कुरा खासै वास्ता नै गरिनँ तर साथीभाइ र परिवारका सदस्यले प्रतिक्रिया दिन थालेपछि भने केही त भइरहेको छ भनेर सोच्न थाले,’ लिसाले भनिन् । ‘पिटरलाई पछिल्लो समय नदेखेका मानिसहरुले केही कुरा गलत भइरहेको छ भनेर ठ्याक्कै थाहा पाइहाल्थे ।’

त्यसपछि स्वास्थ्य परीक्षण गरियो र थाहा भयो कि उनलाई अल्जाइमर रहेछ । यसबारे उनीहरुलाई सन् २०१८ को अप्रिल ३० मा थाहा भएको हो ।

‘मलाई यसबारे खासै थाहा थिएन । जब यसबारे अनुसन्धान गर्न थालेँ त्यसपछि मात्रै यसले हाम्रो जीवनमा अत्यधिक असर पर्नेछ भन्ने थाहा पाएँ । र यसले मेरो श्रीमान मबाट खोस्दैछ भन्ने पनि थाहा पाएँ,’ लिसाले भनिन् ।

यो रोगले उनीहरुको जीवनमा अत्यधिक प्रभाव पार्न थालिहाल्यो । ती याद, जुन उनीहरुले आफ्नो उमेर रहुञ्जेल रहनेछ भन्ने सोचेका थिए, पिटरको जीवनबाट तत्काल हरायो । तीमध्ये सबैभन्दा अविष्मरणीय क्षण भने उनीहरुको विवाह नै थियो । त्यो पनि पिटरले बिर्सिए ।

पहिलो पटक पिटरले श्रीमती त्यतिबेला बिर्सिए जब उनीहरु आफ्नो भाडाको घर रोडे आइल्याण्ड जाँदै थिए । यहाँ उनीहरु धेरैजसो भ्रमणमा गइरहन्थे ।

‘जब हामी हाम्रो घर गइरहेका थियौं तब एकपटक उनले मलाई घर जाने बाटो देखाइरहेका थिए । उनले भनिरहेका थिए, ‘यो मेरो घर जाने बाटो हो । मेरो घर पुग्नका लागि दाहिने मोड्नुहोस् ।’ उनले यसरी कुरा गरिरहेका थिए कि मानौं म भिन्न ड्राइभर हुँ र मलाई हामी कहाँ बस्छौं भन्ने थाहा छैन,’ लिसाले भनिन् ।

‘जब हामी घरमा पुग्यौं तब उनी म भएठाउँ दौडिएर आएर मेरा लागि ढोका खोलिदिए र मलाई मेरो घरभित्र लगे । मलाई हाम्रो घरको वरिपरि देखाउँदै गर्दा उनी निकै डराइरहेका थिए,’ उनले भनिन् । ‘त्यो पल निकै राम्रो त थियो तर म उनी वास्तविकतामा कहिले फर्केलान् भनेर प्रतीक्षा गरिरहेको थिएँ तर उनी कहिल्यै फर्किएनन् ।’

‘उनी मसँग दोस्रो पटक प्रेममा परे’

सन् २०२० को डिसेम्बर १२ मा पिटर र लिसा उनीहरुलाई मनपर्ने टिभी सिरिज ‘न्यू गर्ल’ हेरिरहेका बेला विवाहको एउटा दृश्यले उनलाई रुवायो । पिटरले उनी रोएको देखे र हास्न थाले । त्यसपछि उनले स्क्रिनमा देखाउँदै भने, ‘ल गरौं ।’

‘मैले भनेँ, ‘के गरौं ?’ उनले भने, ‘विवाह गरौं’ निकै उज्यालो अनुहारसहित उनले भने,’ लिसाले भनिन् ।

‘यसका लागि धेरै नै काम बाँकी छ,’ उनले भने । उनलाई थाहा थिएन कि उनले भर्खरै आफ्नी श्रीमतीलाई प्रस्ताव राखेका छन् ।

‘यो पल मेरा लागि निकै विशेष थियो । उनी मेरो प्रेममा दोस्रो पटक परे । मैले आफूलाई निकै सम्मानित महसुस गरेँ । मैले आफूलाई राजकुमारी ठानेँ, सिन्ड्रेला । म यो संसारकै सबैभन्दा भाग्यमानी महिला हुँ,’ उनले भनिन् ।

विवाहको प्रस्तावपछिका पललाई क्यामरामा कैद गरेपछि उनले त्यो भिडियो आफ्ना सन्तानलाई पठाइन् । छोराछोरीले उनीहरुलाई विवाहको बाचा नवीकरण गरेर स्थायी प्रेमको सम्मान गर्न प्रोत्साहित गरे । लिसालाई केही हिच्किचाहट त थियो तर यसो गर्न राजी भइन् । उनी आफ्ना श्रीमानसँग अर्को सुन्दर स्मृति बनाउन इच्छुक भइन् ।

लिसाकी छोरी, कार्यक्रमकी योजनाकारले आफन्त र साथीभाइलाई भेटेर कार्यक्रमबारे बताइन् । उनीहरु उक्त कार्यक्रममा आफ्नो सेवा दिन राजी भए ।

गत अप्रिल २६ मा पिटर र लिसा पुनः दुलहा दुलही भए । डिमेन्सिया विशेषज्ञको सहभागितामा यी दुईले पुनः आफ्नो बाचा साटे ।

‘मैले यसका लागि कुनै आशा राखेकी थिइनँ । यो रोगबारे केही भन्न नै मुश्किल छ । जब मेरो मेकअप भयो र दुलहीको पहिरन लगाएँ तब मेरो पेटमा भिन्न खालको हलचल भएको थियो । प्रत्येक पल चमत्कारभन्दा कम थिएन,’ लिसाले भनिन् ।

‘पिटर दिनभरी निकै उज्यालो देखिएका थिए । उनी निकै नै खुसी थिए । बचन दिने बेला उनले मलाई भने, ‘लिसा, आइ लभ यू’ । र मलाई यत्ति मात्रै चाहिएको छ,’ उनले भनिन् ।

लिसालाई थाहा थियो कि कार्यक्रम भइरहँदा पनि उनका श्रीमानले उनलाई चिन्न नसक्लान् । तर अब उनलाई यो कुराले खासै चिन्तित पार्दैन ।

‘म उनको निकै मनपर्ने मान्छे हु,’ उनले भनिन् । ‘मलाई कुनै उपमा चाहिँदैन जस्तै श्रीमती र उनले मलाई दिएका नामहरु । हाम्रो मन यसरी जोडिएको छ कि मलाई यति मात्रै चाहिएको छ कि उनले सुरक्षित महसुस गर्न सकून् र उनले यसो गर्छन् पनि । र उनले मलाई माया गर्छन्, म उनलाई माया गर्छु, आखिर चाहिएको यत्ति न हो ।’

‘हामी अन्तिमसम्म सँगै हुनेछौं,’ लिसाले भनिन् । ‘कसैले पनि हामीलाई छुट्टाउन सक्दैन, कसैले पनि ।’

सीएनएन

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप