शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

६ महिनादेखि नेपालमा किन रोकिइरहेछन् दुई किर्गिस्तानी हेलिकप्टर ?

सोमबार, १४ असार २०७८, २० : २२
सोमबार, १४ असार २०७८

विगत ६ महिनादेखि काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा किर्गिस्तानका २ वटा एमआई १७ हेलिकप्टर पार्किङ गरी राखिएको छ । दिल्ली जाने क्रममा ‘क्रु रेष्ट’का लागि भन्दै काठमाडौँ आइपुगेको २ किर्गिस्तानी हेलिकप्टर जनवरी १ तारिखदेखि काठमाडौँमा अलपत्र छन् । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जनवरी १ मा बङ्गलादेशबाट काठमाडौँ आइपुगेको दुई एमआई १७ हेलिकप्टर त्रिभुवन विमानस्थलमा रोकिएका हुन् । सुरुमा बङ्गलादेशबाट नेपाल हुँदै दिल्ली जाने र २ दिन क्रु रेष्टका लागि भन्दै ती हेलिकप्टर काठमाडौँ आइपुगेका थिए । 

सुरुमा २ दिनका लागि अनुमति लिएर नेपाल आइपुगेका ती हेलिकप्टर पछि १० दिनको समय मागेर नेपाल बसेका थिए । दिल्लीका कोभिड संक्रमण बढेको भन्दै ती हेलिकप्टर काठमाडौँमै थन्किएका थिए । तर त्यहीबीचमा हेलिकप्टरका क्रु मेम्बरलाई भने किर्गिस्तान पठाइएको थियो । त्यसपछि पनि १५ दिन समय थप गरेर बसिरहेको थियो ।

किर्गिस्तानबाट बंगलादेशको बाटो हुँदै दिल्ली जान भन्दै काठमाडौँ आइपुगेको हेलिकप्टर काठमाडौँमै रोकिएपछि शङ्का लागेर नेपाल नागरिक उड्डयन प्राधिकरणले किर्गिस्तानस्थित उड्डयन प्राधिकरणलाई पत्र लेखि काठमाडौँ आउनुको कारण सोधेको थियो । साथै नेपालबाट उक्त हेलिकप्टर लैजान आग्रह पनि गरिएको थियो । 

तर हेलिकप्टरमा समस्या भएको कारण मर्मत गर्नुपर्ने भन्दै पार्किङका लागि समय थप गरिदिन किर्गिस्तानको उड्डयन प्राधिकरणले आग्रह गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

रसियाको कजान हेलिकप्टरले निर्माण गरेको एमआइ–८ एमटिभी १ मोडलका एमआई १७ हेलिकप्टरहरू इएक्स–०८०२३ र इएक्स–४०००७ कल साइनका हुन् । इएक्स–०८०२३ कालसाइनको हेलिकप्टर सन् १९९१ अप्रिल ११ मा बनेको हो भने इएक्स–४०००७ कल साइनको हेलिकप्टर सन् १९९१ मार्च ३ मा बनेको हो । ३० वर्ष पुरानो हेलिकप्टर कुन प्रयोजनका लागि नेपाल ल्याइएको थियो भन्ने यकिन भएको छैन । 

थोत्रा हेलिकप्टर नेपालमा दर्ता नहुने भएपछि फिर्ता लजाँदै 

पर्यटन मन्त्रालय श्रोतले भने किर्गिस्तानबाट ल्याइएका ती हेलिकप्टरहरू नेपाली हेलिकप्टर कम्पनीलाई बिक्री गर्न नेपाल ल्याइएको थियो । करिब १२ वर्षदेखि सेवा बन्द भएको एक नेपाली हेलिकप्टर कम्पनीले ती हेलिकप्टर किन्ने भन्दै नेपाल ल्याइएको थियो । 

उक्त कम्पनीले पर्यटन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग पटक पटक खरिद र सञ्चालन अनुमतिका लागि आग्रह गरेको मन्त्रालय श्रोतको भनाई छ । 

तर नेपाल नागरिक उड्डयन प्राधिकरणको हवाई नीतिमा नेपालमा २० वर्षभन्दा पुरानो हेलिकप्टर वा जहाज खरिद गरी ल्याउन नपाइने उल्लेख छ । नेपालमा सञ्चालनमा रहेका हेलिकप्टर र जहाजहरू नियमित मर्मत सम्भार गरी चलाउन पाइने भए पनि २० वर्षभन्दा पुराना जहाजहरू खरिद गरी नेपालमा दर्ता गर्न निषेध गरिएको छ । जसका कारण ती हेलिकप्टरलाई नेपालमा दर्ता र सञ्चालन गर्न दिन नसकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले बताए ।

नेपालमा दर्ता पनि नहुने र सञ्चालनको अनुमति पनि नहुने भएपछि ६ महिनापछि ती हेलिकप्टरहरू किर्गिस्तान फर्कने क्रममा रहेका छन् । 

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार अहिले किर्गिस्तानबाट पाइलट र प्राविधिकसमेत नेपाल आइसकेका छन् । हाल ती हेलिकप्टरहरू चेकजाँचका क्रममा रहेको र नेपालबाट लैजाने अनुमतिसमेत लिइसकेका छन् । 

६ महिनासम्म नेपालमा पार्किङ गरेबापत ती हेलिकप्टरले २१ हजार २०१ अमेरिकी डलर तिरेको पनि प्रवक्ता क्षेत्रीले बताए । 

एमआई १७ हेलिकप्टर मुख्यतः सैनिक अभ्यास, सैनिक प्रयोजन र सामान बोक्ने प्रयोजनमा प्रयोग हुन्छ । केही स्थानमा यात्रु ओसारपसारका लागि पनि प्रयोग गरिएको पाइएको छ । तर अत्यधिक ध्वनिका कारण ती जहाजमा यात्रु ओसारपसार गर्न भने कठिन नै हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप