बालसंसार

कश्यपको कथा :  धूर्त सेठ

person explore access_timeअसार १७, २०७८ chat_bubble_outline0
photo source : hindikunj.com

परापूर्व कालमा एउटा गाउँमा चतुर्भुज शर्मा नामका मानिस थिए । उनलाई गाउँलेहरू मायाले चतुरे भन्थे । उनको नाम जस्तै काममा पनि चतुर थियो । बुद्धिमा त्यस्तै, व्यवहारमा त्यस्तै । त्यसै भएर चतुरे भन्ने गरेका थिए उनलाई । जस्तोसुकै अपराध र अपराधीलाई पनि एउटा न एउटा जुक्ति निकालेर पत्ता लगाउन सक्ने खुबी थियो उनको । सज्जनहरूका लागि भाग्य विधाता जस्तै थिए भने ठग र धूर्त निम्ति काल । प्रायः अन्याय र अत्याचारमा परेका मानिस उनकै शरणमा जान्थे । अफ्ठ्यारो परेको बेला प्रहरी–प्रशासनसमेत सहयोग माग्न आउने गथ्र्यो ।

तिनताका एउटा गाउँमा एक जना धूर्त र स्वार्थी सेठ थिए । आफूमात्रै ठीक अरु सबै बेठीक भन्ने उनको स्वभाव थियो । हरेक कुरामा स्वार्थ हेर्थे र घुमाई घुमाई त्यसलाई पूरा गरेरै छाड्थे । उनका घरमा रामु नामका एकजना नोकर थिए । उनलाई वार्षिक एक मुष्ठ एक हजार असर्फी पारिश्रमिक दिने शर्तमा राखिएको थियो । वर्षदिनपछि रामुले पारिश्रमिक माग्यो तर सेठ भने आनाकानी गर्थे । अति भएपछि रामुले कड्किँदै भन्यो–

‘मेरो हिसाब दिनुस्, अहिले नै जान्छु । भाँडमै जाओस् तपाईँको नोकरी ।’

सेठजी यस्तै बहनामा थिए । कुरो घुमाउँदै भने–

‘जान मन लागे जान सक्छस्, रोक्न चाँहन्न । जहाँसम्म पारिश्रमिकको कुरा छ सुरूमै दिसकेको छु । चाहियो भन्दैमा दो¥याएर माग्न पाइन्न ।’

सेठको कुरा सुनेर रामुलाई साह्रै नरमाइलो लाग्यो । उसले रुँदै प्रहरी समक्ष गएर उजुरी ग¥यो ।  

प्रहरी हाकिमले सेठलाई बोलाएर सोधपुछ गरे । उनले प्रहरीलार्ई पनि पहिले नै दिसकेको बताए । उनको कुरामा शङ्का लागेर हाकिम साबले दशी प्रमाण मागे । उनले अन्य दुई जना नोकरले देखेका छन् भने । हाकिमले नोकरहरूलाई पनि बोलाएर सोधे । उनीहरूले पनि रामुले सुरूमै आफूहरूकै अगाडि एक मुष्ठ पारिश्रमिक लिसकेको छ भने । हाकिम साब द्विविधामा परे । उनी रामुले झुट बोलेको छैन भन्नेमा विश्वस्थ थिए तर प्रमाण थिएन । त्यसैले उनै चतुरे (चतुर्भुज शर्मा) लाई बोलाएर वास्तविकता पत्ता लगाउने जिम्मा दिए ।

घटनाको वास्तविकता बुझेपछि चतुरेले प्रहरी हाकिमलाई पर्दा पछाडि बस्न लगाई सेठलाई बोलाएर सोधे–

‘सेठजी ! रामु वर्ष दिनको ज्याला पाइएन भनिरहेको छ, वास्तविकता के हो प्रष्ट पार्न आग्रह गर्छु ।’

सेठजीले भने–

‘त्यो सत्य होइन ।’

‘त्यसो भए सत्य के हो त ?’

‘सत्य यही हो रामु झुट बोलिरहेको छ । सुरूमै दिएको छु उसले पाउने पूरै पारिश्रमिक ।’

‘कति दिनु भयो ?’

‘एक हजार असर्फी, जुन कबोलिएको थियो ।’

‘एक हजार असर्फी धेरै पो हुन्छ त ।’

‘हो, हुन्छ ।’

‘कसरी दिनुभयो त्यति धेरै असर्फी ?’

‘खनखनी गनी टिनको बाकसमा राखेर दिएको छु ।’

त्यसपछि चतुरेले उनलाई पनि पर्दा पछाडि बस्न लगाएर एउटा नोकरलाई बोलाएर सोधे–

‘सेठले रामुलाई पारिश्रमिक दिएको तपाईँले देख्नुभएको छ रे हो ।’

उसले भन्यो–

‘हो देखेको छु ।’

‘कति दिएका थिए थाहा छ ?’

‘पूरा एक हजार असर्फी ।’

‘तपाईँकै अगाडि दिनुभएको हो ?’

‘हो मेरै अगाडि बोरोमा हालेर दिएका थिए ।’

त्यसपछि चतुरेले उसलाई पनि पर्दा पछाडि बस्न भन्दै अर्को नोकरलाई बोलाएर सोधे–

‘सेठजीले रामुलाई पारिश्रमिक दिएको सत्य हो ?’

उसले भन्यो–

‘हो, हजुर सत्य हो, मेरै अगाडि दिनुभएको हो ।’

‘कति दिनुभएको थियो ?’

‘त्यो त थाहा भएन ।’

‘आफ्नै अगाडि दिइएको भनेको होइन ?’

‘त्यो त हो ।’

‘कसरी थाहा भएन त ?’

‘किनकि पैसा कपडाको रातो थैलीमा बन्द थियो ।’

त्यसपछि उनले पर्दा पछाडि बसेर सुनिरहेका प्रहरी हाकिम लगायत सबैलाई बाहिर बोलाएर भने–

‘वास्तविकता के हो पत्ता लागिसक्यो । तपाईँहरू आफैँ भन्नुहुन्छ कि मै बोलूँ ? होस गर्नुस् आफैँले भन्नुभयो भने सजाय माफ गराउन मद्दत गर्न सकिएला । होइन भने कडा सजायँ हुन सक्छ ।’

उनको कुरा सुन्नासाथ नोकरहरूको होस गुम्यो । उनीहरूले थरथर काम्दै भने–

‘माफ पाउँ हजुर गल्ती भयो । सेठजीको परेर झुट बोल्यौँ । वास्तवमा हामीलाई केही थाहा छैन ।’

त्यसपछि प्रहरी हाकिमले सेठको तर्फबाट रामुलाई कबोलेको भन्दा डबल पारिश्रमिक दिनुपर्ने र जरिवाना वाफत सकारलाई चौबर बुझाउनुपर्ने निर्णय सुनाए ।

रामु र अन्य दुई जना नोकर खुसी हुँदै घरतिर लागे ।

सेठ बेकारमा डबल पारिश्रमिक र चौबर जरिवाना तिरेर रातोपीरो  हुँदै हिँडे ।   

जहाँ पनि छल, कपट, झुट र धुत्याईँको नतीजा यस्तै हुन्छ । तत्कालका लागि केही फाइदा भए पनि दिगो हुँदैन । जमिनको टिप्न खोज्दा पोल्टाको समेत पोखिन्छ । भनाइ नै छ नि सत्य डग्दैन झुटो तक्दैन ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।