शुक्रबार, २० माघ २०७९
ताजा लोकप्रिय

कतै तपाईंका छोराछोरीमा मनोवैज्ञानिक समस्या त देखिएको छैन ?

महामारीले बाल मनोवैज्ञानिक समस्या बढायो
विहीबार, १७ असार २०७८, ११ : १३
विहीबार, १७ असार २०७८

मैतीदेवीकी मान्यता खनाल ७ वर्ष लागिन् । उनलाई जतिबेलासुकै कोरोना सर्छ भन्ने त्रासले सताउने गर्थ्यो । घरमा बस्दा उनलाई जतिसुकै बेला पनि मास्क नलगाइ हुँदैनथ्यो । कतिसम्म भने राति सुत्न जाँदासमेत कोरोना सर्छ भनेर मास्क लगाउँथिन् । मास्क लगाउनकै लागि भनेर हतारहतार खाना खाने आदतसमेत बसेको थियो ।

 छोरी यसरी त्रसित भएको देखेर अभिभावकले सम्झाउने बुझाउने प्रयास पनि गरे । तर सफल भएनन् । कोरोना सङ्क्रमण पहिलो लहरमा मान्यता त्यति धेरै त्रसित थिइनन् । तर यसपटक धेरै त्रसित भएको उनकी आमा शारदा खनालले बताइन् । मान्यताले कोरोना सङ्क्रमणको त्रासले डेढ महिनासम्म मास्क प्रयोगको आदत नछाडेपछि उनलाई बालमनोचिकित्सकहाँ पुर्याउँदा बालमनोरोग लागेको थाहा भयो । 

कलिलो मस्तिष्कमा सङ्क्रमणको त्रासले नकारात्मक प्रभाव पर्ने कान्ति बाल अस्पतालका मनोचिकित्सक डा. उत्कर्ष कार्कीको भनाइ छ । 

अहिले कोरोना महामारीका कारण लामो समयदेखि घरभित्र सीमित बालबालिकाका मोबाइल, कम्प्युटर, टीभी हेरेर बढी समय बिताउने गर्छन् । साथीभाइसँग खेल्न, हिँडडुल र रमाइलो गर्नबाट वञ्चित छन् । यस्तो अवस्थामा बालबालिका रिसाउने, झर्किने, कोरोना सङ्क्रमणका बरेमा बढी डराउने, चिढिने, बढी अटेरी हुने, खाना खान नमान्ने गर्छन् । 

बालबालिकाले लामो समयसम्म यस्ता व्यवहार बारम्बार दोहोर्याए मनोवैज्ञानिक समस्या हुन सक्छ । लामो समय डिजिटल स्क्रिनमा बिताउने बालबालिकाको शारीरिक तथा मानसिक विकासमा समेत समस्या उत्पन्न हुने डा. कार्कीको भनाइ छ । ​

डा. उत्कर्ष कार्की

बालमनोवैज्ञानिक समस्या धेरै अभिभावकलाई थाहा नै छैन

मनोवैज्ञानिक समस्या अन्य उमेर समूहका व्यक्तिलाई भएझैँ कम उमेर समूहका बालबालिकामा पनि देखिने बालमनोविद्हरु बताउँछन् । तर नेपालमा अति थोरै अभिभावकले मात्र आफ्ना बालबालिकाका मनोवैज्ञानिक समस्या थाहा पाउने मनोविज्ञ डा. कार्कीको भनाइ छ । कोरोना महामारीका कारण बालबालिकामा तनाव, चिन्ता, भय, उत्पन्न भएको छ । यसले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा समस्या उत्पन्न भएको छ । 

जस्तै ढिलो बोल्ने, उमेरका आधारमा जान्ने बुझ्ने कुरा ढिलो बुझ्ने र सिक्ने जस्ता सामाजिक मनोविज्ञान विकासमा बाधा पुग्छ । कोरोना महामारीका कारण बालबालिका घरभित्र सीमित छन् । विद्यालयको पढाइ, गृहकार्य डिजिटल स्क्रिनबाट गर्छन् । विद्यालयको पढाइ सकिएपछि पनि मोबाइल तथा टीभीमै समय बिताउँछन् । यसरी एकोहोरो डिजिटल स्क्रिनमा समय व्यतीत गर्दा बालबालिकाको व्यवहारमा नजानिँदो तरिकाले परिवर्तन आउँछ । डिजिटल स्क्रिनको आदत भएपछि बालबालिकाको व्यवहारमा क्रमशः नकारात्मक परिवर्तन आउँछ । त्यसलाई अभिभावकले सामान्य रूपमा लिँदा बिस्तारै जटिल खालको मनोवैज्ञानिक समस्या देखिने गरेको छ । अभिभावलाई कोरोना सङ्क्रमण भयो भने उनीहरू डराउने, आत्तिने गर्छन् । कोरोनाकै कारण घरकै अभिभावक तथा अन्य सदस्यको मृत्यु हुँदा बालबालिका बढी शोकमा पर्ने समस्या देखिएको छ । यस्तो अवस्थामा बालबालिकामा मनोवैज्ञानिक समस्या देखापरेको उनले सुनाए । बालबालिकामा आएको यस्तो व्यवहार परिवर्तनलाई बेवास्ता गर्दा भविष्यमा समस्या उत्पन्न हुनसक्ने उनले सुनाए ।

महामारीले बालमनोरोगीको समस्या जटिल बनाउँदै

कोरोना महामारीका कारण नियमित रूपमा मनोरोगी बालबालिकाले औषधि उपचार तथा परामर्श गर्न पाएका छैनन् । इन्टरनेटको पहुँच भएका बालबालिकाले मात्रै अनलाइन मध्यमबाट मनोपरार्मश लिएका छन् । तर ग्रामीण भेगबाट उपत्यकामा आई परामर्श तथा औषधि उपचार गराइरहेका बालबालिका अहिले उपचारबाट वञ्चित भएको उनले सुनाए । नियमित रूपमा औषधि, परामर्श नलिँदा बालमनोरोगीका समस्या झन् जटिल बन्दै गएको सहजै अनुमान लगाउन सकिने डा. कार्कीको भनाइ छ । 

बालबालिका घरभित्र सीमित हुँदा अघिल्लो महामारीपछि अस्पतालमा बालमनोवैज्ञानिक परामर्श तथा उपचार गर्ने बढेका थिए । थाहै नपाई धेरै बालबालिकामा तनाव, चिन्ता, भय उत्पन्न भएको अस्पतालमा उपचार गराउन आउनेहरूले जनाउने गरेको उनले बताए । बन्दाबन्दी पूर्ण रूपमा खुलेपछि बालमनोवैज्ञानिक समस्या लिएर आउने बालबालिकाहरू अब बढ्छन् ।

मनोवैज्ञानिक समस्या हुँदा बालबालिकाले यस्तो गर्छन् 

बालमनोवैज्ञानिक समस्या हुँदा उनीहरूको व्यवहार, भावना, विचार, शारीरिक समस्या, खानपान गर्दा व्यवहार परिवर्तन गर्ने डा. कार्की बताउँछन् । 

व्यवहार : बालबालिका छिटो रिसाउने, अत्यधिक डराउने, आत्तिने, दिसापिसाब तकाउने, तनावका कारण ओछ्यान, पाइन्टमै गरिदिने जस्ता व्यवहार देखिन्छ ।

भावना : डराउने, वाक्क दिक्क हुने, निराश हुने, आत्तिने व्यवहार गर्छन् ।

शारीरिक : मनोवैज्ञानिक समस्या हुँदा बच्चाहरूले टाउको भारी भयो भन्ने, पढ्न रुचाउने, ज्यान ठुलो भयो भन्ने, पटक पटक सास फेर्न गाह्रो भयो भन्ने, छातीभारी भयो भन्ने गर्छन् ।

विचारमा परिवर्तन : पटक पटक एउटै विचार मनमा आउने, भविष्यका बारेमा धेरै सोच्ने, जस्तै पढाइ कुरा गर्ने तर पढ्न ध्यान नदिने, कोरोना लाग्यो भने के होला भन्ने जस्ता कुरा बारम्बार मनमा खेलाउने, बितेका कुरा बारम्बार दिमागमा आइरहने आदि लक्षणहरू देखाउँछन् । 

निद्रा गडबड हुने समस्या : बालबालिकाहरू राति नसुत्ने तर दिउँसो सुत्ने, निद्रामा उठेर हिँड्ने निद्रामा डराउने गर्छन् ।

खानपान, निद्रा, पठनपाठनमा बाधाअड्चन आउने गर्छ । जस्तै पहिला जस्तो खाना खान नमान्ने, कि कम, कि एकदम धेरै खाना खाने, कम समय निदाउन कि धेरै निदाउने गर्छन् । पढाइको स्तर खस्किँदै गएको छ भने पनि बालबालिका तनावमा छन् भनेर बुझ्नुपर्छ । यस्ता खालका व्यवहार लामो समयसम्म बालबालिकाले दोहो¥याएमा मनोवैज्ञानिक समस्या हो कि भनेर शङ्का गर्नुपर्छ ।

बालमनोवैज्ञानिक समस्या कसरी व्यवस्थापन गर्ने

लामो समयसम्म कम्प्युटर, ल्यापटप, मोबाइलमा व्यस्त हुन्छन् । पढाइबाहेक अन्य समयमा इन्टरनेटमा व्यस्त हुने भएकाले बालबालिका घरबाहिर ननिस्कने, परिवारका सदस्यसँग कम घुलमिल हुने, साथीभाइसँग हिँड्ने डुल्ने वातावरण कम हुँदा बालबालिका आजभोलि हत्तपत्त घरबाहिर निस्कन तथा घुलमिल हुन अल्छी मान्ने गर्छन् । साथै कोरोना महामारीको त्रासले घरभित्र मात्रै सीमित हुँदा धेरै बालबालिकाको व्यवहार परिवर्तन आएको हुन सक्छ । त्यस्तो अवस्थामा अभिभावकले उनीहरूको समस्यालाई बुझेर मात्रै बोली व्यवहार प्रदर्शन गरेर पहिलाकै स्थितिमा फर्काउने कोसिस गर्नुपर्छ ।

बालबालिकासँगै बसेर उनीहरूको समस्या बुझ्ने काम अभिभावकले गर्नुपर्छ । बच्चालाई प्रशस्त समय दिएर उनीहरूको गुनासो, पीडा, समस्या बुझ्ने कोसिस गर्नुपर्छ । बच्चाले समस्या व्यक्त गरे भने मात्र बच्चालाई सल्लाह सुझाव दिने हो । अभिभावकले सीधै यसो नगर, उसो नगर, यस्तो कुरा नगर, नसुन भन्ने गर्छन् । बच्चाहरूले सामान्य कुरालाई समस्याका रूपमा लिएका हुन सक्छन् । उनीहरूले के समस्याको सामना गरिरहेका छन्, बच्चाहरूलाई खुलेर भन्न दिनुपर्छ । अभिभावकले सकेसम्म उनीहरूकै ठाउँमा आफूलाई उभ्याएर समस्या बुझ्ने प्रयास गर्नुपर्छ ।

अभिभावकले उनीहरूका कुरा ध्यान दिएर सुनिदिने, खुलस्त रूपमा बोल्ने अवसर दिने, त्यस्तो माहौल सिर्जना गरिदिने, उनीहरूसँग समय बिताउने र उनीले लिएका तनाव चिन्तालाई मन नदुख्ने गरी बुझाउने र सम्झाउने प्रयास गर्नुपर्छ । 

यति गर्दा पनि बच्चाको व्यवहार, भावना, शारीरिक लक्षणहरू अझ बढ्दै गए र झन् जटिल देखियो भने घरमा उनीहरूको समस्या समाधान घरबाट हुँदैन भनेर बुझ्नुपर्ने डा. कार्की बताउँछन् । 

बालबालिकाको समस्या तथा रोगको पहिचान गर्न, परामर्श लिने बानी सुधार्न प्रोत्साहन निरन्तर गरिरहनुपर्छ । उनीहरूको समस्या समाधानका लागि मनोपरामर्श, साइकोथेरापीका साथै कतिपय रोगमा औषधि प्रयोग गर्ने अवस्था पनि आउन सक्छ । त्यसैले मनोपरार्मशदाता, बालमनोचिकित्सकसँग परामर्श तथा औषधि उपचारका लागि लैजानुपर्छ ।

बालबालिकामा यस्ता समस्या देखिए भने एन्जाइटी, डिसअडर भयो भन्न मिल्दैन । कोरोना महामारीका कारण बच्चाहरू डराउने, रिसाउने, झर्किने, कराउने गरे भन्दैमा मनोवैज्ञानिक समस्या भएको सम्झन हुँदैन । त्यसैले बालबालिकालाई समय दिएर उनीहरूको व्यवहारलाई सच्याउने निरन्तर प्रयास गर्नुपर्छ । बालबालिकाको बानी सुधार्ने कुरामा अभिभावकको ठुलो हात हुने भएकाले उनीहरूले गरेको राम्रो कामलाई प्रोत्साहन दिनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप