बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्वाङकै निर्वाचन क्षेत्रमा सडकको दुरावस्था

सडक निर्माण सुरु भएको ३० महिनामा जम्मा १६ प्रतिशत भौतिक प्रगति, भारतीय ठेकेदार कम्पनीले सुन्दैन नेपाली पक्षको कुरा
शुक्रबार, १८ असार २०७८, ११ : २३
शुक्रबार, १८ असार २०७८

पाँचथरको राँके निवासी रवि नेम्वाङलाई घर अगाडिको राँके–रवि–भेँडेटार जोड्ने सडकले चाँडै काँचुली फेर्ने विश्वास थियो । किनकि प्रधानमन्त्री केपी शर्मा ओली स्वयं राँकेमा आएर सडक कालोपत्रेको शिलान्यास गरेका थिए ।

तर ३६ महिनामा निर्माण सम्पन्न गर्ने गरी प्रधानमन्त्रीले तामझामका साथ शिलान्यास गरेको ३० महिना बितिसक्दा सडकको अवस्था झन् हिँडिनसक्नु बनेको छ । भारतीय निर्माण कम्पनीले चरम लापरबाही गर्दा स्थानीयवासीले सास्ती व्यहोर्नुपरेको हो ।

‘घर अगाडिको सडक खाल्डैखाल्डाका कारण पानी जमेर हिँडिसक्नु छैन,’ नेम्वाङ भन्छन्, ‘छिमेकीको घर जान पनि बारीको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने अवस्था छ । सडकको अवस्था हेर्दा कालोपत्रे गर्नका लागि नभई धान रोप्न ठिक पारिएको खेतजस्तो लाग्ने उनी बताउँछन् ।

उनीमात्र होइन, सडकको दुरावस्थाका कारण सो क्षेत्रका स्थानीयले सास्ती पाएका छन् । बर्खा लागेसँगै पानी जमेर सडक नै पोखरीजस्तै भएकाले सवारी साधन सञ्चालनमा समेत कठिनाइ भएको छ ।

पूर्वी पहाडी जिल्ला पाँचथरको राँकेदेखि धनकुटाको भेँडेटार जोड्ने सडक निर्माण भएको दुई दशकपछि कालोपत्रे गर्ने योजनासहित प्रधानमन्त्री ओलीले २०७५ पुसमा शिलान्यास गरेका थिए ।

तर भारतीय ठेकेदारको चरम लापरबाहीका कारण ठाउँठाउँमा खाडल बनाएर छाडिएको छ भने अविरल वर्षाले कतै हिलाम्मे र कतै पोखरीजस्तो भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र एमालेकै अर्का प्रभावशाली नेता सुवास नेम्वाङको निर्वाचन क्षेत्र छोएर जाने सडकको हविगत हो यो । भारतीय ठेकेदारले सडक निर्माणमा चरम लापरबाही गर्दासमेत विभागीय मन्त्रीका रूपमा भौतिक पूर्वाधारमन्त्री नेम्वाङले वास्ता नगरेको स्थानीयवासीको आरोप छ ।

सडकका विभिन्न खण्डमा सवारी साधनको आधा हिस्सा डुब्ने खाल्डा छन् भने हिलोमा फसेका सवारी साधनलाई स्काभेटरको सहयोगमा निकाल्नुपर्ने बाध्यता छ । बाटोमै सवारी साधन फस्दा स्काभेटरको सहायताले ठेलेर घण्टौँसम्म लगाएर निकाल्नुपर्ने अवस्था रहेको सवारी चालक दोर्जे कुमाल बताउँछन् ।

भारतको लखनउस्थित एप्को इन्फ्राट प्रालिले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी कालोपत्रेको जिम्मा लिए पनि अढाइ वर्ष बित्दासमेत सडकको यो हविगत रहनुले स्थानीयवासी निराश बनेका छन् ।

भेडेटार–रवि–राँके सडकको सुपरभिजनको जिम्मा पाएको कन्सल्टेन्सीका आवासीय इन्जिनियर समर खनालले भारतको लखनउस्थित एप्को इन्फ्राट प्रालिले निर्माणको जिम्मा पाए पनि पेटी ठेकेदारमार्फत विभिन्न खण्डको निर्माण कार्य हुँदै आएकाले समस्या भएको बताए ।

खनालका अनुसार ३६ महिनामा काम सक्ने गरी ठेक्का लिए पनि सडकको भौतिक प्रगति १६ प्रतिशत मात्र छ । ‘पटक–पटक सडक निर्माणको कामलाई गति दिन भनेका छौँ,’ इन्जिनियर खनाल भन्छन्, ‘भारतीय ठेकेदार कम्पनीले हाम्रो कुरा पटक्कै सुन्दैन ।’ सडक कालोपत्रेमा प्रगति हुन नसकेकोमा आफूहरूमाथि जनदबाब रहेको तर ठेकेदारले काम नै नगर्ने र आफूहरूको कुरासमेत नसुन्ने भएपछि समस्या भएको उनले बताए ।

इन्जिनियर खनालका अनुसार सडक निर्माणको काममा ढिलाइ गरिरहेको ठेकेदार कम्पनीको सडक सम्पन्न गर्ने समय अवधि ६ महिना थप भएको छ । तर जति समय थपे पनि यही गतिमा काम हुने हो भने १५ वर्षसम्म पनि काम पूरा नहुने इन्जिनियर खनालको दाबी छ ।

उनले कुल १०० किलोमिटर लामो सडक अहिलेसम्म पाँचथरतर्फको २ किलोमिटर र धनकुटातर्फको राजारानी र बुधबारे खण्डको कुल चार किलोमिटर ग्राभेल गर्नेबाहेक अन्यत्र माटोको काममात्र भएको बताए । राँके–रवि, रवि–बुधबारे, बुधबारे–भेँडेटार गरी तीन भागमा विभाजित गरेर काम सञ्चालन हुँदै आएको सडकमा २१० वटा स्लाप कल्भर्ट, ३२० वटा होम पाइप कल्भर्ट रहनेछन् ।

ठेकेदार कम्पनीले सुरुदेखि नै काममा ढिलाइ गर्दै आएको थियो । गत वर्ष पुसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङसहित मन्त्रालयको टोलीले सडक अनुगमन गरेपछि केही दिन तीव्र गतिमा काम भएको थियो । तर पछि पुनः कामको गति सुस्ताएसँगै सडक कालोपत्रे गर्ने काम अलपत्र अवस्थामा छ ।

स्थलगत भ्रमणका क्रममा मन्त्री सहितको सरकारी टोलीले सडक निर्माणको काम सुस्त भएको निष्कर्षसहित सम्झौता तोड्ने मनसाय बनाएको थियो । तर ठेकेदार कम्पनीले निर्माणको कामलाई तीव्रता दिने प्रतिबद्धता जनाएपछि ठेक्का सम्झौता रद्द गर्नबाट सरकार पछि हटेको थियो ।

पाँचथरको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले सडक निर्माणको कामको गति अति सुस्त हुँदा त्यस भेगका जनताले सास्ती व्यहोर्नु परेको बताए ।

‘बर्खाको समयमा बाटो हिँडिसक्नु छैन,’ उनले भने, ‘मान्छे हिँडडुल गर्न नै सास्ती छ, सवारी साधनको त कुरै छाडौँ ।’ आफ्नो गाउँपालिका क्षेत्रमा सो सडक करिब ३५ किलोमिटर पर्ने भए पनि गत जेठ २५ गतेबाट बाटो बिग्रिएका कारण सवारी साधन आवतजावत बन्द हुन पुगेको बताए ।

धनकुटाको चौबिसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले निर्माण व्यवसायी गैरजिम्मेवार हुँदा समयमा निर्माण सम्पन्न नहुने अवस्था आएको बताए । ‘सडक निर्माण कहिले पूरा होला भनेर स्थानीयवासी आशमा बसेका छन्,’ अध्यक्ष राई भन्छन्, ‘भारतीय ठेकेदारका कारण यहाँ सबैभन्दा बढी समस्या भएको म देख्छु, किनकि नेपाली पक्षले सडक निर्माणका लागि पटक–पटक दबाब दिँदा पनि भारतीय पक्षले वास्तै गर्दैन, समस्या यहीँ छ ।’

इलाम र पाँचथरको सिमाना राँकेबाट महाभारत डाँडा हुँदै मोरङसँगै धनकुटाको भेँडेटारसम्म पुग्ने यो मार्ग कालोपत्रेका लागि तीन अर्ब ६५ करोड ८४ लाख ९५ हजार ५७२ रुपैयाँ रकम लागत अनुमान छ, जसमा एक्जिम बैङ्क अफ इन्डियाको ८७ प्रतिशत र नेपाल सरकारको १३ प्रतिशत लागत रहने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुव भट्टराई
ध्रुव भट्टराई
लेखकबाट थप