शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौँडामा कृषि थोक बजारको शिलान्यास

शुक्रबार, १८ असार २०७८, १२ : ३४
शुक्रबार, १८ असार २०७८

मकवानपुरको हेटौँडामा अन्तर्राष्ट्रिय स्तरको कृषि थोक बजारको निर्माणको शिलान्यास गरिएको छ ।  शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा उपमहानगरपालिका वडा नम्बर–११ थाना भर्‍याङमा कुल २८ करोड ३६ लाख ५५ हजार रुपैयाँ लागतमा अन्तर्राष्ट्रिय स्तरको कृषि थोक बजार निर्माणको शिलान्यास गरेका हुन् ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, बागमती प्रदेश अन्तर्गतको कृषि विकास निर्देशनालय र हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा प्रादेशिक कृषि थोक बजार निर्माण योजना अनुसार काम सुरु गरिएको हो ।  

कुल २ बिगाहा ४ धुर क्षेत्रफलमा कृषि थोक बजार निर्माणका लागि निर्देशनालयले ७० प्रतिशत र उपमहानगरपालिकाले ३० प्रतिशत लागत व्यहोर्ने गरी साझेदारी गरेको जनाइएको छ । उक्त कृषि थोक बजार स्थापना पश्चात् सित भण्डार तथा भण्डारण, प्याकिङ, ग्रेडिङ, प्रशोधन लगायतको सुविधाहरूको अपर्याप्तता र अभाव जस्ता समस्याको अन्त्य हुने कृषि विकास निर्देशनालय हेटौँडाले जनाएको छ । 

निर्देशनालयका अनुसार, कृषि उत्पादनको मूल्य, गुणस्तरीय कृषि उत्पादन, बिचौलियाको अन्त्यका लागि उक्त कृषि थोक बजार उपयोगी रहेकाले निर्माण कार्य सुरु गरिएको हो । कृषि थोक बजार निर्माण पश्चात् यस बजारले बागमती प्रदेश मात्र नभई प्रदेश नम्बर २, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश लगायतका कृषि उपजहरू बिक्री वितरणलाई सहज बनाएर कृषिको व्यवसायीकरणलाई प्रवर्धन गर्ने निर्देशनालयको अनुमान रहेको छ । 

आगामी ३ वर्षभित्र सम्पन्न गर्ने गरी कृषि विकास निर्देशनालयले आह्वान गरेको बोलपत्र अनुसार ए.एन.के.–माउन्टेन जे.भी. कमलपोखेरीसँग ठेक्का सम्झौता गरेको छ । कृषि थोक बजार निर्माण सम्पन्न भइसकेपछि निर्देशनालयले उक्त बजार हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरिने जनाइएको छ । 

कृषि थोक बजारको शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले मकवानपुरवासीका लागि गौरवको काम भएको बताएका छन् । कृषि थोक बजार स्थापना पश्चात् मकवानपुरमा उत्पादन भएको तरकारी तथा कृषि उपजले देशका तथा विदेशको बजारमा  उचित मूल्य पाउने उनले बताए । 

कोल्डस्टोर्स सहित कृषि सुपर मार्केट निर्माण हुँदा प्रदेशभरका नागरिकहरूलाई फाइदाजनक हुने उनको भनाई छ ।  सरकारलाई सफल बनाउने जिम्मेवारी योजनाहरू सम्झौता गरेका निर्माण कम्पनीको भएको भन्दै मुख्यमन्त्री पौडेलले समयमा नै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन समेत दिए । 

कृषि थोक बजार निर्माणमा सरकार र मन्त्रालयबाट कुनै पनि बाधा नहुने भन्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले छिटो काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप