शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशसभा बैठकमा विपक्षीको अवरोध

शनिबार, १९ असार २०७८, १८ : १९
शनिबार, १९ असार २०७८

बागमती प्रदेशसभा बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन् । शनिबार प्रदेश सरकारको विनियोजन विधेयकमाथि छलफलका लागि बसेको दोस्रो बैठकमा विपक्षी दलहरूले संविधान र लोकतन्त्र माथि नै प्रहार हुने गरी बजेट कार्यक्रम विवरणको २ प्रकारका पुस्तक प्रकाशन गरेको भन्दै बैठक अवरुद्ध पारेका हुन् । 

बागमती प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, प्रतिपक्ष दल नेपाली काँग्रेस, विवेकशील साझा पार्टी र नेपाल मजदुर किसान पार्टीको अवरोध छ । उनीहरूले राप्रपा संयुक्तकी सांसद रिना गुरुङले सम्बोधन गर्ने क्रममा टेबुल ठटाएर बैठकमा अवरोध गरेका हुन् ।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेल, प्रतिपक्ष दलहरू नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, विवेकशील साझा पार्टीका बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्याल र नेमकिपा बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंले आफ्नो धारणा राख्दै बैठकमा अवरोध गरेका हुन् ।

विपक्षी दलका नेताहरूले विनियोजन विधेयकसँगै सरकारले २ प्रकारको बजेट कार्यक्रम पुस्तक समावेश गर्नु संविधान, संसद् र सांसद्हरुको मानमर्दन भएको भन्दै बैठक अवरुद्ध गरेका हुन् ।

सरकार मातहतको मिडिया हाउस सञ्चालन गरी प्रेस स्वतन्त्रतालाई कुण्ठित गरेको भन्दै उक्त निर्णयको खारेजीको माग गरेका छन् । त्यस्तै प्रदेश सरकारले विद्युतीय बस खरिद प्रक्रियालाई रोक लगाई विपद् व्यवस्थापनमा केन्द्रित भएर अघि बढ्नु पर्ने भन्दै संसद्मा अवरोध गरेका छन् ।

मन्त्री, नेता र कार्यकर्ता पोस्न केन्द्रित हुँदा प्रदेश सरकारले संविधान विपरीतको काममा लागेको उनीहरूको आरोप छ ।  प्रदेश सरकारले प्रतिपक्षको आवाज दबाउन खोजे वा हेपाहा प्रवृत्ति देखाए सशक्त प्रतिकारमा उत्रिने उनीहरूको भनाई छ । प्रदेश सरकारले गरेका गल्तीहरूलाई सच्याएर आए मात्र बजेट माथि छलफल अघि बढ्ने उनीहरूको भनाई छ । 

संसद्मा अवरोध भएपछि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक भोलि असार २० गते बिहान ११ सम्मका लागि स्थगित गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप