के अन्तरजातीय विवाह अरेन्ज म्यारिज हुन सक्दैन ?

person explore access_timeअसार २०, २०७८ chat_bubble_outline0

 

उसको र मेरो भेट नितान्त पारिवारिक सल्लाह अनुरूप भएको थियो । तँलाई मन प¥यो भने कुरा अगाडि बढाउँला, हैन भने जिन्दगीमा एउटा साथी थपिन्छ, के बिग्रियो त ? एक पटक भेटेर आइज भनेर मेरो परिवारले ऊसँग भेट्न सुझाउनुभएको थियो । मैले पारिवारिक सल्लाहबामोजिम उसलाई पहिलो पटक भेटेको हुँ ।

हामीले भेट ग¥यौँ । दुवैले आआफ्नो कुरा राख्यौँ या भनौँ त्यो तीन घण्टाको भेटमा काटकुट गरेर दस मिनेटमा उसले आफ्नो कुरा राख्यो । बाँकी समय म एक्लै बोलिराखेकी थिएँ । ऊ मेरो कुरा शान्त भएर बिना प्रतिक्रिया सुनिरहेको थियो । हामीले एक–अर्कालाई चिन्न कम्तीमा एक महिनाको समय चाहिने, त्यसपछि चित्त बुझ्यो भने कुरा उगाडि बढाउँला । हैन भने जीवनमा एक व्यक्तिसँग बढी परिचित भइयो भनेर बुझ्ने सहमतिमा हामीले पहिलो भेटलाई टुग्यायौँ । हुन त एक जिउँदो मानिसलाई पूर्ण रूपमा चिन्न कैयौँ वर्ष पनि कमी हुन्छ भन्छन् । तर पनि अझ बढी आफ्नो कुरा सुन्ने र सुनाउने मौका दिएर छुटेका थियौँ हामी ।

त्यसपछिका दौरान हामीबीच बाक्लै कुराकानी र केही पटक भेट भएको थियो । हामीले एकअर्कालाई स्वीका¥यौँ र परिवारलाई कुरा अगाडि बढाउँदा हुन्छ भनेका थियौ । हाम्रो भेट भनौँ वा कुराकानी चलेको केही महिना अनि निषेधाज्ञाको बीचमै सम्पूर्ण सुरक्षाको मापदण्डलाई पालना गर्दै हाम्रो विवाह सामान्य ढङ्गबाट न्यूनतम उपस्थितिमा सम्पन्न भयो । खुसी के कुराले मिल्यो भने हाम्रो विवाहमा उपस्थित कसैलाई पनि कुनै किसिमको स्वास्थ्य समस्या देखा परेन ।

कुरा सामान्य हो । हामी एकअर्का पारिवारिक तवरबाट भेट भयौँ । विवाह भयो, सकियो । तर विवाहपछि यो विषय यति सामान्य बनिरहन सकेन । यहाँ एक उपाध्याय बाहुनकी छोरी अझ पण्डितकी नातिनीले मगरको छोरासँग मागी विवाह वा चलनचल्तीका भाषामा भनौँ भने अरेन्ज म्यारिज भएको थियो । हामीले जात हेरेर हैन पात्र हेरेर विवाहका लागि राजी भएका थियौ । हाम्रो विवाहको प्रस्ताव मलाई नजिकबाट बुझ्ने र माया गर्ने आफन्तबाट आएको थियो । मलाई उहाँको प्रस्ताव उपयुक्त लागेर राजी भएको थिएँ ।

उसले कैयौँ पटक तिमीलाई जातका कारणले समस्या होला सोच । मलाई र मेरो परिवारलाई त केही फरक पर्दैन । यो समाजले म पुरुष भएको कारणले मलाई तिमीभन्दा केही बाढी छुट दिएको छ । तिमीले धेरै थरिका कुरा सुन्नुपर्ने हुन सक्छ । तिम्रो बाबा, मामी, दादा अनि केही औँलामा गनिने आफन्तहरुलाई जातले फरक नपर्ने भएर हाम्रो कुरा चल्यो । तर हामीसँग जुडेका अरू धेरैलाई स्वीकार्न गाह्रो होला । जीवन यति सीमित मानिसहरु बीचमा मात्र रहेर चल्दैन । अझ तिमी त ठूलो परिवारमा जन्मेको हुर्केको प¥यौ, तिमीले धेरैलाई जवाफ दिनुपर्ने हुन सक्छ । धेरैको वचन सुन्नुपर्ने हुन सक्छ । निर्णय लिनुभन्दा अगाडि हजार पटक जिन्दगीका बारेमा सोच, आउन सक्ने सम्भावित बाधा र आफूभन्दा तल्लो भनिने जातसँग विवाह गरेको कारणले सुन्नुपर्ने तानाहरु सबै सबैको बारेमा राम्ररी सोच । अरेन्ज म्यारिजमा अन्तरजातीय विवाहभन्दा बाहुनले जैसीसँग, जैसीले क्षत्रीसँगसम्म पचाउन सक्लान् तर तिम्रो र मेरो त यो समाजले पाचाउन नसक्ने अन्तर हुन सक्छ । म एक सामान्य परिवारमा जान्मेको हुँ । हाम्रो विवाह भयो भने पनि हामी आफैले आआफ्नो जागिरले भएको आम्दानीले मिलेर जिन्दगी चलाउने हो । म तिमीलाई मेरो परिपूरक हुनेभन्दा बढी अरू केही आश्वासन दिन असमर्थ हुनेछु । तिमीलाई त्यो केटासँग के देखेर विवाह गरिस् भन्ने खालका प्रश्न उठ्न सक्छन् । तिमी पहिलो केटी हैनौं मैले विवाहका लागि भेटेको । मेरो परिवारको सुझावमा केही पात्रहरुसँग पहिले पनि भेटेको छु । कोहीले जातका कारणले हिचकिचाहटको महसुस गरेकाले र कोहीसँग सहजता महसुस नगरेका कारणले कुरा अगाडि बढेन । तिमीसँग भने सहजता महसुस गरेको छु । तिमीसँग जिन्दगी अगाडि बढाउन पाए भने म खुसी हुनेछु । तिम्रो यस अर नो दुवै निर्णय म सम्मानपूर्वक स्वीकार गर्नेछु । कुनै प्रेसर फिल नगरी राम्ररी सोचेर जबाफ देऊ भनेर उसले हाम्रो तेस्रो भेटमै भनेको थियो । हामीले एकअर्कालाई दिएको एक महिनाको समय सकिन अझै केही दिन बाँकी नै थियो ।

अब निर्णय मेरो हातमा थियो । मैले सोचेँ केही दिन उसले भनेको जस्तो जातको विषयलाई भन्दा पात्रलाई अनि ऊसँग जीवन सहज ढङ्गबाट अगाडि बढ्न सक्छ कि सक्दैन भन्ने बारे सोचेँ । समाज र अरूले के सोच्छन् र के भन्छन् भन्दा पनि ऊ मेरा लागि उपयुक्त पात्र हुन सक्छ कि सक्दैन त्यो सोचे । मैले उसले भनेभन्दा अलि फरक ढङ्गबाट सोचे तर सोच्न चाहिँ राम्ररी नै सोचे । मैले मेरो मनको सुनेँ या भनौँ अन्तरआत्माको सुनेँ र विवाह प्रस्ताव स्वीकार गरेको केही महिनामा हाम्रो विवाह भयो । लकडाउनको समयको विवाह भएकाले एकदम थोरैलाई मात्र विवाहको खबर थियो । विवाहपश्चात सामाजिक सञ्जालको पहुँचले सबैमाझ एकै पटक खबर पुग्यो । धेरैलाई त सरप्राइज नै भएको थियो । त्यसपछि सुरु भयो मेरो फोनका घण्टीहरू बझ्न ।

मलाई बधाइको ओहिरो आउन थाल्यो । केटा के पढेको, के गर्ने, कहाँ घर सबैको जवाफ दिँदै जाँदा कुन जात भन्ने प्रश्नको जवाफले धेरैलाई मौन र आश्चार्य बनाएको थियो । केहिले त्यसो भए यो लभ म्यारिज हो अरेन्ज भनेर नढाँट भने केहिले आफ्नो जातको भेटिनस्, के ग¥या यस्तो भने । सबै कुरा त ठीक छ तर केहीलाई जात चाहिँ चित्त बुझेन । कुन जातसँग बिहे गरेको थाहा पाइसकेर फोन गर्नेले कति वर्षको लभ, सक्सेस गरिस् नढाँटी भन् भन्दै फोन गरे । मैले सबैलाई जे हो त्यही भनेँ । प्रश्नमाथि प्रतिप्रश्न गरेँ मैले पनि उत्तरमाथि प्रतिउत्तर दिएँ । मैले प्रत्येक फोन कलमा जस्टिफिकेसन दिएको देखेर उसले (मेरो श्रीमान्) लभ म्यारिज हो भन्देऊ न । किन यति धेरै सवालको उत्तर दिँदैछौ । तिमीलाई बधाई दिन हैन, अपराधी ठहर गर्न फोनको पैसा खर्च गरिराछन् सबैले । लभ म्यारिज हो भन्यो भने यति प्रश्नको सामना गर्नु नपर्ला तिमीले भनेर भन्न थालेको छ ऊ । ऊ आफैले पनि चिनेजानेकाको प्रश्नबाट बच्न लभ म्यारिज हो भन्ने गरेको छ । मैले धेरै पटक आपत्ति जनाएकी छु उसको यो जवाफमा ।

मलाई फोन गर्नेमध्ये अधिकांश सबै डिग्रीधारी सर्टिफिकेट होल्डर वाला थिए । बढी आश्चर्य, आपत्तिको भाव पनि तिनीहरुले नै व्यक्त गरेका थिए । हुँदाहुँदा सोसियोलोजीमा मास्टर्स गरेको साथीले यो समाजले नपचाउने काम गरिस्, अरू कोही भेटिनस् बिहे गर्न ? कि लभ म्यारिज हो भन् । हैन भने अरेन्ज म्यारिज हो भनेर तर्क नगर भनेर फोन काट्यो । यो समाजका डिग्रीधारीको सोच र चिन्तनको बिजोग छताछुल्ल भएको थियो मेरो अगाडि । उसको सामाजिक सञ्जालमा धेरै पटक सामाजिक विभेद र असमानताविरुद्धको ब्यानर बोकेर सडकका उत्रिएको फोटो र स्टाटस देखेकी थिएँ । त्यही मान्छेसँग लभ म्यारिज हो भन्दा पचाउन सजिलो हुने रे अनि अरेन्ज हुँदा नपचाउने रे । के लजिक रैछ, यो अझै बुझ्न सक्या छैन ।

त्यसपछिका केही दिन म लभ म्यारिज र अरेन्ज म्यारिजको भिन्नताको गुदी के हो केलाउन थालेको छु । आज पात्र खोजेर आजै विवाह गर्नु अरेन्ज कि केही दिनपछि गर्दा लभ हुने हो ? वा अरेन्ज म्यारिज अन्तरजातीय पनि हुन सक्छ भनेर स्वीकार गर्न नसकेको फ्रस्टेसनले बोल्दा बोल्दै फोन काटेको हो ? अनि म आफैलाई प्रश्न गर्छु, ‘के अन्तरजातीय विवाह अरेन्ज म्यारिज हुन सक्दैन ? के हामीसँग यो सत्यलाई स्वीकार गर्ने आँट छैन ? के अरूको नितान्त व्यक्तिगत निर्णयलाई हामी सम्मानसम्म पनि गर्न सक्दैनौँ ? कि मेरो श्रीमानले भने जस्तो मलाई अपराधी नै ठहर गराउने मनसाय हो ? अनगन्ती प्रश्न उठिरहेका छन् । हुन त अरूले के भन्छन् र सोच्छन् भन्ने कुरालाई प्राथमिकता नदिने म, परिवर्तन चाहने र परिवर्तनलाई स्वीकार गर्छन् भन्ने आस लागेका पात्रहरुबाट मिलेको टिप्पणीप्रतिको मात्र आपत्ति हो मेरो । मेरो व्यक्तिगत निर्णयमा औँला उठाउने छुट त कसैलाई छैन र मलाई फरक पनि पर्दैन । तर पनि यसले हाम्रो सामाजिक विभेदप्रतिको दृष्टान्त प्रतिविम्बित गर्छ । यो त एक सामान्य प्रतिनिधिमूलक घटना मात्र हो । यस्ता हजारौँ जातीय विभेदका घटना छन्, जसले समाजलाई हरपल पोलिरहेको छ, जलाइरहेको छ । कुनै दिन खरानी नबनाउला भन्ने स्थिति छैन । अनि बचाउने कसले ? यही पढेलेखेका डिग्रीधारीले ? जवाफ पाउन मुस्किल छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।