शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेतृत्वमा स्वःअनुगमन र मूल्याङ्कनको खाँचो

सोमबार, २१ असार २०७८, २० : ५९
सोमबार, २१ असार २०७८

नेपाल प्राकृतिक स्रोत साधन सम्पन्न देश हो । यहाँ विश्वको सर्वोच्च चुचुरो, मनमोहक तथा रमणीय अनेकौँ हिमशृङ्खला, पहाड, पर्वत, हरियाली वनजङ्गल, मूल्यवान जडीबुटी, फाँटहरू अनि त्यसमा रस भर्ने नीला नदीनाला, झरना, खोला खोल्सा, ताल तलैया छन् । यो देश तराईको समथर भूभागदेखि आठ हजार मिटरभन्दा अग्ला हिमाली शीतल छहारीमा फैलिएको छ । जाति, धर्म, भाषा, संस्कृति, भेषभूषा, रीतिरिवाज, रहनसहनले सम्पन्न देश भएकाले पर्यटकहरूका लागि विश्वको एउटा महत्त्वपूर्ण गन्तव्य पनि हो । बुद्ध भगवानको जन्मस्थल, राजा जनकको राज्य, पशुपतिनाथ, मुक्तिनाथ तथा बराहक्षेत्रको देश, सीता र भृकुटी जस्ता विदुषीहरू जन्माएको देश हो । प्राचीन कला, संस्कृति, देवल, चैत्य, मन्दिर, गुम्बा, आदिले देश भरिभराउ छ । भौगोलिक विविधताले प्रदान गरेको कृषि उत्पादनमा तुलनात्मक लाभका अनेकौँ अवसरले भरिएको देश हो । अत्यन्त मिहिनेती, लगनशील एवं तीक्ष्ण बुद्धिका नागरिकहरू पनि यस देशमा छन् । यी प्राकृतिक एवं मानव स्रोत साधनको उचित एवं एकीकृत व्यवस्थापन तथा प्रवद्र्धन गर्न सके देशमा अवसरै अवसरले सम्पन्न देश हुनेथियो ।

विडम्बना ! हाम्रा संस्कार र संस्कृतिले उब्जाएका समस्याका कारण विगतका अनेकौँ तरिकाबाट ब्रह्मलुट मच्चाउने प्रवृत्तिका मानिस बढ्दै गएका छन् । मानिसका विचार, संस्कार, संस्कृतिले त्यसैको पक्ष पोषण गरेका छन् । कतिपय विधान, ऐन नियम, निर्देशिका तथा कार्यविधिका प्रबन्धमा समसामयिक परिवर्तन नगरेसम्म यो चरम व्यक्तिवादी बेथितिलाई सही बाटोमा ल्याउन सक्ने सम्भावना छैन । किनभने नयाँ बनाइदै गरेका विधान, ऐन नियम, निर्देशिका तथा कार्यविधिहरू पनि घुमाई फिराई विगत र वर्तमानलाई नै निरन्तरता दिने गरी बनाइँदै आएका छन् । यसलाई सुधार गर्न निम्न उपाय अपनाउनु जरुरी छ ।

आफ्नो कमजोरी थाह पाउन सहकर्मीको सहयोग

घोडा, साइकल, मोटरसाइकल चड्ने मान्छे लड्छ वा लड्न सक्छ । नेतृत्व तहमा बस्नेहरू जो सानो कार्यालय वा शाखाका प्रमुख होऔँ वा महाशाखा वा विभागीय प्रमुख वा मन्त्रालयका सचिव वा मन्त्री वा मुख्य सचिव वा मुख्य मन्त्री वा प्रधानमन्त्री वा प्रधानन्यायाधीश वा राष्ट्रपति आदि जो होउँ हाम्रो आफ्नो कामको सिलसिलामा गल्ती, कमी कमजोरी भएको हुन सक्छ । त्यसलाई सच्याउन तत्पर रहौँ ।

विगत ३० वर्षदेखि हामीले बहुदलीय लोकतान्त्रिक राज्य व्यवस्था अँगाल्दै आएको हुँदा यहाँको राज्य सञ्चालनमा राजनीतिक दलहरूको महत्त्वपूर्ण भूमिका हुन्छ । देशको समृद्धिका लागि राजनीतिक दलका नेताहरू अर्थात प्रमुख नेतृत्वगणको भूमिका महत्त्वपूर्ण हुन्छ । नेतृत्वकर्ताहरूले गाउँ, टोलदेखि वडा, पालिका, जिल्ला, प्रदेश र केन्द्र तहका सबै शीर्ष नेतालाई प्रमुख नेतृत्व तहका व्यक्तिका रूपमा मान्नु पर्दछ । उनीहरुले आफ्नो जिम्मेवारी निर्वाह गर्दा कति पटक लडे होलान् । कति काम बिगारे होलान् ? साना, ठूला बदमासी गरे होलान् ? हाम्रा सयौँ नेताहरूले पालैपालो एकपछि अर्को गल्ती गर्दै जाँदा त्यसको नतिजा सर्वसाधारण नागरिकहरूले समृद्धिको फल चाख्न नपाएका हुन् । सुशासनको अनुभूति गर्न नपाएका, अनि राष्ट्रियता, राष्ट्रिय अखण्डता तथा सार्वभौमिकता झन् धुमिल हुँदै गएको छ । अर्थतन्त्रमा समेत परनिर्भरता बढ्दै गएको अवस्था छ । तर हाम्रा नेताका प्रतिबद्धता भने देशलाई स्विजरल्यान्ड बनाउने, सिङ्गापुर बनाउने भन्ने छ । कतिपय सूचकाङ्कहरूमा यो ३० वर्षे बहुदलीय कार्यकालमा देश झनै पछि धकेलिएको देखिन्छ । देश र नागरिकहरूको यो दुर्गति हुनुमा धेरै कारण छन् । तर एउटा मुख्य कारण कतिपय नेताहरूले देशमा मनपरीतन्त्र चलाउनु र तिनलाई लगाम लगाउन उचित व्यवस्था नगरिनु नै हो । त्यसो हुनाले आफ्ना समकक्षी सहकर्मीबाटै उनीहरूलाई सचेत गराउने काम नियमित गर्दै जान जरुरी देखिएको हो । यसबाट नेताहरूले समय समयमा आफ्नो अनुहार छर्लङ्ग देख्दै जान सकून् । यहाँ नेतृत्व तहका व्यक्तित्वको नियमित स्वःअनुगमन तथा मूल्याङ्कन गर्ने परिपाटी बसालौँ भन्न खोजिएको हो । आफूबाट भए गरेका कामको अनुगमन, मूल्याङ्कन गर्ने, अलिअलि स्वःअनुगमन, मूल्याङ्कन पनि हुन आवश्यक छ । त्यसैअनुसार व्यक्तिहरूको वृत्ति विकास गर्ने गराउने व्यवस्था ठीक बेठीक जेजस्तो भए पनि कर्मचारीतन्त्रमा चल्दै आएको छ । तर राजनीतिक क्षेत्रमा अथवा पार्टी तहमा यस्तो परिपाटी नभएको जस्तो देखिन्छ ।

पार्टी पद्धतिमा स्वःअनुगमन, मूल्याङ्कनको खाँचो

देशमा समृद्धिको रेखा कोर्न र कर्मचारीतन्त्रलाई मार्गनिर्देश गर्न ठीक बेठीक जेजस्तो भए पनि नेताहरूको भूमिका स्थापित नै छ । तर उनीहरूले गरेका वा गर्न लागेका बदमासीपूर्ण कामको निगरानी गर्ने र त्यस्ता व्यक्तिहरूलाई समयमै पार्टी अनुशासनको कार्यवाहीको दायरामा ल्याउने उचित प्रबन्ध भएजस्तो देखिँदैन । पार्टीको आन्तरिक चुनाव होस् वा राज्यको आवधिक निर्वाचन, त्यसबाटै नेताहरूको अनुगमन, मूल्याङ्कन हुने गरेकै त छ भन्न सकिन्छ । त्यो पनि एउटा अनुगमन, मूल्याङ्कन त हो । तर मानिसले एकै दिनमा राम्रा वा नराम्रा धेरै काम गर्न सक्छ भने ६६० दिन वा ८२५ दिनसम्ममा कति धेरै राम्रा र नराम्रा काम गरिसकेका होलान् ? जसले विकास निर्माण तथा सेवाका काम हुन नसकेको वा समयमा हुन नसकेको वा गुणस्तरीय हुन नसकेको आदि हुन सक्छन् । यसबाट सर्वसाधारण नागरिक प्रत्यक्ष मारमा पर्ने गर्छन् । त्यसो हुनाले यी कतिपय राम्रा नराम्रा कामको अनुगमन, मूल्याङ्कन चुनावले मात्र गर्ने हो भने धेरै उत्पादन क्षमता त्यसै खेर जान सक्छन् । बद्मासी गर्न चाहनेहरूले चाहिँ राम्रैसँग बदमासी गरिरहन पाउँछन् । त्यसकारण चार वर्ष या पाँच वर्षमा एक पटक मात्र अप्रत्यक्ष प्रकारको अनुगमन, मूल्याङ्कन वा स्वःअनुगमन मूल्याङ्कन गर्ने परिपाटी अँगालेर हाम्रा नेतृत्वगणको कमी कमजोरीहरूलाई समयमै सच्याउन सक्ने देखिँदैन । उनीहरूको दूरदर्शिता, प्रभावकारिता तथा कार्यदक्षता बढाउन सक्ने सम्भावना पनि देखिँदैन

रामराज्यको समय भएको भए हाम्रा नेतृत्वगणको कमी कमजोरी हुन नदिन र दूरदर्शिता, प्रभावकारिता र कार्यदक्षता बढाउन अनुगमन, मूल्याङ्कनको जरुरत नपर्न सक्थ्यो । तर हामी कलियुगका मानव प¥यौं । हामीले माने वा नमाने पनि हामी सबै नै चार दोष (भ्रम, प्रमाद, विप्रलिप्सा र करणापाटव) बाट ग्रस्त छौँ । कसले भन्छ मानिस स्वभावैले बद्मास हुन्छ । यो कुरा मान्ने वा नमान्ने व्यक्तिको आआफ्नै इच्छा हो । तर यो भनाइ मान्नेहरू कम बदमास होलान् भन्ने अनुमान गर्न सकिन्छ भने नमान्नेहरू पक्कै बढी बदमास हुन्छन् भन्ने बुझ्न जरुरी छ ।

त्यसकारण हाम्रा विभिन्न तहका नेतृत्वगणका नेताहरूको स्वःअनुगमन, मूल्याङ्कन गर्ने कार्य उनका आफ्नै समकक्षी (सहकर्मी)हरूबाट हरेक तीन तीन महिना वा बढीमा छ छ महिनामा गर्ने परिपाटी अँगाल्न जरुरी देखिन्छ । यहाँ आफ्नै समकक्षी, सहकर्मी भन्नाले विभिन्न तहका कार्यसमितिका सदस्यहरूलाई भन्न खोजिएको हो । जस्तै पार्टी गाउँ कमिटीको कार्यसमिति, केन्द्रीय तहको स्थायी समितिको कार्यसमिति आदि । यसका लागि आवश्यक सबै नीति, नियम, तरिका प्रक्रिया र तिनका सूचक तयार गरी अनुगमन, मूल्याङ्कन प्रणालीलाई पार्टी पद्धतिको तलदेखि माथिसम्मका कार्यसमितिमा स्थापित गर्न जरुरी हुन्छ । यस्तो अनुगमन मूल्याङ्कनका लागि सदस्यहरूले आफ्ना मत जाहेर गर्ने काम गोप्य तरिकाबाट गरिनुपर्दछ । तर मूल्याङ्कनको निचोड चाहिँ सार्वजनिक गर्नै पर्दछ । त्यस्ता थुप्रै पटकका मूल्याङ्कनहरूको निचोडका आधारमा मात्र नेतृत्व तथा शीर्ष नेतृत्व चयन गर्ने परिपाटी अँगाल्नु र्पर्छ । पार्टी पद्धतिमा यस्तो किसिमको व्यवस्था हुनु जरुरी छ । तर त्यसका लागि पार्टी सङ्गठनको विधान तथा नीति नियमहरूमा सोको स्पष्ट व्यवस्था गरिएको हुनुपर्दछ ।

यसरी नेतृत्वको टाउकोमा डण्डा चलाउन वा उनीहरूलाई अझ थप जिम्मेवारी दिन मार्ग निर्देश गर्न सक्ने प्रकारको अनुगमन, मूल्याङ्कन प्रणाली अनुसरण गर्न सकिन्छ । त्यस्तो अनुगमन, मूल्याङ्कनको नतिजा ठीकसँग कार्यान्वयन गर्नैपर्ने बाध्यकारी परिपाटी अवलम्बन गर्दा मात्र हामी सबैका पाइला सत्मार्गतर्फ अघि बढ्न सक्छन् । चौरासी लाख योनीमध्येको सर्वोत्कृष्ट जीव भएकाले आफ्नो अनुगमन मूल्याङ्कन अरू कसैबाट गराइरहनु पर्ने अवस्था नआउनु पर्ने हो अर्थात् अनुगमन, मूल्याङ्कन गर्न हरेक व्यक्ति आफैँ सक्षम हुनुपर्ने हो । पार्टीको आन्तरिक चुनाव र राज्यको आवधिक निर्वाचनबाट प्राप्त हुने नतिजालाई नै अनुगमन, मूल्याङ्कनको परिपूरक मान्न सकिने थियो । तर भ्रम, प्रमाद, विप्रलिप्सा र करणापाटव जस्ता खतरनाक दोषबाट हामी ग्रस्त भएका कारण शीर्ष नेतृत्वको र हामी सबैको अरूले मुख्यतः आफ्नै सहकर्मीहरूबाट नियमित रूपमा अनुगमन, मूल्याङ्कन गर्दै जाने कार्यप्रणाली अपनाउनुपर्ने आवश्यकता छ ।

उपसंहार

हरेक काम वा निर्णय गर्नुभन्दा पहिले मृत्युको मुखमा पर्न लाग्दाको पीडा अनि मृत्युपछिको अन्धकारयुक्त गन्तव्य बारे एकचोटि राम्ररी सोच्नुपर्छ । किनभने यस तथ्यलाई व्यावहारिक रूपमा आत्मसात गरेमा मात्र स्वःअनुगमन, मूल्याङ्कन यथार्थपरक एवं विश्वासयोग्य बन्न सक्छ । हाम्रो आयु बढीमा ८०, ९० वर्षको मात्र हुन्छ । यो अवधिमा क्षणिक सुखका लागि हजारौँ कल्प रसातल पातालमा भासिने दुष्कर्म नगरौँ । यो अत्यन्त छोटो जीवनलाई सत्मार्गमा लगाउँदै सबै सहकर्मीको निस्वार्थ एवं निष्पक्ष सरसल्लाहबाट आफ्ना पाइलाहरू अघि बढाउने परिपाटी अँगालौँ । यसबाट आफूलाई सत्मार्गमा डो¥याउन सकिन्छ । अनि देश र नागरिकले पनि समृद्धि हासिल गर्न सक्छन् । सबैको कल्याण हुने, यस्तो उत्तम मार्गलाई किन नपछ्याउने त ? त्यसकारण यसबारे मुख्यतः नेतृत्वतहका व्यक्तित्वहरूले हरपल गम्भीरताका साथ सोच विचार गरौँ । हरेक तहका पार्टी कमिटी, समितिहरूमा अनुशासन समितिलाई सशक्त बनाउन जरुरी छ । अनि सो समितिलाई स्वःअनुगमन तथा मूल्याङ्कनको सहजीकरण गर्ने जिम्मेवारी दिने र स्वःअनुगमन, मूल्याङ्कनका नतिजाहरूको ठीक ढङ्गले कार्यान्वयन गर्दै अघि बढ्ने कार्यप्रणाली अपनाउन ज्यादै आवश्यक भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. विष्णुकुमार धिताल
डा. विष्णुकुमार धिताल
लेखकबाट थप