शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतसँग किन बिग्रियो उपेन्द्र यादवको सम्बन्ध ?

सोमबार, २१ असार २०७८, १३ : ०७
सोमबार, २१ असार २०७८

गत असार १२ गते जनता समाजवादी पार्टी (जसपा) सप्तरीले आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादवले भने, ‘भारत हाम्रो मित्र हो, तर मित्रको पनि मित्रजस्तै व्यवहार हुनुपर्छ ।’ यादवले जसपा कार्यकर्ताहरूसँग भने, ‘हाम्रो आन्तरिक मामिलामा निर्णय गर्ने अधिकार हामीलाई मात्र छ, कुनै मित्रले अर्काको घरमा गएर निर्देशन दिएर घर चलाउन थाल्यो भने त्यो मित्र स्वीकार्य हुँदैन । मित्र र दासत्वमा फरक हुन्छ, मित्रतामा मित्रता हुनुपर्छ, अरू केही होइन ।’

यादवको थप भनाइ थियो, ‘चाहे भारत होस्, चीन होस्, अमेरिका होस् या जापान होस्, हामी सबैसँग मित्रता चाहान्छौं । तर,  हामी आफ्नो घरको निर्णय आफैँ गर्न सक्षम छौँ । कसैको निजी मामिलामा हस्तक्षेपले भारतलाई पनि फाइदा हुँदैन ।’

सप्तरी जिल्लाभरका जसपाका कार्यकर्ताहरू भरिभराउ रहेको सो कार्यक्रममा अध्यक्ष यादवले भनेका थिए, ‘जसपाकै कतिपय नेताहरू साँझ–बिहान दूतावास धाउने गरेका छन् । कोही दिल्ली दौडमा छन्, कोही पटना दौड लगाइरहेका छन् ।’

केही समयअघिसम्म भारतको सबभन्दा विरोधी प्रधानमन्त्री केपी शर्मा ओली आज कसरी भारतको नजिकको मित्र बन्न पुगे, त्यो नै सोचनीय कुरा रहेको यादवले बताएका थिए । ओलीको जस्तो कहिले चीनतिर त कहिले भारततिर नलाग्ने बताउँदै उनले भने, ‘न हामी प्रो चीन, न प्रो भारत, न प्रो अमेरिका, हामी  प्रो नेपाल हो, क्लियर छ, जसलाई गुलाम बन्न जानु छ, जाओस् ।’

जसपामा देखिएको अहिलेको आन्तरिक विवादमा भारतले हस्तक्षेप गरेको बुझाई जसपा अध्यक्ष यादवको छ । जसपाद्वारा असार ६ गते आयोजना गरिएको एक भर्चुअल प्रशिक्षण कार्यक्रममा पनि पार्टीमा भारतको हस्तक्षेप बढ्दै गइरहेको यादवले धारणा राखेका थिए । उनले भनेका थिए, मैले पार्टीको विवादको बारेमा महन्थ ठाकुर र राजेन्द्र महतोसँग कुरा गर्दा उहाँहरूले नै भन्नुहुन्छ, हामी के गर्न सक्छौँ, हामी त नोकर हौँ, मालिकले जे भन्छ, त्यही गर्छौँ ’ यस्ता अरूको गुलामी नेताहरूले देश र मधेसको कसरी प्रतिनिधित्व गर्न सक्छन् ?’

महन्थ ठाकुरहरू जुन मालिकको इशारामा काम गरिरहेका छन्, यदि भोलि गएर लोकतन्त्र समाप्त भयो भने त्यो मालिकले पनि साथ छाड्ने प्रशिक्षण कार्यक्रममा यादवले बताएका थिए । देशमा ठुलो भूराजनीतिक खेल भइरहेको यादवको विश्लेषण थियो ।

भारतसँग किन बिग्रियो सम्बन्ध ?

विगतमा पनि तत्कालीन मधेशी जनअधिकार फोरम पटक–पटक विभाजन हुँदा उपेन्द्र यादवले भारतप्रति यस्तै आक्रोशपूर्ण मन्तव्य दिने गरेका थिए । भारतले आफ्नो पार्टी फुटाइदिएको यादव पक्षका नेताहरूले गुनासो गर्दै आएका छन् ।

अहिले पनि विगतमा जस्तै भारतकै कारण जसपामा फुट आएको उपेन्द्र यादवको विश्लेषण रहेको सप्तरीका नेता बलराम यादव बताउँछन् । उपेन्द्र यादवसँगै फोरममा रहेर काम गरेका बलराम भन्छन्, भारतको संस्थापक पक्षले उपेन्द्र यादवलाई पटक–पटक दुःख दिएको छ, अहिले त्यसैको आक्रोश हो ।’

उपेन्द्र यादवले मधेस आन्दोलन सुरु गर्दा भारतलाई त्यो कुरा पचेको थिएन र उनकै सामुन्नेमा काँग्रेसबाट ल्याएर महन्थ ठाकुरलाई उभ्याइदिएको बलरामको तर्क छ । उनी भन्छन्, ‘मधेस आन्दोलन गरिरहेको तत्कालीन मधेसी जनअधिकार फोरमको विरुद्धमा भारतले नै तमलोपा गठन गर्न लगाएको हो । त्यतिमात्र होइन, उसले भनेको नमान्दा भारतले फोरमलाई पटक–पटक फुटायो, यही कुरा अहिले जसपामा दोहोरिएको छ ।’

भारतले मधेसमा महन्थ ठाकुरलाई हातमा लिएर खेलिरहेको दाबी गर्दै उनले मधेस आन्दोलनको सुरुवातदेखि अहिलेसम्म ठाकुर भारतको गोटी भएको आरोप लगाए । बलराम भन्छन्, ‘उपेन्द्र यादवले महन्थ ठाकुरको नेतृत्वको राजपासँग त्यतिकै एकीकरण गरेका होइन, महन्थ ठाकुरसँग पार्टी एकीकरण नगरे समाजवादी पार्टी फुटाइदिने धम्की आएको थियो । एकीकरणका लागि तयार नहुँदा पार्टी फुट्ने अवस्थामा पुगेपछि राजपासँग उपेन्द्रले रातारात एकीकरण गरेका हुन् । अहिले भारतले फेरि त्यही खेल खेल्न सुरु गरेपछि उपेन्द्र यादवको आक्रोश बढेको हो ।’

उता पत्रकार चन्द्रकिशोरको बुझाइ अहिले फरक छ । उनी भन्छन्, ‘भारतप्रति उपेन्द्र यादवको आक्रोश मौसमी हो । आफ्नो अनुकूल नभएपछि भारतलाई विरोध गर्नु उपेन्द्र यादवको पुरानै आदत हो ।’ जब भारतसँग सम्बन्ध राम्रो हुन्छ, राजनीतिक फाइदा लिइरहेका हुन्छन्, त्यसबेला उनी बोल्दैनन् । जब आफ्नो अनुकूल हुँदैन, अनि विरोध गर्न थाल्छन् ।’

चन्द्र किशोरको बुझाइमा भारतमा भूमिगत हुँदा मातृका यादव, सुरेश आलेमगर, मोहन वैद्य किरण समातिए पनि उपेन्द्र यादव किन समातिएनन्, त्यसबारेमा उनले कहिल्यै खुलासा गरेका छैनन् । मधेस आन्दोलन हुँदा उपेन्द्र प्रायः नेपाल–भारत ओहोर–दोहोर गरिरहने गरेको चन्द्र किशोर बताउँछन् । मधेस आन्दोलनका बेला भारतीय नेताहरू गरेको कार्यक्रममा उनले भाषण गरेको बताउँदै चन्द्रकिशोरले भने, ‘गौर घटनापछि उनी भारतमै गएर लुकेका थिए । उनी जहिले पनि भारतका बारेमा अमूर्त कुरा गर्छन्, मधेसको भारत नीति के हुन्छ, यादवले कहिले प्रष्ट पारेनन् ।’

अर्का वरिष्ठ पत्रकार सीताराम आग्रहरिचाहिँ उपेन्द्र यादव स्वाभिमानी नेताका रुपमा उभिएको र यादवको यस्तो अडान भारतलाई मन नपरेको बताउँछन् । ‘उपेन्द्र यादवप्रति भारतको व्यवहार पुनरावृत्ति भएको छ, त्यही भएर उहाँको आक्रोश बढेको हो,’ अग्रहरी भन्छन्, ‘तराई मधेसमा कोही स्वाभिमानी रूपमा खडा भयो भने भारतलाई पच्दैन र उसलाई तल झार्न चाहन्छ, उपेन्द्र यादवको हकमा यही भएको हो ।’

अग्रहरी थप्छन्, उपेन्द्र यादव भारतविरोधी होइनन्, तर उनी ‘यसम्यान’ बन्न चाहँदैनन् । भारतलाई तराई मधेसमा ‘यसम्यान’ चाहिएको छ, जुन उपेन्द्र यादव बन्न चाहेका छैनन् । भारतका लागि महन्थ ठाकुर र राजेन्द्र महतो नै उपयुक्त भएका छन् ।’

अग्रहरीको विचारमा भारत केपी ओलीलाई नै शक्तिशाली बनाउन चाहन्छ, जसमा उपेन्द्र यादवले साथ नदिएपछि भारतलाई मन परेन र अहिले महन्थ र राजेन्द्र महतोलाई प्रयोग गरेर जसपालाई फुटाउने चलखेल भइरहेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप