बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एमालेमा दोस्रो पुस्तामाथि प्रश्न : किन हुँदैन ओली र नेपालमाथि हस्तक्षेप ?

अझै कार्यदलमार्फत समाधान खोज्ने अन्तिम प्रयास
सोमबार, २१ असार २०७८, १६ : ४१
सोमबार, २१ असार २०७८

कहिले चर्किँदै त कहिले मत्थर हुँदै आएको सत्तारुढ नेकपा एमालेको अन्तर्विरोध थप जिम्लिएको छ । विवाद समाधान गर्न प्रयासरत दुवै पक्षका दोस्रो तहका नेताहरूको दौडधुप जारी रहे पनि उनीहरूले हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सकेका छैनन् ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र असन्तुष्ट पक्षका नेता माधवकुमार नेपाल आआफ्नै अडानबाट टसको मस भएका छैनन् । दोस्रो तहका नेताहरूले जति दौडधुप गरे पनि ओली र नेपाललाई सहमतिमा ल्याउन सकेका छैनन् । दुवै समूहका दोस्रो पुस्ताका नेताले ओली र माधवलाई न त फकाउन सकेका छन्, न दबाब नै दिन सकेका छन् । अन्ततः एमालेभित्रको दोस्रो पुस्ता निरीह र कमजोर बनेको छ ।

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका २३ सांसदले गरेको हस्ताक्षर फिर्ता हुनुपर्ने अध्यक्ष ओली पक्षको अडान र उक्त हस्ताक्षर कुनै हालतमा फिर्ता नगर्ने नेता नेपालको अडानले औपचारिक विभाजनको सङ्घार मा पुगेको एमाले जुट्छ या फुट्छ ? यसै भन्न सक्ने अवस्था छैन ।

अध्यक्ष ओली र नेता नेपालका पछिल्ला सार्वजनिक अभिव्यक्ति र आशय सुन्दा एमाले जुट्नेभन्दा पनि फुटतिरकै यात्रामा दौडिरहेको सहजै बुझ्न सकिन्छ । तर, पार्टी फुटको जिम्मेवारी लिन भने कुनै पक्ष पनि तयार छैन । एकले अर्कोलाई चेतावनी र धम्की दिँदै गलाउने र थकाउने प्रयास भइरहेको छ । एकले अर्कोलाई दोषी देखाएर आफू पानीमाथिको ओभानो हुने प्रयास दुवै पक्षबाट हुँदै आएको छ ।

यद्यपि पछिल्लो समय पार्टीभित्रको विवाद मिलाउन प्रयासरत दोस्रो पुस्ताका नेताहरू ठोस सहमतिमा पुगी नसके पनि निराश भइहाल्नुपर्ने अवस्था नरहेको बताउँछन् ।

एमाले संसदीय दलका उपनेतासमेत रहेका ओली पक्षीय नेता सुवास नेम्वाङ एमालेभित्र देखिएको विवाद समाधान गर्नु चुनौतीपूर्ण भए पनि निराश हुनुपर्ने अवस्था नरहेको बताउँछन् ।


संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङ दोस्रो पुस्ताका नेताहरूको हस्तक्षेपकै कारण अहिलेसम्म पार्टी विभाजन रोकिएको दाबी गर्छन् । नेम्वाङको भनाइमा एमाले विवाद जिम्लिएको पानीजस्तै भएको छ ।

‘नेकपा हुँदै यो समस्या बल्झिन थालेको हो । अहिले मात्रै होइन अहिले त तीन वर्ष भयो’, नेम्वाङ रातोपाटीसँग भन्छन्, ‘पानी जिम्लिएपछि खसीको रौँ तान्न पनि गाह्रो नि ! हो त्यस्तै भएको छ ।’

नेम्वाङले एमाले विवादलाई जिम्लिएको पानीसँग तुलना गर्दै त्यो पानी फालेर अर्को उमाल्ने समय नभएको बताए । ‘हामीसँग अर्को पानी उमाल्ने समय छैन । त्यही पानीबाट काम चलाउने प्रयास भइरहेछ’, नेम्वाङको भनाइ छ ।

उनले एमालेलाई मिल्न नदिन र फुटाउन देशभित्रका र बाहिरका शक्तिहरू लागेको आफूले पहिलेदेखि नै भन्ने गरेको बताए । यही कारणले समस्या भइरहेको उनले दाबी गरे ।

‘हामी कम्युनिस्टहरूलाई फुटाउन देशभित्र र बाहिर सारा संसार लाग्दा रहेछन् । जुट्ने भनेको हाम्रो आफ्नै बलबुताले हो, जुट्नुको विकल्प छैन’ नेम्वाङ भन्छन्, ‘त्यस कारण यति थुप्रै चुनौतीहरूलाई पार लगाउँदै जुट्ने कुरा सहज हुँदैन । तैपनि हाम्रो ठाउँबाट प्रयास नगरेको होइन । यसअघि धेरै कुराहरूलाई पार नलगाइएको पनि होइन । त्यसका आधारमा हामी अहिले पनि उत्साहका साथ लागिरहेका छौँ, लाग्छांै ।’

बालुवाटार बैठकले माधव पक्षका २३ सांसदलाई हस्ताक्षर फिर्ता गर्न दिएको अल्टिमेटम सोमबार अपराह्न ५ बजेपछि के हुन्छ भन्ने प्रश्नमा नेम्वाङले आजभोलिको कुरा भन्दा पनि संसदीय प्रणालीमा एउटै दलका मानिस दुईतिर उभिन हुँदैन भन्ने महत्त्वपूर्ण कुरा भएको कूटनीतिक जवाफ दिए । उनले भने, ‘यो दुर्भाग्य हो । यो स्थितिको अन्त्य गर्नुपर्छ ।’

पार्टी एकताको आशा अझै जीवितै छ भन्ने नेम्वाङको भनाइमा माधव पक्षका नेता सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट पनि सहमत छन् ।

माधव पक्षका नेता सुरेन्द्र पाण्डे पनि नेम्वाङले जस्तै दोस्रो पुस्ताले हस्तक्षेप नगरेको भन्ने आरोपमा सत्यता नरहेको बताउँछन् । उनी भन्छन्, ‘हाम्रो पुस्ताले हस्तक्षेप गरिरहेको छ । केही दिन हेर्दै जानुस्, परिणाम पनि देखिन्छ ।’

अर्का नेता गोकर्ण विष्ट दोस्रो पुस्ताको हस्तक्षेपकै कारण पार्टी विभाजन रोकिएको दाबी गर्दै भन्छन्, ‘दोस्रो पुस्ताको हस्तक्षेप नभएको भए सम्भवतः केही महिनाअघि नै पार्टी विभाजन भइसक्थ्यो । दोस्रो पुस्ताले पहलकदमी र सक्रियता नदेखाएको भए यति बेला एमाले दुर्भाग्यपूर्ण परिणाममा पुगिसकेको हुन्थ्यो, अर्कै अवस्था आइसक्थ्यो ।’

विष्टले अगाडि भने, ‘दोस्रो पुस्ताको प्रयासले नै एकता आवश्यक छ, एकताबाहेक एमालेको भविष्य छैन भन्ने कुरामा समग्र कार्यकर्ता पङ्क्तिलाई जागरूक बनाएको छ ।’

यद्यपि यसको परिणाम आउन केही समय लाग्न सक्ने विष्टले बताए । 

नेताको दाबी कति सत्य ?

दोस्रो पुस्ताका नेताहरूको भनाइ पनि केही हदसम्म सत्य नजिक देखिन्छ । किनभने, पहिलो पुस्ताका नेताहरूमा बोलचाल बन्द भएको अवस्थामा उनीहरूकै पहलले संवाद र भेटवार्ता हुने गरेका पनि उदाहरण छन् । त्यति मात्रै होइन, अध्यक्ष ओली र नेपालबीचको चरम इगोको अवस्था, एकले अर्कोको अस्तित्व स्वीकार्ने अवस्था आउँदासमेत दोस्रो पुस्ताका नेताहरूकै पहलमा राजनीतिक संवाद गर्न बाध्य पारिएका घटना पनि एमालेभित्र देखिएका छन् । यसका लागि दोस्रो पुस्ताका केही नेताहरूले अपमान सहेरै भए पनि उनीहरूले आफूमाथिका टिप्पणीलाई वास्ता नगरी निरन्तर एकताका लागि संवादको प्रयासलाई जारी राखेको नेताहरू बताउँछन् ।

एक नेताका अनुसार यस्तो प्रयासबाटै एकता चाहिँदैन भन्नेहरू पनि एकताको पक्षमा उभिन पुगेको र सोही कारण पहिलेको तुलनामा अहिले एमाले विभाजनको आवाज उठाउनेहरूको सङ्ख्या झिनो बन्दै गएको छ ।

कार्यदल ब्युँताउन ओली सकारात्मक

एमाले अध्यक्ष केपी ओली असन्तुष्ट माधवकुमार नेपाल पक्षको मागअनुसार १० सदस्यीय कार्यदल सक्रिय बनाएर समस्या समाधान गर्ने विषयमा फेरि सकारात्मक देखिएका छन् । त्यसका लागि अध्यक्ष ओलीले आइतबार राति यसअघि माधव नेपाल पक्षका कार्यदल संयोजक समेत रहेका उपाध्यक्ष भीम रावलसँग छलफल गरेका छन् ।

रावलसँगको छलफलमा ओली कार्यदलमार्फत समस्या समाधान गर्न सकारात्मक रहेको बताइएको छ । ओलीनिकट रहेका नेता नेम्वाङले पनि कार्यदलमार्फत विवाद समाधान गर्न ओली सकारात्मक रहेको आफूले पाएको बताए ।

नेम्वाङले रातोपाटीसँग भने, ‘हिजो बेलुका अध्यक्ष तथा प्रधानमन्त्रीसँग भीम रावलको कुराकानी अनि आज मेरो र भीम रावल कमरेडबीच पनि कुरा भयो । उहाँसँग टेलिफोनमा सल्लाह नै गरेर म बालुवाटार पुगेर आएँ । प्रधानमन्त्री पनि उत्साहित भएको पाएँ ।’

प्रधानमन्त्री ओलीले आफूसँगको भेटमा चाँडो टुङ्गोमा पुर्‍याउन सुझाव दिएको सुनाउँदै नेम्वाङले रातोपाटीसँग भने,  ‘प्रधानमन्त्रीले तपाईँहरूले चाँडो टुङ्गोमा पुराउनुस् भन्नुभयो ।’

आइतबार साँझ प्रधानमन्त्री ओलीसँगको कुराकानीपछि रावलले सोमबार नेता नेपाललाई ओलीसँग भएको भेटवार्ताबारे जानकारी गराएका छन् ।

माधव पक्षले पनि कार्यदलमार्फत विवादको समाधान खोज्नुपर्ने बताउँदै आएको थियो । ‘विवाद समाधानका लागि बनाएको कार्यदलमार्फत असहमतिका मुद्दाहरूमा छलफल गरेर समाधान खोज्नुपर्छ भन्ने हाम्रो भनाइ हो’, नेपाल पक्षका नेता गोकर्ण विष्ट भन्छन्, ‘यदि कार्यदलमार्फत संवाद सुरु भयो भने समाधानको सम्भावना नजिकिन्छ ।’

अवसरको समानुपातिक वितरण अभाव

एमालेमा धेरै चर्चा हुने गरेको विषय हो, विधि, विधान र पद्धति । तर, नेताहरूले विधि विधानको विषयलाई आफू अनुकूल व्याख्या गर्दै आएका छन् । नेताहरुबीच व्यवहारमा अवसरको समानुपातिक वितरण अभाव रहेको प्रस्टै छ । ओली वा माधव गुटमा नलागी कुनै पनि अवसर पाइँदैन भन्ने चिन्ता धेरै नेताहरूमा हुने गरेको छ ।

एमालेको विगतको महाधिवेशनलाई हेर्दा पनि अहिले केन्द्रीय समितिमा रहेका प्राय सबै नेताहरू गुटबाटै अघि बढेको प्रस्टै छ । एमालेका एक स्थायी समिति सदस्य भन्छन्,  ‘अवसरलाई समानुपातिक वितरण, अर्थात् विधिमा हालेर वितरण नगर्दा अहिले यस्तो परिणाम देखिएको हो । अवसरलाई समानुपातिक वितरण, अर्थात् विधिमा हालेर वितरण नगर्दाको परिणाम हो यो ।’

उनी प्रश्न गर्छन् ‘टिकट पाउन, मन्त्री बन्न मात्रै होइन, निर्वाचन क्षेत्रको विकासका लागि रकम छुट्टयाउन पनि नेताको फेर समात्नुपर्ने अवस्था छ । अनि ओली वा माधवतिर नलागी कसरी राजनीति गर्नु ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप