बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा दैनिक एक लाख संक्रमित हुनसक्ने

मङ्गलबार, २२ असार २०७८, २३ : ००
मङ्गलबार, २२ असार २०७८

बेलायतमा दैनिक एक लाखसम्म कोरोना संक्रमित हुनसक्ने स्वास्थ्यमन्त्री साजिद जाविदले बताएका छन् । लामो समयदेखि इंग्ल्याण्डमा  जारी लकडाउन खुल्न दुई साता भन्दा कम समय बाँकी रहँदा उक्त भनाइ आएको हो । जुलाई १९ बाट कोरोनाका कारण जारी सम्पूर्ण प्रतिबन्धहरु हट्ने तयारी भइरहेको छ ।

पछिल्ला दिनहरुमा बेलायतमा कोरोना संक्रमित संख्या तीव्र रुपमा बढ्दै गएको छ । सोमबार मात्र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले दुई साता भित्र दैनिक पचास हजार संक्रमित पुग्ने बताएका थिए । आउँदो जुलाई १९ मा इंग्ल्याण्डमा जारी लकडाउन पूर्ण रुपमा हटाउने सम्बन्धमा प्रधानमन्त्रीको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।

पछिल्लो २४ घन्टामा झन्डै २९ हजार नयाँ संक्रमित थपिएका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा २८ हजार ७७३ नयाँ संक्रमित थपिएका हुन् । यो संख्या जनवरीयताकै उच्च हो ।

यससंगै बेलायतमा कुल संक्रमितको संख्या ४९ लाख ५८ हजार ८६८ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण ३७ जनाको मृत्यु भएको छ । बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या एक लाख २८ हजार २६८ पुगेको छ ।

 ७ करोड ९३ लाख बढी खोप वितरण

बेलायतमा ७ करोड ९३ लाख भन्दा बढी डोज खोप वितरण भएको छ । जुलाई ६ सम्मको तथ्यांक अनुसार यहाँ ६४.३ प्रतिशत वयस्कहरुले खोपको दुवै डोज लगाइसकेका छन् भने ८६ दशमलव २ प्रतिशतले पहिलो डोज लगाएका छन् ।

पछिल्लो तथ्यांक अनुसार बेलायतमा ७ करोड ९३ लाख २ हजार ८५७ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ५४ लाख २८ हजार ६८१ जनाले पहिलो र तीन करोड ३८ लाख ७४ हजार १७६ जनाले दोस्रो डोज लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप