शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

'राष्ट्रपतिले आफ्नै भाइलाई प्रधानमन्त्री घोषणा गर्ने परिस्थिति आउन लाग्यो'

बुधबार, २३ असार २०७८, २३ : २५
बुधबार, २३ असार २०७८

राष्ट्रिय सभाका सदस्य रामनारायण विडारीले राष्ट्रपतिले संविधान पालना नगरेका कारण राजनीतिक सङ्कट उत्पन्न भएको बताएका छन् । बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद विडारीले राष्ट्रपतिले संविधान उल्लङ्घन गर्दै जे पनि गर्ने अवस्था आएको उल्लेख गरेका छन् । 

उनले भारतमा ७० वर्षसम्म राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेको विषयमा कहिल्यै विवाद नभएको बताउँदै नेपालको संविधानको धारा ७६ को उपधारा १ देखि ५ सम्म स्पष्ट रूपमा लेखे पनि राष्ट्रपतिले त्यसलाई पालना नगरेको बताए । 

लोकतान्त्रिक देशहरू भारत क्यानडा, अस्ट्रेलियामा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको र त्यहाँ कहिल्यै विवाद नभएको उनको भनाई छ । 

उनले राष्ट्रपतिलाई कटाक्ष गर्दै भने–‘यदि नेपालको संविधानमा पनि राष्ट्रपतिले प्रधानमन्त्रीलाई नियुक्त गर्ने छ लेखेको भए, आहा म त मेरै भाइलाई नियुक्त गर्छु, संविधानले  त राष्ट्रपतिलाई पूरा अधिकार दिएको छ । भाइलाई गर्न पाइँदैन, अरूलाई गर्न पाउँदैन भनेर लेख्या छैन । त्यस कारण म त गर्छु भन्ने खालका परिस्थिति देशमा आयो । यो बढो विडम्बनाको परिस्थिति हो ।’

उनले नेपालमा संविधान बनाउने बेलामा भारतले ठुलो दबाब दिएको बताउँदै  संविधान नबनाऊ भनेर दूत पठाएको बताए । उनले संविधान बनेपछि त्यही बेलामा संविधान खत्तम गर्ने योजना त्यही बेलामा बनेको उल्लेख गर्दै सांसद विडारीले संविधान बनाउने बेलामा धारा ७६ को बारेमा बोलेका कुराको रेकर्ड गायब पारिएको उल्लेख गरे । 

उनले दोस्रो संविधानसभामा भएको छलफलको रेकर्ड नै गायब पारिएको उल्लेख गरे । उनले प्रतिनिधि सभाले प्रधानमन्त्री चुन्न पाउनुपर्नेमा प्रतिनिधि सभाको अधिकार समेत आफूले खोसेर लिनु बेइमानी भएको सांसद विडारीले बताए । 

उनले एउटै प्रधानमन्त्रीले दुई दुई पटक संसद् विघटन गर्नु घोर महाअपराध भएको उल्लेख गरे । उनले भने–‘यस्तो अक्षम्य अपराध संसारका कुनै पनि तानासाहले गर्दैन । प्रतिनिधि सभा जनताको सभा हो । चुनाव त संविधानले भने अनुसार हुन्छ । प्रधानमन्त्रीले भने अनुसार हुने हो र ? हाम्रो संविधानमा त्यो लेखेको छ र ? संविधानले जे लेख्छ चुनाव त्यही बेलामा हुन्छ ।’ उनले प्रधानमन्त्री र राष्ट्रपतिले राजनीतिक बेइमानी गरेको उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप